समय छदै बेवास्ता गर्ने अनि असार लाग्दै गर्दा पुर्वाधार निर्माणका काम गर्दा कमसल हुने चर्चा हरेक वर्ष चलेपनि त्यस्तो प्रवृत्ति हट्न सकेको छैन । असारमा महिना भनेको वर्षा याम हो । असारमा अत्याधिक वर्षा हुँदा विकासका संरचना कमजोर हुने भएपनि त्यसलाई रोक्न सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । सरकारी निकायकै चरम बेवास्ताका कारण असारमा विकास निर्माणका काम गर्ने प्रवृत्ति रोक्न सकिएको छैन । असरमा गरिने असारे विकास केवल बालुवामा पानी खन्याउने जस्तै भएको छ । राज्यको ढुकुटीबाट खर्च हुने बजेटलाई असारमा पानीमा बगाउने परम्पराले पुर्वाधार निर्माण कमजोर भएका थुप्रै उदाहरण छन् । समय छँदा खर्च हुन नसकेका विनियोजित विकासे बजेट सक्ने काम यसपटक पनि दु्रत गतिमा अघि बढेको छ ।
बजेट फ्रिज हुने वा फिर्ता गर्नेभन्दा जथाभावी खर्च गर्ने प्रवृत्ति वर्षेनि दोहोरिने गरेको छ । वर्षामा सडक पिच गर्नेदेखि ढल खन्नेसम्मका कामहरु भएका दृश्यहरु प्रशस्त मात्रामा देखिन्छ । सरकार यसलाई नियन्त्रण गर्न असफल हुँदा नेपाली जनताको करबाट जम्मा भएको बजेट पानीसंगै बगाउने काम भएको छ । वर्षामा निर्माण गरिने संरचना गुणस्तरहिन हुन्छन् । वर्षको आठ महिनासम्म विकास बजेट खर्च गर्ने मामलामा मौनता साध्ने र वर्षको अन्त्यमा हतारको विकास गर्ने शैली नियन्त्रण नहुनु दुर्भाग्य हो । वर्षा लाग्ने क्रमसँगै बजेट खर्चिने शैली अन्त्य नभएसम्म गुणस्तरीय विकासको कल्पना गर्नु हावामा महल बनाउनु सरह हो । अहिले स्थानिय निकायमा जनप्रतिनिधि भएको अवस्थामा पनि असारे विकासलाई रोक्न नसक्नु अझै बिडम्बनापूर्ण कुरा हो । हिजो जनप्रतिनिधिहरुको अभाव देखाउने प्रवृत्तिको अन्त्य गरी जनताबाट चुनिएका प्रतिनिधिहरुले आगामी दिन हुने असारे विकासलाई रोक्न सक्नु पर्छ ।
स्थानिय तहको चुनावपछि अब बजेट सिधै स्थानिय तहमा आउने भएको हुँदा जनप्रतिनिधिहरुले समयमै बजेटलाई सदुपयोग गर्नुपर्छ । असारमा हुने विकासले बजेट सक्ने मात्रै काम हुनेछ । विकास निर्माणका काम गुणस्तरिय हुन सक्दैन । आफ्नो गाउँ ठाउँको विकासलाई प्रभावकारी बनाउनको लागि भएपनि असारे विकासेलाई स्थानिय निकायका प्रतिनिधिहरुले प्रभावकारी भूमिका खेल्नु पर्छ । यसरी बजेट सिध्याउनेहरूविरुद्ध कारबाही गर्ने या सजाय दिने पद्धति स्थापित हुन नसक्दा यो प्रवृत्ति हाबी हुँदै गएको छ । विकासे योजनाको ठेक्काका निम्ति सामग्री खरिद समयमै नहुने परिपाटीमा उल्लेख्य सुधार गर्न सक्ने होभने पनि असारे विकासलाई निरुत्साहित गर्न सकिन्छ । राजनीतिक दलमा हुने भागबन्डाको कुसंस्कारका कारण पनि विकास निर्माणका कामले गति लिन सकेका छैन । अर्काेतर्फ सरकारी निकायबीच सहकार्य र समन्वय हुन नसक्दा समयमै बजेट खर्च हुन नसक्नुको कारण हो । सबैभन्दा पहिले सरकारले असारमा खर्च गर्ने शैली नियन्त्रण गर्न सक्नु पर्छ ।
Previous Article२०७४ असार १४ गते बुधबारको राशिफल
Next Article धान रोपाई हुने खेतमा आलु र मकै