प्रताप बानियाँ
म्याग्दी, ३ असार – प्रचण्ड गर्मी । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने । वर्षाको समय । एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी । घाम लाग्दा पोल्छ, पानी पर्दा चुहिन्छ र हावाहुरी चल्दा त्रिपाल च्यातिने र उडाउने डर । बाँस र काठको भरमा त्रिपालको छेउछाउका टुप्पामा डोरी बाँधेर बनाइएको छानो कति बेला भत्कने हो थाहा छैन । यस्तै समस्या भोग्दै त्रिपालमुनि बसेर पढ्न बाध्य छन्, पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा सञ्चालित बुद्धि विकास माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी । यसरी पढ्न लागेको पनि झण्डै १० महिना बितिसक्यो अझै भवन निर्माणले कहिले पूर्णता पाएर कक्षाकोठाभित्र ढुक्कसँग पढ्न पाउने हो भन्ने थाहा छैन । जाडोमा अत्यधिक चिसो र गर्मीमा चर्को घामको सामना गरेर उनीहरुले एउटा वार्षिक परीक्षा सिध्याएर अर्को सुरु गरिसकेका छन् । विद्यालयमा नयाँ भवन निर्माणको क्रममा रहेको र बाँकी कोठामा निर्माण सामाग्री राखेपछि विद्यार्थीलाई पढ्ने कोठा अभाव हुन गएको हो । विद्यालयको भवन र कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेको हुँदा उनीहरु त्रिपालको साहारा लिएर अध्ययन गर्दै आइरहेका छन् । गएको असोज महिनादेखि विद्यालयमा भवन निर्माणकार्य सुरु गरेपछि ३, ४, ५, ७ र ८ कक्षाका विद्यार्थीहरुलाई कक्षाकोठाको अभाव भएको छ । उनीहरुलाई कक्षाकोठाको विकल्पका रुपमा विद्यालयको खेलमैदानको आसपासमा बाँस र काठको खाँबा गाडेर त्रिपाल टाँगी पढ्ने व्यवस्था मिलाइएको छ । तर, त्रिपालमुनि बसेर पढ्ने क्रममा पानी पर्दा चुहिने, घाम लाग्दा गर्मी हुने र हावाहुरी चल्दा त्रिपाल च्यातिने तथा बज्ने हुँदा पढाइमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । भवनको अभावमा पालमुनि बसेर अध्ययन गर्नुपर्ने बाध्यताको छिटो समाधान गर्नुपर्ने कक्षा ८ मा अध्ययनरत विद्यार्थी दिपक विकको भनाई छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको साढे १३ लाख रुपैयाँको लागतमा २ कोठे भवन र ब्रिटिस गोर्खा वेलफेयर स्किमको १ करोड १० लाख रुपैयाँको लागतमा ६ कोठे भूकम्प प्रतिरोधी भवन निर्माणकार्य भैरहेको छ । ती दुवै भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ । भवन निर्माणले पूर्णता पाउनेबित्तिकै विद्यार्थीलाई कक्षाकोठामै सारेर पढाइने विद्यालयका प्रधानाध्यापक जगबहादुर किसानले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा पर्याप्त भवन र कक्षाकोठाको अभाव थियो । भवन बनाउन थालेपछि निर्माण सामाग्री सुरक्षित गर्नुपर्ने भएको हुँदा बाँकी रहेका कक्षामा ती सामाग्री राख्दा समेत विद्यार्थीले पढ्ने कोठा नपाएका हुन् । विद्यालयमा नयाँ भवन बनेपछि विद्यार्थीलाई सोही भवनको कक्षाकोठामा पढाइने उनको भनाई छ । विद्यालयमा ३ सय ७५ जना विद्यार्थीहरु अध्ययनरत छन् । उनीहरुलाई पढ्ने कक्षाकोठा मात्रै होइन व्यवस्थित खेलमैदानको पनि अभाव छ । यस्तै विद्यालयमा दरबन्दीअनुसार शिक्षक नहुँदा समस्या भएको विद्यालयले जनाएको छ । विद्यालयमा घेराबार, पुस्तकालय, विज्ञान प्रयोगशाला र इन्टरनेटको अभाव रहेको प्रअ किसानले जानकारी दिए । विद्यालयमा रहेको सोलार र केही कम्प्युटर समेत जिर्ण अवस्थामा रहेको हुँदा थप समस्या झेल्नुपरेको उनले बताए । विद्यालयमा दरबन्दीका ८, निजी ४ र कर्मचारी २ जना कार्यरत छन् । म्याग्दी जिल्लाको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका विद्यालयहरुमा शिक्षक दरबन्दीको अभाव, भवन तथा कक्षाकोठा अपुग, पुस्तकालय, इन्टरनेट र विज्ञान प्रयोगशाला नहुनु, व्यवस्थित खेलमैदान एवं विद्यालय घेराबारलगायतका समस्याहरु रहेका छन् ।
Previous Article३ असार २०७४, ढोरपाटन दैनिक
Next Article जङ्गबहादुर पछ्याउँदै हाम्रो शिक्षा