काठमाडौं, २९ जेठ – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न नेताहरुले दौडधूप तिब्र बनाएका छन्।देउवाले मन्त्रिमण्डल विस्तार कहिले गर्ने भन्ने टुङ्गो नलागे पनि गठबन्धनका दल कांग्रेस र माओवादी केन्द्रभित्र मन्त्री बन्न नेताहरुले लबिङ गरिरहेका हुन्। जेठ २३ गत मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले पहिलो चरणमा ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए।
पहिलो चरणको मन्त्रिमण्डल विस्तार गर्दा मन्त्रीको सूचीमा नपरेका नेताहरु मन्त्रीको दौडमा छन्। मन्त्रालयको बाँडफाँडका विषयमा माओवादी र कांग्रेसबीच छलफल चलिरहेको भएपनि अझै टुंगो लागिसकेको छैन। मन्त्रालय बाँडफाँडको विषय टुंग्याउन कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादीका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य रहेको कार्यदलले काम गरिरहेको छ।
तर, कांग्रेस र माओवादीले कुन कुन मन्त्रालय लाने भन्ने विषयमा सहमति जुटिसकेको छैन। कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयमा दाबी गरिरहेको छ भने माओवादीले दुवै मन्त्रालाय छोड्न तयार देखिएको छैन। सरकारलाई समर्थन गरेका राप्रपा लगायतका कति दल सरकारमा आउने र उनीहरु आउँदा कांग्रेस र माओवादीले कति मन्त्रालय पाउने भन्ने विषय टुंगो लागेको छैन।कांग्रेसबाट मन्त्री बन्न को को छन् दौडधूपमा ?
देउवाले अब मन्त्रिमण्डल विस्तार गर्दा कांग्रेसबाट मन्त्री बन्न नेताहरु भीष्मराज आङदम्बे, मीन विश्वकर्मा, चन्द्र भण्डारी, भरत शाह, महेन्द्र यादव, बीरबहादुर बलायर र डा. डिना उपाध्यायले लविङ गरिरहेका छन्। बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सरकारमा पठाउने मन्त्रीहरुको भने लगभग टुंगो लागिसकेको छ। पौडेल समूहले चार मन्त्रालय पाए महेश आचार्य, बलबहादुर केसी, रामकृष्ण यादव र किरण यादव वा सरिता प्रसाईँमध्ये एकजनालाई पठाउने पक्का भएको छ। नेता कृष्णप्रसाद सिटौला समूहले भीमसेन दास प्रधान र नेता खुमबहादुर खड्काले मोहन बस्नेतको नाम देउवालाई दिइसकेका छन्।
माओवादी केन्द्रमा को–को छन् आकांक्षी ?
नेकपा माओवादी केन्द्रभित्र मन्त्री बन्न धेरैले आकंक्षा देखाएका छन्। यसअघि पहिलो पटक मन्त्रिपरिषद् विस्तार हुँदा कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्र मन्त्री र जनार्दन शर्मा गृहमन्त्री बनिसकेका छन्। दोस्रो पटक मन्त्रिमण्डल विस्तार हुँदा मन्त्री बन्न हितराज पाण्डे, गिरिराजमणि पोखरेल, रेखा शर्मा, अग्नि सापकोटा, रामनारायण विडारी, लगायत नेताहरूले लविङ गरिरहेका छन्।
राप्रपाभित्र सरकारमा जान दबाब
राप्रपाले सम्मानजनक स्थान पाए सरकारमा सहभागी हुने जनाएको छ। तर, अध्यक्ष कमल थापा पार्टीले सरकारलाई समर्थन गरेपनि सरकारमा जान नहुने पक्षमा देखिएपनि अधिकांश नेताहरुले भने सरकारमा सहभागी हुनु पर्ने दबाब दिँदै आएका छन्। राप्रपाले उपप्रधानसहित चार मन्त्रालय मागेको छ। उपप्रधानसहित चार मन्त्रालय पाए सरकारमा सहभागी हुने बताएको राप्रपाका तर्फबाट मन्त्री बन्न विक्रम पाण्डे, दिपक बोहोरा, सुनिल थापा, कुन्ति शाही, दिलनाथ गिरी, रेशम लामा, दिनेश श्रेष्ठ, विक्रम थापा र जयन्त चन्दले लविङ गरिरहेका छन्।
Previous Articleपोखरा सुधार्ने प्रतिबद्धता २८, उपलब्धि शून्य
Next Article विवादमा तानियो एसियन प्रिमियर लिग