लक्ष्मी लम्साल
बेइजिङ, १२ असार
जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ। त्यसैले चिनियाँहरू सायदै धार्मिक होलान्। पश्चिमा जस्तै चिनियाँहरू टिस्यू पेपरमै निर्भर हुन्छन्। राति नुहाउने चलन छ तर मन्दिर घुम्ने त दिउँसै हो। अनि जलस्नान नगरी मन्दिर पस्दा पाप हुन्छ कि धर्म? त्यति मात्रै कहाँ हो र ?
हाम्रोमा गरीबगुरूवा, असक्त, बेसहाराले घुम्ने र शरण लिने स्थलको रूपमा मन्दिर बनिएको हुन्छ, तर यहाँ पर्यटन व्यवसायका लागि। एउटा भिखारीले टिकट काटी काटी मन्दिरको दर्शन गर्न कसरी सक्छ? त्यसो भए धनवान र मनवानहरूका लागि मन्दिरको पहुँच हुने हो ?
६० आरएमबी तिरेर सर्वसाधारण हनान प्रान्तको लोङमन चट्टानगुफा दर्शनका लागि खचाखच लामबद्ध भइरहेका बेला बेइजिङबाट गएका विदेशी पत्रकारहरूलाई मेजमानीको सुविधा थियो। २०-२२ जनाको हाम्रो टोलीलाई एकठ्ठा गर्दै एक स्थानीय पथप्रदर्शक सुन्दरी माइकद्वारा प्रसारित भइन् (‘लोयाङको यस चट्टान गुफामा बुद्ध भेट्न आउनुभएका विदेशी पत्रकार पाहुनालाई स्वागत छ।’
हामीलाई घुमाउने जिम्मा लिएकी हनान प्रान्तीय सिआरआई अनलाइन हनानकी एक कर्मचारी जसलाई पत्रकारहरूले उचाइका कारण ‘अग्ली सुन्दरी’को नाम दिएका थिए, झण्डा लिएर अङ्ग्रेजीमा भट्याउँदै गरेकी गाइडसँग पदचाप मिलाउँदै थिइन्।
‘सबैभन्दा पहिला परिचय दिन्छु’ (सबैभन्दा अगाडि उभिएर नेत्रीको शैलीमा व्यवसायिक गाइड मुस्कुराई, ‘लोयाङ सहरको पश्चिमपट्टि अवस्थित लोङमन ग्रोट्टोस् ऊ त्यो (चोर औंलाले इशारा गर्दै) स्याङ र लोङमन पहाडको बीचमा छ र यसको मोहडा यो ‘यी’ नदीतर्फ छ। उत्तरी वै राजवंश ९३८६-५३४० अवधिको ४९३ मा सम्राट स्याउ वनले लोयाङलाइ राजधानी बनाएयता झण्डै ४०० वर्षसम्म यसको निर्माण कार्य चल्दै उत्तरी सुङ राजवंश ९९६०-११२७० सम्म यसको निर्माण भइरहेको थियो।
उत्तरदेखि दक्षिणसम्म करीब एक हजार मिटरको दृश्यावलीमा २३ सय वटा दुला र खोपीहरू, २८ सय दस्ता वा हाता, १३ सय गुफा र १ लाख मूर्तिहरू छन्। वै राजवंशमा बनिएका र थाङ राजवंश (६१८-९०७) मा यसको मर्मत सम्भार गरिएको कुराहरू यहाँका पर्चाहरूमा पनि देख्न सक्नुहुन्छ।’गाइडले माइकबाट बोलेको कुरा पर परसम्म एयरफोन लगाएकाहरूका कानमा सुनिएकै थियो। गाइडलाई ४,५ मिनेट पनि नपछ्याउँदै धेरै पत्रकारहरू आ-आफ्नो धुनमा सेल्फी वा तस्वीरहरू कैद गर्न बरालिइसकेका थिए।
