पर्वत, २४ जेठ – २०४६ सालको जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि बर्षौदेखि भिख माग्दै हिड्न बाध्य भएका छन् । रुकुमको सोलावाङका ४८ बर्षिय तारा खड्का हातमुख जोर्नकै लागि भिख माग्न बाध्य भएका हुन् । आन्दोलनका क्रममा काठमाडौं नारायणहिटी दरवार अगाडि राजा महेन्द्रको शालिक भत्काउन खोज्दा उनलाई प्रहरीको गोली लागेको थियो । उनीसँगैका ८ जना व्यक्तिहरुको गोली लागेपछि ज्यान गुमाएका थिए । खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । घाइते भएरपनि कडा सजाय भोग्न बाध्य खड्का अहिले पर्वत लगायत विभिन्न स्थानमा भिख माग्दै हिड्न बाध्य भएका छन् । खड्काको सोही क्रममा जिब्रो समेत काटिएको थियो । उपचारका लागि उनलाई अमेरिकाको पाइलट हस्पिटलमा दुई वर्षसम्म राखेपनि उनको स्वास्थ्य अवस्थामा सामान्य सुधारमात्र भएपछि घर फर्केका थिए । उपचारका लागि राज्यले ५० लाख खर्चेको थियो भने उनले काठमाडौमा रहेको आफ्नो घर ४० लाखमा विक्री गरेका थिए । काठमाडौमा भएको एउटा घर विक्री पछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन । सानैमा आमाबुबा गुमाएका उनले विहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाए । उनकी श्रीमतिको २०४५ सालको भूकम्पमा परी निधन भएको थियो । अहिले कृत्रिम गोडाको सहायताले हिडडुल गर्दछन् । सामान्य हिडडुल गर्न सकेपनि काम गर्न सक्ने शारीरिक अवस्था उनको छैन । उनले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आफुँ सँधै पिडित नै बनिरहेको दुखेसो गरे । ‘जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्यांकन राज्य र सरकारले गर्न सकेनन् ।’ उनले गहभरी आँशु पार्दै भने ‘अहिले भिख माग्नुपर्ने अवस्थामा हिडिरहेको छु ।’ खड्काले पूर्व प्रधानमन्त्री मरिचमान सिंहको सहयोगमा आरआर क्याम्पसबाट विएडसम्मको अध्ययन पुरा गरे । आन्दोलनकै कारण र पिडा कै कारण खड्काको मानसिक अवस्था समेत विग्रिदै गएको छ । उनले औषधी सेवन गर्ने पैसा समेत आफु सँग नभएको गुनासो गरे ।