यतिवेला पहिलो चरणमा समपन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुले नागरिक तहमा वधाई, स्वागत र शुभकामना थापीरहेका छन । जनप्रतिनिधीले मतदातालाई धन्यवाद दिदै आफुले गर्ने कामको प्रतिवद्धता ब्यक्त गरीरहेका छन । पहिलो चरणको निर्वाचन निकै उत्साह, शान्तिपूर्ण र जनताको सक्रिय सहभागितामा सम्पन्न भएको छ । सरकार दोस्रो चरणको निर्वाचन तयारीमा जुटिरहेको छ । संघीय गणतान्त्रिक नेपालको इतिहासमा पहिलोचोटि भएको यो निर्वाचनको ऐतिहासिक महत्व छ । यो विगतका जस्ता परम्परागत निर्वाचन होइन । नेपालको संघीय संविधान कार्यान्वयन गराउने पहिलो खुड्किलो त हुँदै हो, त्यसभन्दा पनि केन्द्रमा थुपारेर राखिएका जनताका शासकीय अधिकारलाई उनीहरूकै घर–आँगनमा पु¥याउने अर्काे अभियान हो । जनताका घर–आँगनमा जनताका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका अधिकारहरूसमेत पुग्नेछन् । सिंहदरबारका मन्त्रालय र ठूला पार्टीका केन्द्रीय कार्यालयमात्र होइन, अब स्थानीय सरकारका स–साना मन्त्रालय, पार्टीका स्थानीय कार्यालय, प्रत्येक गाउँपालिका र नगरपालिकाका टोलटोलमा सरकारका कुरा हुनेछन ।
स्थानीय तहको निर्वाचनसंगै स्थानीय पत्रकारको भूमिकामा पनि फरकपन आउनुपर्ने भएको छ । अव विधागत पत्रकार पनि गाउँ–गाउँ र नगर–नगरमा जन्मनुपर्छ । जनताका दुःख–पीडामा एकताबद्ध हुनुपर्छ । अब समाचारका स्रोतहरू गाउँ, नगरमै पाइनेछन् । राम्रा–राम्रा फिचर, समाचार गाउँमै फल्नेछन, अनि सुन्दर र मार्मिक तस्बिरहरू पनि त्यहीँ खिच्न सकिनेछन् । यस्तो अवस्थामा राज्यको चौथो अंग सञ्चारजगतले आफ्ना सोच, दृष्टिकोण, योजना, कार्ययोजना र कार्यदिशा स्पष्ट रूपमा अघिसार्नु आवश्यक छ । पत्रकार र मिडियाको आँखा अब गाउँ, नगरतिर सोझिनुपर्छ । समाचार सम्प्रेषणका लागि विभिन्न एजेन्डा सेट गरेर अघि बढ्नुपर्छ । खासगरी अव स्थानीय तहका पत्रकारले पनि राष्ट्रियता बलियो बनाउने र सार्वभौमसत्ताको संरक्षण गर्ने कुरामा पनि ध्यान दिनुपर्ने भएको छ । किनकी राष्ट्रियताको आधारभूमि गाउँ–नगरहरू हुन् । जनताका अधिकार गाउँ–नगरमा फर्किएको अवस्थामा स्थानीय राष्ट्रियतालाई कमजोर पार्ने प्रयाशहरु प्रशस्तै हुनेछन । त्यसैले स्थानीय राष्ट्रियतालाई बलियो पार्ने र नेपालको सार्वभौमसत्ताको संरक्षण गर्ने सन्दर्भमा स्थानीय मिडिया निकै सजग बन्नुपर्छ । स्थानीय राष्ट्रियता बलियो भएमा मात्र केन्द्रीय राष्ट्रियता बलियो हुन सक्छ ।
विचार, अभिव्यक्ति वा प्रेस स्वतन्त्रताको रक्षामा पनि पत्रकारको ध्यान पुग्नु पर्दछ । सत्ता र सरकार आफैँमा निरंकुश शक्ति हो । उनीहरु आफ्नो स्वार्थमाथि धक्का लाग्न थालेपछि विचार र अभिव्यक्ति स्वतन्त्रता दबाउन खोज्छन् । यसतर्फ स्थानीय पत्रकार र मिडियाले सधैँ चनाखो भएर वस्नु पर्दछ । पारदर्शिता र सुशासनमा उत्तिकै जोड दिनुपर्दछ । स्थानीय तहहरूलाई बलियो बनाउन सकिएन भने गणतन्त्रको पहिलो खुड्किलो नै धराशयी हुनसक्छ । त्यसैले स्थानीय पत्रकार र मिडियाले स्थानीय तहको संस्थागत विकासमा जोड पुग्नेगरी समाचार सम्प्रेषण गर्नुपर्छ । पारदर्शिता भएमात्र सुशासन हुन्छ । सुशासन भए लोकतन्त्र बलियो हुन्छ । त्यसैले सुशासन, पारदर्शिता र लोकतान्त्रिक गणतन्त्रको सबलीकरणमा पत्रकारको ध्यान पुग्नै पर्दछ । यसका साथै स्थानीय विकास र आर्थिक समृद्धिमा जोड, समन्याय र सामाजिक सुरक्षा, प्रकृति संरक्षणमा जोड, पत्रकारिता, आमसञ्चार तथा सूचना प्रविधिसम्बन्धी विषयमा ध्यान, असल धर्म–संस्कृतिको संरक्षण, पेसा–रोजगारी सिर्जनासम्बन्धी विषयमा जोड, खोज, अनुसन्धान, वैज्ञानिक प्रयोग हुनै पर्दछ । स्थानीय प्राथमिकतामा जोड दिने कुरामा स्थानीय पत्रकारले विशेष काम हो । गाउँपालिकाका वडाध्यक्ष, अध्यक्ष, नगरपालिका प्रमुख, र उपप्रमुखका कुरा सिधै जनतासमक्ष र जनताका कुरा उनीहरूसमक्ष पुराईरहनु पर्दछ । नगरगाउँ व्यवस्थापिका, कार्यापालिका र न्यायापालिकालाई खबरदारी गरीरहनुपर्छ ।