हेर्दै अद्भूत संरचना, लोङमन चट्टाने गुफा अथवा लोङमन ग्रोट्टोस्। दुवैतिर पहाडको बीचमा मनोरम नदी, गैरभिक्षुहरूको मन त नदी हेर्दै रसाउने। पश्चिमपट्टी अग्लो पहाडी काखमा रहेको यस चट्टाने शिल्पीलाई चीनको युनकाङ गुफा र मोकाओ गुफामध्येको एक प्रसिद्ध पत्थर शिलालेख भनिँदो रहेछ।नदीका दुवै किनारमा यात्रुका लागि पदमार्ग, किनारै किनार पर पुलसम्म पुगेर पारीबाट फर्किने बाटो छ, दाहिने पट्टिको पहाडीतिर टाउको मर्कायो भने बुद्ध नै बुद्धका अनेकानेक मूर्तिहरू अनि गनी नसकिने प्वालैप्वाल। हुलमुलमा हिड्दै गर्दा लोयाङको स्थानीयवासी तौ रूइले भने, ‘यो बुद्ध स्पर्श गरेर बगेको पानी, हातले छुनुस्, तन मन पवित्र हुन्छ।’ अल्लि अगाडि गएपछि पद्मासनमा बसेर बुद्धको नक्कल गरेर फोटो खिच्नेको ताँती, सिँढी चढ्दै, ओर्लिँदै, दिनभरि लाग्नसक्छ यो क्रम चलिरह्यो भने।
चट्टान नै चट्टानको भिरमाथि अनेकन बुद्धका मूर्तिहरू कुँदिएका छन् जसबाट मान्छेहरूले अध्ययन र शान्तिको खोजी गर्ने हो भने पुरै दिन बिताउन सक्छ। लामो क्षेत्रफलको पहाड र नदीको किनारैकिनार हिँडेपछि पहाडी काखमा बुद्धका विशाल मूर्तिहरू तलतिर आँखा गेडी ढल्काएर आफैंलाई चियाइरहेझैं आभाष हुन्छ। मूर्तिलाई नै नियाल्ने हो भने भर्याङ र खुट्किलाहरू पछ्याएपनि हुन्छ। हाम्री गाइड आधा उँधी पत्रकार डोर्याएर माथि उक्लिसकेकी थिइन्।
‘फङसियान मन्दिर,यो चाहिं थाङ राजवंशकालमा बनाइएको सबैभन्दा ठूलो मन्दिर ११८ फिट चौडा र १३६ फिट लम्बाईको छ। त्यहाँ मुख्य ९ वटा फरक फरक मुद्रा र मिजासका अनुहार आकृति छन् जुन बुद्धका विभिन्न पन्थ र उनीहरूका सम्बन्धका आधारमा कलाकारहरूले निर्माण गरेका हुन्,’ जतिसुकै बोलेपनि नथाकेझैं देखिने ती गाइडको ध्यान विदेशीलाई जतिसक्दो इतिहासको भारी बोकाउनै उद्यत।
‘यो चाहिं सबैभन्दा प्रभावशाली वैरोचन बुद्धले पलेटी मारेर कमलको फूलमाथि आसीन मूर्ति देख्नुभयोरु यो ८ वर्गाकारमा छ। १७ दशमलव १४ मिटरको कूल उचाइ छ भने टाउको मात्रै ४ मिटर लामो र कान १ दशमलव ९ मिटर लामा छन्, यी यहाँ लेखेको नोटिस गर्नुभयो कि !’
