बागलुङ, ३१ जेठ – राजनीतिक आस्थाको आधारमा लामो समयदेखि थुनामा रहेका बन्दीको रिहाई नगरिएको घटनादेखि मानव बेचबिखन शुरु भएकोमा मानवअधिकार उलंघनका गम्भिर घटना भैरहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक बागलुङले आयोजना गरेको मानवअधिकार बर्ष पुस्तक २०१८ को अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले राज्य र गैर राज्य तहबाट भएका मानवअधिकार उलंघनका घटना प्रति समयमै सचेत हुनुपर्ने पनि बताइयो । सहभागिले पिडितको कानूनी उपचारका लागि सबैको साझा पहल आवस्यक पर्ने पनि धारणा राखेका थिए । सन् २०१७ को पहिलो ६ महिनामा भएका घटना मध्ये स्थानीय तह निर्वाचनको तयारी भैरहको बेला गत बैशाख २५ गते ढोरपाटन नगरपालिका–१ बाट पक्राउ परेका दुई युवालाई अहिलेसम्म प्रहरीले नछाडेको बिषयलाई अधिकार उलंघनको बिषय बनाइएको छ । भीमगिठेका ४४ बर्षिय नरबहादुर क्षेत्री र सोही स्थानकै ४१ बर्षिय हरिबहादुर कुँवरलाई प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको निहुँमा पक्राउ गरेपनि सार्वजनिक अपराध मुद्दा लगाएको समेत सहभागिले बताए । शान्तिपूर्ण निर्वाचन सकिएको १७ दिनपछि रिहा भएका उनीहरुलाई धरौटीमा छाडिएको हो । त्यस्तै बानपा ११ की २० बर्षिय युवतीलाई जैदी २ का गणेश आचार्यले पोखरा घुम्न जाउँ भनेर भारतको सिमाना सुनौलीमा बेच्ने प्रयास गर्दा थाहा पाएर उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । पिडित महिलाको सामाजिक सुरक्षाका लागि सबैले चासो राख्नुपर्ने पनि सहभागिले बताए । आचार्य मानव बेचविखन तथा ओसार पसारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । अन्य विभिन्न घटनामा भने महिलाहरु हिंसा पिडित भएको घटनाहरु सार्वजनिक गरिएको छ । जिल्ला प्रहरीमा परेका उजुरीको आधारमा बर्ष पुस्तकका लागि तयार गरिएको सामाग्रीमा छलफल भएको थियो । कार्यक्रममा सहायक प्रजिअ धु्रव गिरीले मानवअधिकार देखिने मात्र नभएर व्यवहार र आचरणमा पनि भर पर्ने बताए । उनले पिडितलाई उचित क्षतिपूर्ति र राहतको वातावरण बनाएर पिडक पक्षलाई कानूनी कठघरामा उभ्याउन सक्ने गरी अधिकारकर्मीले काम गर्नुपर्नेमा पनि उनले जोड दिए । नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षता, पत्रकार कोपिला कंडेलको संचालन र ईन्सेक प्रतिनिधि सिर्जना पन्तको स्वागत तथा प्रस्तुतीकरणमा भएको कार्यक्रममा बागलुङ उच्च अदालत बार ईकाईका अध्यक्ष केशव पराजुली, पूर्व अध्यक्ष राम शर्मा, राष्ट्रिय जनमोर्चाका सचिव धर्म कुँवर, माओवादीका केन्द्रीय सदस्य ज्ञामनाथ गैह्रे, मालेकी कार्यालय सचिव मञ्जु क्षेत्री, देवबहादुर श्रेष्ठ लगायतले प्रस्तुतीकराण्मा छलफल र सुझाव दिएका थिए । प्रतिवेदनमा राजनीतिक अधिकार हनन्को १, अपहरण तथा मानवबेचविखनमा १, महिला अधिकार हनन्का ३८ घटना भएको उल्लेख छ । संविधान कार्यानवयनको बर्ष भएकोले राजनीतिक रुपमा आउन सक्ने चुनौतीको क्रममा समेत मानवअधिकार हनन्का घटना बढ्ने संभावना उनीहरुले औल्याए । निर्वाचनको क्रममा माईकिङ गरेर धेरै गीत बजाउने लगायतका घटना बारेमा पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्ता गतिविधिले आम जनताको अधिकार हनन् भएका थिए ।