सुदिप भण्डारी
बुटवल, १ असार – बुटवल उपमहानगरको लागि पार्टीको तर्फबाट उमेदवारी घोषणा कार्यक्रममा बोल्दै नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले भनेका थिए ‘केही ठाउँ यस्ता हुन्छन् पार्टीले त्यहाँ हार्दा अरु ५ ठाउँ जिते पनि त्यो इज्जत, त्यो शान फर्किदैन । पार्टीले त्यहाँ जित्दा अरु ५ ठाउँ हा¥यौं भने पनि पार्टीको इज्जत मर्दैन। यो बुटवल कुनै हालतमा जित्नै पर्ने ठाउँ हो।’
घनश्याम भुसालको यो भनाइबाट के बुझ्न सकिन्छ भने एमालेले बुटवललाई आफ्नो प्रतिष्ठा ठानेको छ, जसरी पनि जित्नै चाहन्छ । २ वटा संविधान सभाको चुनावमा लगातार विजयी भएको र २०५४ को स्थानीय चुनावमा समेत विजयी भएको बुटवलमा यस पटक पनि त्यो दबदबा कायम राख्न एमालेले आफ्नो शक्ति खर्चेको छ।
एमालेलाई यस्तो चुनौती :
तर आफ्नो पकड क्षेत्र ठानेको बुटवलमा कांग्रेस–माओवादीले गठबन्धन गरेपछि एमालेलाई ठूलो चुनौती थपिएको छ । बुटवलमा एमालेबाट पार्टीका जिल्ला अध्यक्ष शिव सुवेदी मेयरको उमेदवार बनेका छन् । गोमा आचार्य उपमेयरकी उमेदवार छिन् । कांग्रेसले उपमेयर माओवादी केन्द्रलाई दिएर गठबन्धन गरेको छ । कांग्रेसको तर्फबाट पार्टीका २ कार्यकालसम्म नगर सभापति बनेका खेलराज पाण्डे मेयरका उमेदवार छन् । माओवादी केन्द्रका जगत पोखरेल गठबन्धनको उपमेयरका उमेद्वार हुन्। कांग्रेस माओवादी गठबन्धनपछि अब बुटवलमा कसको पल्ला भारी होला भन्ने चर्चा, विश्लेषण र जोडघटाउ हुन थालेको छ।
गत संविधानसभाको चुनावमा एमालेका विष्णु पौडेलले बुटवलसहितको रुपन्देही क्षेत्र नम्बर ४ मा १९ हजार ५ सय ७७ मत प्राप्त गरी बिजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका सूर्यप्रसाद प्रधानले १३ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए । गोरखासँगै बुटवलमा आएर चुनाव लडेका तत्कालीन एकीकृत माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई कांग्रेस र एमाले दुबैले पछि पारेका थिए । भट्राईको ११ हजार ९ सय ३४ मत आएको थियो।
अघिल्लो चुनावमा कांग्रेस र माओवादी दुबैले प्राप्त गरेको मत जोड्दा २५ हजार ५ सय ६६ मत हुन आउँछ । यो एमालेले एक्लैले पाएको मत भन्दा ५ हजार ९ सय ८९ मत बढी हो । गत संविधानसभाको चुनावको नतिजाका आधारमा मात्र बुटवलमा कांग्रेस–माओवादी गठबन्धन वा एमालेमध्ये कसको जित—हार हुन्छ भनेर अनुमान लगाउन गाह्रो छ । रुपन्देहीको क्षेत्र नम्बर ४ मा तत्कालीन बुटवल नगरपालिकासहित साविक मोतीपुर र पर्रोहा गाविस पर्दछ । २०७२ साल बैशाखमा बुटवल नगरबाट उपमहानगरमा स्तरोन्नति हुँदा मोतीपुर त बुटवलसँग समेटियो। तर पर्रोहा अर्को साविक गाविससँग मिलेर नगरपालिका बन्यो । तर बुटवलमा क्षेत्र नम्बर ३ मा रहेको साविक सेमलार गाविस पनि समाहित भयो।
कांग्रेस–माओवादी गठबन्धनपछि एमालेलाई ठूलो चुनौती थपिएको कांग्रेस निकट विश्लेषकको बुझाइ छ । डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्व केन्द्रीय सदस्य बाबुराम पाण्डेले अघिल्लो चुनावको नतिजा हेर्दा संरचना परिवर्तन हुँदा कांग्रेसको जित सहज देखिएको बताउँछन्। ‘गत चुनावमा पर्रोहाबाट एमालेलाई भोट धेरै आएको हो, त्यो बुटवलसँग छैन, बुटवलसँग मिसिएको सेमलारमा कांग्रेस बलियो छ’ उनले भने।