वैरोचनको अर्थ सबै सबै कुरामा प्रकाश छर्ने भन्ने हो। बुद्धसँग सुगठित शरीर, पवित्र तथा करूण वाणी र शिष्ट मुस्कान थियो। सुक्तिअनुसार साम्राज्ञी वु च थ्यानले वैरोचन दीप्ति ग्रहण गरेकी थिइन्। वैरोचनको छेउमा कश्यप र आनन्द भिक्षुको मूर्ति पनि छ।
लोङमनमा वान फो गुफा, कुयाङ गुफा, कमल गुफा र पिनयाङ गुफा पनि छन्। ती गुफाका भित्ताहरूमा १४० वटा मार्गदर्शक सूत्रहरू पनि कुँदिएका छन्। जसमा प्राचीन चिनियाँ वैद्यशास्त्रका विषय समावेश छन्। ती मध्ये छ वटा अझै पनि चीनमा प्रचलित छन्।
बरालिँदै छेउ छेउमा आइपुगेको बंगलादेशी पत्रकार ताहिद मोहम्मद शरदले भने, ‘हनानमा शाओलिन मन्दिर र सेतो घोडा मन्दिर घुमेपछि चीनप्रति इर्ष्या जागेर आयो। किन चीनले जुन पर्यटकीयस्थल पनि उस्तै भव्य, शानदार र असामान्य बनाउनुपर्नेरु व्यवस्थापन र व्यवसायिकतामा कति दिलोज्यान देकोरु जहाँ पुगेपनि देख्नुपर्ने, बुझ्नुपर्ने र थाहा पाउनुपर्ने अनगिन्ती कुराहरू थोपरेकै हुने!’
यो सम्पदालाई सन् २००० को नोभेम्बरमा विश्व सम्पदा सूचीमा पारिएको हो। युनेस्कोले विश्वका कतिपय सम्पदाहरू संकटमा परेको चेतावनी दिन्छ, कति हेर्दाहेर्दै ध्वस्त भैरहेका हुन्छन्। चीनले एकपछि अर्को गर्दै सम्पदास्थलहरू थप्दै गएको छ। संरक्षणका खातिर गरेको परिश्रम र खर्चिएको लगानी हेर्दा जो कोहीले जिब्रो नटोकीरहन सक्दैन। एकीकृत रूपमा सम्पदास्थलको निर्माण गर्दै, भएभरका हरेक सम्पदालाई मूल्यवान बनाएर चीनले सम्पदास्थलमाथिको लगानीबाट शायदै घाटा व्यहोरेको हुनुपर्छ।
प्रचूर ऐतिहासिक सामग्रीहरू कला, संगीत, धर्म, लिपी, औषधी, पोशाक र वास्तुकला चिनियाँ सम्पदास्थलमा प्रायः देख्न र महसुस गर्न सकिने कुराहरू हुन्। यिनै सम्पदास्थलबाट चीनले कहिल्यै नसुक्ने निरन्तर पर्यटकीय आम्दानीको बाटो पहिल्याएको छ।
स्थानीय तथा बाह्य पर्यटकको घुँइचो त छँदै थियो, विद्यार्थीहरू र अन्य संस्थाबाट आएका झुण्ड झुण्ड पनि देखिन थाले। बोल्दै बोल्दै अघि लागेकी गाइडले ५,६ जना विदेशी पत्रकारहरू वरिपरि बटुलेर एउटा आदेश सुनाई। कानमा भिरेको माइक्रोफोनमा सन्देश गुञ्जिए बमोजिम विदेशी पत्रकारहरू पुलनजीक झ्याम्मिँदै गए। पुल पारीपट्टी हामीलाई फर्काउनका लागि साना साना पर्यटकीय गाडीहरू पर्खिरहेका थिए। ती गाडीहरू चढेर पत्रकारहरूले अघि आएकै गाडीमा आआफ्ना सिट कब्जा गरे। तुरून्तै लोङमन ग्रोट्टोसका कर्मचारीहरू लहरै उभिएको देखिए, उनीहरूले हार्दिकतापूर्वक हात हल्लाए।
Previous Article१२ असार २०७४, ढोरपाटन दैनिक
Next Article अब सार्वजनिक सवारीमा एनटीसीको ‘फ्रि वाईफाई’