बागलुङ, १ असार-रक्तदान जिवन दान भन्ने मुल नाराका साथ बागलुङमा पनि बुधबार विश्व रक्तदाता दिवस मनाइएको छ । कालिका भगवती युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको संयोजनमा दिवस मनाइएको हो । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन यो दिवस मनाउन थालिएको हो । सोही अवसरमा कालिका भगवति युवा क्लवको तर्फबाट २० जना युवाले रक्तदान गरेका छन भने रक्तसञ्चार कार्यालय बागलुङमा १६ पटक सम्म रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मनिष रायमाझी, सुजन श्रेष्ठ, प्रकाश आचार्य, आशिक भण्डारी र धर्मराज शर्मा रहनुभएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका उपसभापति राजेन्द्र आचार्यले जानकारी दिए । कार्यक्रममा धौलागिरी अञ्चल अस्पतालका प्रमुख डाक्टर सुपरीटेन्डण्ट सागरराज भण्डारीले दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिने गरिएको बताए । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानी नोक्सान नहुने डाक्टर राजभण्डारीले बताए । त्यस्तै कार्यक्रममा एडभोकेसी धौलागिरीका संयोजक अधिवत्ता राम शर्माले मन्तव्य गरेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जव्वर बहादुर लामिछानेको अध्यक्षता, उपसभापति राजेन्द्र आचार्यको स्वागत र मन्त्रि नारायण शर्मा पौडेलको संचालनमा सम्पन्न भएको थियो । रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्ने भएकाले एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ भनिएको बक्ताहरुले बताएका थिए । मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ भने कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ।
सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने गर्दछ ।
Previous Articleबुर्तिवाङ बजारमा खानेपानीको समस्या
Next Article गुणकारी अमलाका सात फाइदाहरु