राजेशचन्द्र रा.भ.
अहिले धेरै बर्षपछि नेपालले अर्थतन्त्रमा ठूलो फड्को मारेको खबरले नेपालका संचारमाध्यममा प्रमुख खबर बन्यो । यो सारा नेपाली जनताको लागि पनि खुशीको खबर हो । अहिले आर्थिक रूपमा लगभग ८ प्रतिशत फड्को मार्न सफल बिश्व मै नेपाल तेस्रो सुचीमा पर्न सफल हुनुलाई कम आँक्नु हुँदैन । यो कुनै आकाशे हल्ला पनि हैन, यो बिश्व बैंक आफैले प्रकाशित गरेको वास्तविक तथ्यांक हो ।
नेपालमा राजनीतिक परिवर्तन धेरै भए तर आर्थिक परिवर्तन भने हुन सकेको थिएन । अहिले एकाएक आर्थिक रूपमा देश मजबुत हुनुलाई सकारात्मक रूपमा लिन जरुरी छ । अहिले हाम्रो नेपालको पत्रकारिता राजनीतिभन्दा अझै माथि जान सकेको छैन । हुनतः अहिले केही बर्ष यता राजधानीबाट आर्थिक खबरलाई नै केन्द्रित गरि पत्रिका प्रकाशित हुने क्रम बढेर गएपनि विकास र अर्थतन्त्र भन्दा पनि अहिले पनि राजनीति खबर वरिपरि हाम्रो मिडिया घुमिरहेको कुरामा भने कुनै शंका छैन ।
अहिले हामी २१ औं शताब्दीमा लम्की रहेका छौ तर हाम्रो सोच बिचार उहीँ पुरानो नै छ । हामीले अहिले पनि नेताको भाषण, मन्त्रीको भजनभन्दा बढी कुरा केही छाप्ने काम गरेका छैनौ । साँच्चै अहिले पनि हामीले कर्मकाण्डे पत्रकारिता मै चित्त बुझाई रहेका छौ । अहिले पनि गाउँ तहदेखि केन्द्रबाट प्रकाशित तथा प्रशारित अखबार, एफएम, टेलिभिजन, अनलाइन सबैमा राजनीति बिषय नै लगभग ७० प्रतिशत हुन्छ भन्दा फरक पर्दैन । सदरमुकाममा हुने कार्यक्रम नेता सांसद र मन्त्रीको भाषण कै रिपोर्टिङ गर्ने हामी पत्रकारको दैनिकी बन्दै गएको छ । विकास सम्बन्धि खबर आएपनि थोरै आउने त्यो पनि भित्री पेजमा छापिने गरेको तथ्य सबै सामु स्पष्ट छ । अहिले हुने गोष्ठी सेमिनार लगायतका कार्यक्रममा सकारात्मक सोच भएका मान्छेले विकासका कुरा गरेपनि त्यो फगत गफ नै हुने गरेको छ । विकास भनेको के हो ? विकास र अर्थतन्त्रको सम्बन्ध कस्तो हुनुपर्छ ? अहिले कसरी हामीले यसलाई बाहिर ल्याउने गरेका छौ । के हामीले लेखेका खबर सबै सहि छन् त ? आमपाठकले चाहेर पनि नचाहेर पनि हामीले दिने सामाग्री पढ्न बाध्य छन् । हामीले अहिलेसम्म त्यही पुरानो परम्परा कै वरिपरि रहेर पत्रकारिता गरिरहेका छौ ।
अहिले सूचना र संचारले फड्को मारिसकेको कुरा हामी प्रत्येक फोरममा गर्दछौं । तर हामी झन्भन्दा झन् अल्छी बन्दै गैरहेका छौ । हामीले लेख्ने खबरले समाजलाई केही फाइदा भएको देखिदैन । जुनसुकै मिडियामा हेर्ने हो भने सबै एकै खालको खबर मात्रै भेटिन्छ । हामीले विकास पत्रकारिताको कुरा धेरै गरेपनि हामी मिडियामा खबर लेख्ने संचारकर्मी