बागलुङ, २ असार – आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउन सकिने भएपनि परिवार नियोजनका साधनहरु प्रयाग गर्ने दर बागलुङमा निकै कम भएको एक अध्ययनले देखाएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र काठमाण्डौं र जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु बिषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक जानकारी गराइएको हो । परिवार नियोजनका साधनहरुमध्ये कण्डम प्रयोग कर्ता ३६ प्रतिशत, पिल्स २२ र डिपो प्रयोग गर्ने ३१ प्रतिशत रहेको बताइएको हो । महिला स्वास्थ्य स्वयंसेविका, गाउँघर क्लिनक, स्वास्थ्य चौकी र अस्पताल समेतमा पाईने सर्वसुलभ सेवा समेत नलिएको कारण धेरैलाई अनिच्छुक गर्भ रहेको भेटिएको परिवार नियोजन अधिकृत दिपक सुवेदीले बताए । बागलुङमा ४५ वटा वर्थिङ सेन्टर रहेको र गर्भ अवस्थामा कम्तिमा ४ पटक स्वास्थ्य परिक्षण गरेर स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएमा १ हजार ४ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने व्यवस्था भएर पनि अझै जाने क्रम विकास हुन नसकेको उनले जानकारी गराएका थिए । एक तथ्यांक अनुसार अहिले पनि बढीमा ५७ प्रतिशत सुत्केरी मात्र अस्पतालमा हुने गरेको हो । पहिलो पटक ८४ जनाले गर्भ परिक्षण गराएपनि दोश्रो तेस्रोपटक परिक्षण गर्ने क्रम नगन्य भएको पाइएको हो । अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुने पनि ५० प्रतिशत मात्र रहेको पाईएको हो । देशमा अझै तुलनात्मक रुपमा घट्न नसकेको शिशु, बाल र मातृ मृत्युदर उच्च रहनुमा पनि स्वास्थ्य संस्था प्रयोगमा ल्याउन नसक्नु भएको बताइयो । विशेष गरी संचार माध्यम, पत्रकार र सरोकारवालाले यो दर घटाउने अभियानमा कलम चलाउने, सचेतना अभियान संचालन गर्ने जस्ता काम गर्न पनि आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार दिलीप पौडेलले स्वास्थ्य पत्रकारिता सम्बन्धी समाचार लेखन र समाचारका बिषय बस्तु कसरी बनाउने भन्ने बिषयमा प्रस्तुतीकरण गरेका थिए । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षता, जनस्वास्थ्य कार्यालयका क्षयकुण्ट सुपरभाईजर देवप्रकाश घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleकतार, यूएई र लिबिया कनेक्सन
Next Article माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिक