राष्ट्रिय राजमार्ग भनेको नेपालको पूर्वको यात्री पश्चिम र उत्तरको यात्री दक्षिण जाने सहज र छोटो मार्ग भन्ने हो । सैद्धान्तिक रुपमा पनि राजमार्गको परिभाषाले फराकिलो सडक र सहज यात्रा गर्न सकिने बाटो भन्नेनै हो । तर नेपालका राष्ट्रिय राजमार्गहरु यात्रीहरुको अनिश्चित यात्रा, जोखिमपूर्ण यात्रा र दुर्घटनाको मुख्य स्थान मात्र भएका छन् । नारायणगढ मुग्लीङ सडक खण्ड यसको सबैभन्दा राम्रो उदाहरण हो । नेपालका सबै भन्दा धेरै सवारी गुड्ने सडक कुनै छ भने यही सडक हो । तर यो सडकलाई मर्मत गर्ने नाउँमा हिउँदभरी ढीलाई र वेवास्ता गर्ने अनि बर्षात लागेपछि निर्माण गर्न खोजे जस्तो देखाएर हजारौं यात्रीलाई सास्ती दिने काम भएको छ । यो सडकमा एक बर्षयता लापरवाहीका साथ हुने दुर्घटना बाहेक सडक भत्केर, पुरिएर जस्ता घटनामै २० बढीको मृत्यु भएको छ । सुरक्षाका लागि आएको प्रहरी टोलीनै पहिरोको शिकार भयो । अझै एक प्रहरी बेपत्ता छन् । अति संवेदनशिल अवस्थामा रहेको यो सडकलाई अझै पनि राज्यले जोखिम छ भन्न सकेको छैन । दैनिक १५ घण्टा सम्म जाममा पर्ने समस्या एकातिर छ भने जतिवेला पनि दुर्घटना हुन सक्ने, मानिसको ज्यानै जान सक्ने भएपछि वैकल्पिक मार्ग तोकेर निर्माणको काम मात्र गराउन सरकारको ध्यान जानु आवस्यक छ ।
अहिले त नेपालीको ज्यान गएको कारण दुर्घटना सम्झेर चुप लागेका छन् । तर यही सडकमा विदेशी नागरिक दुर्घटनामा परेको खण्डमा नेपालको सडकको बेहाल र जोखिम बारे राजदुताबास मार्फत अन्तराष्ट्रिय करण गर्ने संभावना रहन्छ । राजनीतिक र सशष्त्र द्वन्द्वका कारण जोखिम भएकोले भ्रमण नगर्न आदेश दिने युरोप र अमेरिकाका देशहरुले राजमार्गलाई पनि खतराको सूचिमा राखेर पर्यटक रोक्न सक्ने खतरा पनि बढेको छ । यतिठूला दुर्घटना भैरहेको समयमा पनि सवारी आवागमन रोकेर मर्मतको काम गर्न अहिले सम्म कुनै निर्देशन दिएको जानकारी नआउनुले राज्य संवेदनशिल नभएको प्रष्ट हुन्छ । मुग्लीङ मात्र पनि यस्तो जोखिमको मार्ग होइन्, नेपालका प्रमुख राजमार्गहरुको अवस्था यस्तै छ । चाहे पृथ्वी राजमार्गमा यात्रा गर्दा होस् वा मध्य पहाडी लोकमार्गमा पनि ठूला पहिरो खसिरहेको छ, बाटो घण्टौं अवरोध छ भन्ने थाहा हुँदा हुँदै पनि सयौं सवारी साधन छुटीरहेका हुन्छन् । उता सडक खुलाउने काममा राज्यको ध्यान कम जान्छ । दशैंअघि खसेको पहिरोले अहिले पनि पृथ्वी राजमार्गको आँबुखैरेनीमा उत्तिकै दुःख दिएको छ ।
राजधानी छिर्ने सडकमा ३, ४ घण्टा जाम नपरे यात्रीले काठमाण्डौ गए जस्तो अनुभव नगर्ने अवस्था आइसक्यो । राजधानी छिरेपछि थानकोट देखि कलंकी पुग्न पनि घण्टौं लाग्ने अवस्था उत्तिकै छ । अझै बर्षातको समय आउन बाँकी नै छ । त्यतिबेला हाम्रा राजमार्गको अवस्था के हुने हो ? यतिधेरै खतरा र दुर्घटना अगाडि देखिरहेर पनि हाम्रो भौतिक योजना, सडक, सुरक्षा जस्ता निकायहरुले मुख समेत खोलेको सुन्न पाईदैन । कम्तिमा यो सडक खण्ड खतरा भएकोले केही दिनका लागि मात्र भएपनि आवागमन रोक्ने र विकल्पमा यो खण्डको यात्रा गर्नु भन्ने सार्वजनिक सूचना निकालेको जानकारी कसैलाई छैन । जसका कारण लाखौं नेपालीले दुःख पाएका छन् । तोकिएको समय लिएर हिडेकाहरु काम नहुने, समय सकिने जस्ता समस्या भोगेर पिडित भएका छन् । यो बर्षातमा नेपालीले कम्तिमा सडकको समस्याको कारण कुनै दुर्घटना, झमेला र सास्ती खेप्ने अवस्था नआओस् ।