गुल्मी, ९ असार – गुल्मीको रुरु गाउँपालिकामा ‘हजुरबुवा’ र ‘नाति’ पुस्ताका दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । हजुरबुवा र नातिको जस्तै उमेरकाे अन्तर भएका उनीहरु रुरु गाउँपालिका अध्यक्षको रुपमा प्रतिस्पर्धामा छन् । हजुरबुवा पुस्ताबाट एमालेका पुराना नेता निलकण्ठ गौतम रुरु गाउँपालिकाको अध्यक्षमा उठेका छन् । नाति पुस्ताका यदु ज्ञवाली माओवादी केन्द्र र कांग्रेसको गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका छन् ।
तुलनात्मक रुपमा एमाले बलियो मानिने रुरु गाउँपालिकामा कांग्रेसले माओवादीलाई अध्यक्ष पद छोडेको छ । एमाले नेता प्रदीप ज्ञवालीको गाउँघरको क्षेत्र भएको कारण यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । गौतम र ज्ञवालीको प्रतिस्पर्धा कडा हुने अनुमान मतदाताहरुको छ ।
‘यदु मेरो नाति जस्तै हो, तर हामी एउटै पदमा चुनावी प्रतिस्पर्धामा छौं,’ एमाले उम्मेदवार गौतमले भने, ‘उसले चुनाव जितेपनि मैले गाउँको सम्बृद्धिका लागि उसलाई सफा मनले सघाउँछु ।’ यही बोली माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका ज्ञवालीको पनि छ । उनले आफूले निर्वाचन जितेमा रुरुलाई गुल्मीमै नमूना बनाउने बताउँछन् । चुनाव हारेमा पनि गौतमलाई सघाउने उनको अठोट छ ।
रुरु गाउँपालिकामा अरु साना दलका तर्फबाट अध्यक्षका उम्मेदवारहरु भएपनि मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेस–माओवादी गठबन्धबीच हुने देखिएको छ ।
सौहार्दपूर्ण वातावरणमा चुनावी मैदानमा उत्रिएका भएपनि गौतम र ज्ञवालीले विचारको घोचपेच चाहिँ गरिहरन्छन् । गौतमले एमाले सरकारले देशभरका बृद्धबृद्धाहरुलाई भत्ताको थालनी गरेको बताउँछन् । जेष्ठ नागरिकहरुलाई एमालेले भत्ताबाट सम्मान गरेको गौतमले बताए ।
ज्ञवालीले गौतमको प्रतिवाद गर्ने गरेका छन् । कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको योजना अनुसार तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारी बृद्धभत्ता कार्यक्रम शुरु गरेको ज्ञवालीले बताउँछन् । ‘बृद्धभत्ताको कुरा कुनै चुनावी एजेण्डानै हैन, एमालेले नै दिएको भएपनि राज्य कोषबाट दिएको हो । कसैको घरबाट दिइएको होइन् ।’ ज्ञवालीले भने ।
चुनावी प्रचारको क्रममा बृद्धभत्ताको सवाल धेरै ठाउँमा उठ्छ । तर ज्ञवालीले रुरु गाउँपालिकाका युवाहरुलाई रोजगारी प्रदान गर्ने आफ्नो मुख्य लक्ष्य भएको बताउँछन् । ‘यहाँ युवालाई कम्तिमा पनि मासिक २० हजार आर्जन हुने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘विदेशीने युवाको संख्या घटाउन पनि काम गर्छु ।’
गौतमले चाहिँ रुरु गाउँपालिकाभित्र खानेपानीको समस्या भएकोले खानेपानी र सिँचाईको लागि आफूले व्यवस्था गर्ने बताउँदै आएका छन् । खानेपानी, बेरोजगारी, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गर्ने उम्मेदवारहरुको अठोट छ ।
रुरुमा एमालेले आफ्नो पुरानो बर्चस्व कायम राख्ने सोच राखेको छ भने कांग्रेस माओवादीले एमालेको किल्ला तोड्ने कोशिश गरिरहेका छन् । लक्ष्मीदेवी पन्थलाई एमालेले उपाध्यक्षको टिकट दिएको छ । गठबन्धनबाट चाहिँ कांग्रेसका देविन्द्र मल्ल उपाध्यक्षमा उठेका छन् ।
‘हाम्रो जनमत बलियो छ, महिला भएको कारणले पनि उपाध्यक्षमा सजिलै जित्छु जस्तो लाग्छ,’ पन्थ भन्छिन्, ‘संबैधानिक रुपमै अध्यक्ष वा उपाध्यक्षमा महिलाको व्यवस्था भएकोले चुनाव जित्छु होला ।’ पन्थले आयआर्जनका क्षेत्रमा काम गर्ने आफ्नो उदेश्य भएको बताइन् । गठबन्धनबाट उठेका मल्लले पनि आफूले निर्वाचन जित्ने दाबी गरे । –