स्वयंले त्यसको छेउ टुप्पो भेट्न सकेका छैनौ भन्दा पनि हुन्छ । हामीले अहिले धार्मिक पर्यटनको कुरा नेपालमा उठेका छन् । हामीले लेख्ने बिषय धेरैभन्दा धेरै छन् । साँच्चै विकासलाई कसरी जनताले बुझ्ने भाषामा खबर बनाउने, अहिलेसम्म के कसरी बनाइरहेका छौ । साँच्चै अहिले बनाएको खबरले समाजमा के कति प्रभाव परेको छ अहिले हामीले दिने बिकासे खबर पनि कर्मकाण्डे भन्दा फरक नभएको आर्थिक पत्रकारिता तालिममा जिल्ला समन्वय समितिका सुचना अधिकृत अखिलनाथ शर्माले खुलासा गरे ।
अहिले मोफसलका पत्रकारले खाली सीमित दायरामा रहेर मात्रै विकासे खबर लेख्ने गरेको, खास गहिराईमा पुग्न नसकेको कारण पनि भएको सत्यतथ्य खबर बाहिर नआएको हुँदा गहिराईसम्म पुगेर खबर लेख्न अनुरोध गर्नुभएको थियो । अहिलेसम्म हामीले साँच्चै कसैले के भन्छ त्यसैलाई आधार मानेर मात्र खबर ल्याउने अनि त्यसैलाई खबर बनाउने गरेका छौ । अहिले जिल्ला समन्वय समिति, बागलुङ नगरपालिका कार्यालय, सांसद बिकास कोषबाट भए गरेका विकास साँच्चै सत्य र बास्तविक छन् कि छैनन् ? त्यो सबै कुरा बाहिर ल्याउन जरुरी छ । तर हामीले त्यो भन्दा बाहिर गएर काम गरिरहेका छौ । अहिले बागलुङ जिल्लाकै विकासलाई हेर्ने होभने पनि धेरै कागजात एउटा फिल्ममा अर्को भने अबश्य छन् । हामीले गर्ने विकास पनि कागजी भएपनि हामी त्यसको गहिराईसम्म भने पुग्न नसकेको कारणले पनि नक्कली कामधन्दा अहिले संस्थागत हुदै गएको छ । जिल्लादेखि केन्द्र सम्मका पत्रकारहरू समेत दबाब र प्रभावमा परेको कारण केही रकमको बिज्ञापन कै कारणले पनि आउनु पर्ने खबर नआउने प्रायोजित खबर भने आईरहेको छ ।
अब भने हामीले गर्ने काम शैली, अब हामीले गर्ने पत्रकारितामा भने फरकपन ल्याउन जरुरी छ । अब हामीले विकासको मुद्दालाई खबर बनाउन जिल्लामा सरोकारवाला सबैको दायित्व हो । यसलाई एउटा अभियान कै रूपमा लैजान जरुरी छ । ढोरपाटन शिकार आरक्ष, घुम्टे, गाजाको दह, सर्बशिद्वीधाम पन्चकोट, कालिका भगवती मन्दिर, भकुण्डे लगायतका पर्यटन क्षेत्रको विकास कसरी गर्न सकिन्छ । यसलाई के गर्दा साँच्चै विकास हुन्छ भन्ने विषयमा पत्रकारिता गर्नुपर्छ ।
आर्थिक भनेको के हो ? यसलाई पनि सबैले बुझ्न जरुरी छ । आर्थिक विकास, सामाजिक विकास कसरी हुन सक्छन् भन्ने कुरालाई हामीले आधारसहित खबर बनाउन जरुरी छ । अहिले हामीले समाधान सहितको पत्रकारिता गर्नुपर्ने कुरा पनि अहिले उठिरहेको छ । समाधान सहितका विकासवादी पत्रकारिता गर्ने अब हाम्रो अभियान जरुरी छ । सधैभरि भजन, चाकडी चाप्लुसी गर्ने पत्रकारिताको धारलाई तत्काल बदल्न जरुरी छ ।