बागलुङ, ९ असार – प्रसिद्व कालिका भगवती मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले बागलुङ नगरपालिकासंग सहकार्य गरेर अगाडि बढ्न बागलुङमा सरोकारवाला बीच सहमति भएको छ ।
कालिका भगवती मन्दिर ब्यबस्थापन समिति बागलुङको आयोजनामा भएको बैठकमा जिल्ला समन्वय समिति, बागलुङ नगरपालिका, जिल्ला बन कार्यालय, ढोरपाटन शिकार आरक्ष कार्यालयका सरोकारवालाले कालिका मन्दिरको जंगललाई थप आकर्षित गर्न विभिन्न प्रजातिका पंन्छी अध्ययन अबलोकन गरि राख्ने बाताबरण बनाउने सहमति भएको कालिका भगवती मन्दिर ब्यबस्था समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।
बैठकमा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, ढोरपाटन सिकार आरक्षका प्रमुख अणनाथ बराल, जिल्ला बन कार्यालयका रामबहादुर बिक सहभागी थिए । बैठकमा उनीहरुले बन्यजन्तु पार्कलाई ब्यबस्थापन गर्न चुनौति रहेको बताएका थिए । पार्कलाई योजनावद्व रूपमा लैजान कालिका भगवती गुठीको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।
समितिको सदस्यमा ढोरपाटन शिकार आरक्ष र जिल्ला बन कार्यालयका प्रतिनिधि रहेको समितिका प्रचारप्रसार समितिका सदस्य राजेशचन्द्र राजभण्डारीले जानकारी दिए ।