बागलुङ, १९ असार – गत वर्षको साउन १० गते भुजीखोलामा आएको बाढीले अपुरणिय क्षति पु¥याएको पीडा बिर्सी नसकेका स्थानीयवासीलाई शनिबार परेका अविरल बर्षा सँगैको बाढी र पहिरोले बोबाङ र अधिकारीचौरका विभिन्न स्थानहरुमा क्षति पु¥याएको छ । भुजीखोलामा आएको बाढीले पुल, जलविद्युतको कुलोको मुहान, खोला किनारका खेत बगाएको छभने पहिरोले सडक अवरुद्ध बनेको छ । बाढीले बोबाङ–१ उपल्लो दोगादीमा रहेको २४ किलोवाट भूजीखोला तेस्रो लघुजलविद्युत परियोजनाको कुलोको मुहान समेत बगाएको छ । विद्युतको कुलो नै बगाएपछि गाडीलुङ, नुले, ढाँरबोट र उपल्लो दोगाडीका करिब १७५ घरधुरी अँध्यारोमा बस्नुपरेको बालविकास प्रावि उपल्लो दोगादीका शिक्षक अमर बुढामगरले बताए । जलविद्यत बन्द हँुदा अहिले त्यहाँका स्थानीयहरु सञ्चारबाट बिच्छेद भएका छन् । वि.सं. २०६४ सालमा धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) को सहयोग र स्थानीय जनश्रमदानबाट निर्माण गरिएको विद्युतको मुहान गतबर्षको बाढीले समेत क्षति पु¥याएको थियो । क्षति भएको कुलोको मुहान करिब ३ लाखको लागतमा केही समय अघिमात्र पुर्ननिर्माण गरिएको थियो । गत बर्षको भन्दा पनि बढी क्षति पुगेकोले छिट्टै बिजुली बल्ने संकेत नभएको शिक्षक अमर बुढामगरको भनाई छ । त्यस्तै बाढीले ढोरपाटन नगरपालिका–७ साविक बोबाङ—१, को ढाँरबोटमा रहेको झोलुङ्गे पुल बगाएको छ । झोलुङगे पुल बगाउँदा उपल्लो दोगाडी र ढाँरबोटका गरी करिब ५० घरधुरी प्रभावित भएका छन् । उक्त पुललाई गत बर्षको बाढीले पनि आंशिक क्षति पु¥याएको थियो । स्थानीयले जनश्रमदानबाट सामान्य मर्मत गरी उक्त पुललाई कोल्टिएकै अवस्थामा भएपनि प्रयोग गरिरहेका थिए । त्यसैगरी बाढीको कारण साल्झण्डी—ढोरपाटन लोकमार्ग अन्तरगत यसैवर्ष स्तरोन्नती गरिएको बुर्तिबाङ—बोबाङ सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । उक्त सडकखण्डमा अहिले पनि बाटो विस्तार गर्ने र ग्याविन राख्ने काम भैरहेको छ । ठाउँ–ठाउँमा पहिरो खस्ने र तलबाट भत्किने क्रमले गर्दा पैदलयात्रुहरु समेत जोखिमपूर्ण तरिकाले यात्रा गर्नुपरेको साल्झण्डी—ढोरपाटन लोकमार्गका साइट इन्चार्ज विजय भण्डारीले बताए । उता, बाढीले ढोरपाटन नगरपालिका—५, सहिखोलामा रहेको शिवालय माविको भवन पनि उच्च जोखिममा रहेको छ । गत बर्षको बाढीले विद्यालयको छात्र शौचालय पूर्ण रुपमा र छात्रा शौचालय आंशिक रुपमा क्षति गरेको थियो । बाढीले यो बर्षपनि क्षति गर्ने सम्भावना बढेपछि विद्यालयले भवनको पछाडि भएर बग्ने खोलाको किनारामा ग्याविन बाँध्नुका साथै डोजर लगाएर तटबन्ध समेत गरेको थियो । तर कम बजेटको कारण सबै तटबन्ध गर्न नसकेको कारण विद्यालयको भवन अत्यन्तै जोखिममा रहेको विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र छन्त्यालले बताए । उता, बाढीको कारण ढाँरबोटका ७ घरधुरी उच्च जोखिममा रहेका स्थानीयहरुले बताएका छन् । बाढीले खोला किनारमा रहेका खेतीयोग्य जमिन बगाएको छ । गत बर्षको बाढीले कटान गरेको खेतमा तटबन्धको व्यवस्था नहँुदा यो बर्ष थप क्षति हुन सक्ने स्थानीयहरु बताउँछन् । त्यसैगरी बाढीले पुलहरुको विकल्पको रुपमा बनाइएका काठे पुलसमेत बगाएको छ । जसले गर्दा स्थानीयहरु नदी वारपार गर्न लामो दुरीको यात्रा तय गरी गत बर्षको बाढीले आंशिक क्षति पु¥याएका अन्य पुलहरुको प्रयोग गर्न बाध्य बनेका छन् । अहिले गत बर्षको बाढीले बगाएका सहिखोलाघाट पुल र दोगादी घाटका पुलहरु यहि असार मसान्तभित्र सक्ने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । भूजीखोलामा आएको गत बर्षको बाढीले क्षति गर्दा अधिकारीचौरको खानीखोलामा आएको बाढीले क्षति गरेको थियो ।
Previous Article१९ असार २०७४, ढोरपाटन दैनिक
Next Article विपतका घटना आईपरे उद्धारमा जुट्न एमालेको निर्देशन