सेन्ट पिट्सबर्ग – विश्व फुटबलको नियम बनाउने निकायले खेलको समय ९० मिनेटबाट घटाएर ६० मिनेटमा झार्ने विषयमा बहस सुरु गर्ने योजना ल्याएको छ।
नयाँ व्यवस्थामा ३०/३० मिनेटका दुई हाफ गरिनेछन्। यसो भए फुटबल इतिहासमा यो सबभन्दा ठूलो नियम परिवर्तन हुनेछ। फिफाअन्तर्गत रहेको फुटबल नियम बनाउने निकाय अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आइएफएबी) ले पनि यो ठूलो परिवर्तन हुने भएकाले व्यापक बहसपछि मात्र अगाडि बढ्ने योजना बनाएको बताइएको छ। पाँचवर्षे रणनीतिक योजनाको प्रस्तावमा तीन लक्ष्य राखिएका छन्। जसमा खेलप्रति थप सम्मान जगाउने, समय बचत गर्ने र खेलको आकर्षण बढाउने उल्लेख छन्।
‘नियमले कसरी खेललाई अझ राम्रो र आकर्षक बनाउन सक्छ भन्ने विषयमा बहस सुरु गर्नु हाम्रो प्रस्तावको मुख्य उद्देश्य हो,’ आइएफएबीले प्ले फेयर नाम दिएको प्रस्तावबारे भनेको छ।
फिफाका प्रतिनिधि र बेलायतका चार फुटबल संघको उपस्थिति रहने आइएफएबीले फुटबलसम्बन्धी सबै नियम परिमार्जन तथा नयाँ नियम ल्याउने काम गर्छ। प्रत्येक वर्ष आइएएफबीले नै फुटबलको नियम परिमार्जन गरिरहेको हुन्छ।
हाल विद्यमान नियमअनुसार समर्थकले एउटा फुटबल खेलका लागि ९० मिनेट नियमित समय, इन्जुरी समय तथा अतिरिक्त समयसम्म पनि समय दिनुपर्ने भएकाले यसलाई घटाउन खोजेको आइएएफबीले जनाएको छ। आइएएफबीको नयाँ प्रस्तावअनुसार ६० मिनेट भएपछि बल डेड हुनेबित्तिकै खेल सकिनेछ। त्यहाँ रेफ्रीले इन्जुरी समय पनि थप्ने छैनन्।
फिफाका अनुसार अन्तरमहादेशीय कपअन्तर्गत शनिबार रूसले न्युजिल्यान्डमाथि २-० को विजय हासिल गरेको खेलमा ४७ मिनेट मात्र साँचो खेल भएको थियो। एउटा खेल सकिन दुई घन्टाभन्दा बढी समय लागे पनि साँचो खेल मैदानमा धेरै नहुने भएकाले ६० मिनेटपछि घडी बन्द गर्नुपर्ने नयाँ नियमबारे छलफल गर्नुपर्नेमा आइएएफबीले जोड दिएको छ।