कार्यकर्ता र मतदाता बढेको एमाले दावी
एमाले निकट बुद्धिजीवीले भने गत चुनावको आधारमा अनुमान लगाउन नमिल्ने बताउँछन् । एमाले निकट बुद्धिजिवी परिषदका पूर्व केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला निर्वाचन कमिटिका अध्यक्ष डा. ईश्वर गौतमले बुटवल क्षेत्रमा एमालेका कार्यकर्ता बढिरहेको दाबी गरे। ‘०६४ को तुलनामा ०७० को चुनावमा एमालेले मत र मतान्तर दुबै बढाएको छ, त्यो क्रम अहिले पनि छ’ उनले भने। उनले गठबन्धन आफैमा परिपक्व नहुने टिप्पणी गरे। तर कांग्रेस निकट अधिवक्ता पाण्डेले भने, ‘कतिपय ठाउँमा गठबन्धन अप्रिय भएपनि बुटवलमा त्यस्तो हुने छैन।’
एमालेले बुटवलमा आफूलाई बलियो दाबी गर्नुको अर्को कारण के पनि हो भने उसको तल्लो तहसम्म संगठन छ । डा.गौतम भन्छन् ‘वडामा मात्र होइन टोल र इकाई इकाईमा पनि एमालेले आफ्नो संगठन बनाएको छ।’ तर कांग्रेसले भने आफ्ना कार्यकर्ता धेरै ठाउँमा संगठित नभएपनि अरुले आफ्नो मत तान्न नसक्ने दाबी गरिरहेको छ।
विगतका संसदीय चुनावकै कुरा गर्ने हो भने बुटवलसहितको क्षेत्रमा २०४८ र ०५६ मा नेपाली कांग्रेसले जितेको थियो । २०५१ सालमा एमालेले जितेको हो । त्यस्तै २०४९ को स्थानिय चुनावमा नेपाली कांग्रेस बिजयी भएको थियो । २०५४ को चुनावमा एमालेले जित हात पारेको थियो।
यता पार्टीको जिल्ला सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भएका एमाले उमेदवार शिव सुवेदीलाई पनि कम आँक्न नसकिने एमालेका कार्यकर्ता बताउँछन्। सविधान संसोधन विरुद्धमा उभिएको एमालेले अखण्ड पाँच नम्बर प्रदेशलाई पनि चुनावी मुद्धा बनाएर मत मागेको छ । बुटवलमा सुकुम्बासी समस्या चुनावी मुद्दा बनेको छ । सुकुम्बासी क्षेत्रको मत धेरैजसो आफ्नो पक्षमा रहेको दाबी एमालेले गरेको छ।
हाम्रा उम्मेदवार बलियाः कांग्रेस
गत संविधानसभा चुनावभन्दा अहिलेको बुटवलको मेयरमा अब्बल उमेदवार रहेको कांग्रेस पक्षको दाबी छ । सांसदका उमेदवार बनेका सूर्यप्रसाद प्रधान त्यतिबेला बृद्ध पनि भइसकेको (अहिले निधन भइसकेको छ) जति हिडडुल गर्नुपर्ने हो त्यति गर्न नसकेको र अहिलेका मेयरका उमेदवार खेलराज पाण्डे युवा र जुझारु रहेको कांग्रेस पक्षको बुझाइ छ। ‘विद्यार्थी तथा तरुण दल दुबैमा खारिएर आएको र दुई कार्यकाल नगर सभापति भएकाले धेरै जनासँग उहाँको पहुँच छ’ अधिवक्ता पाण्डे भन्छन् ‘७ वर्ष नगरपालिकाको दलीय संयन्त्रमा रहँदा बुटवलका प्रत्येक घर मात्र नभई सडक, रुख र ढुंगा समेत खेलराजले चिनेका छन्।’
यस पटकको स्थानीय चुनावमा कांग्रेस उमेदवार पनि सुकुम्बासी क्षेत्रतर्फ आफ्नो ध्यानकेन्द्रित गरेका छन् । त्यो मुद्दालाई प्राथमिकतामा राखेका छन् । पूर्व पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल बुटवल आर्थिक विकासमा पनि अघि बढिरहेको छ। पछिल्लो जनगणनाअनुसार १ लाख ३८ हजार ७ सय ४२ जनसंख्या रहेको बुटवलमा ६६ हजार ६ सय ६३ मतदाता रहेका छन्।
Previous Articleअव छोराछोरीको १० प्रतिशत तलब बुबाआमालाई
Next Article बोबाङमा न्यायमा पहुँचबारे तालिम शुरु