डिल्लीप्रसाद गौतम
हरेक देशमा आ–आफ्नै चालचलन, रितीथिती र परम्परा हुन्छ । ति चालचलन र रितीथिती अनुसार नै राज्यले पनि नीति नियम बनाएको हुन्छ र त्यही नीति नियमलाई त्यस मुलुकभित्र बस्ने सम्पूर्ण नागरिकहरुले पालन गरेका हुन्छन् । हरेक जातजाती, भेषभुषा र चाल चलन ठाउँअनुसार फरक–फरक पनि हुने गर्दछन् । तिनै रितिथिती, चाल चलन, आहारविहार र भेषभुषाले नै सिंगो देशको पहिचान बोलेका हुन्छन् । त्यसैले राज्यले ठाउँ अनुसारको संस्कार र संस्कृतिको जगेर्ना पनि गर्नुपर्दछ । अझै भन्नुपर्दा जातजातीले मान्ने संस्कार र संस्कृतिमा तिथी र मितिले पनि ठूलो महत्व राखेको हुन्छ । हामी नेपालीहरुको पनि आफ्नै रिती रिवाज, धर्म–संस्कृति र परम्परा रहि आएको छ । यही संस्कार र संस्कृतिले गर्दा नै सम्पूर्ण विश्वले नेपाल र नेपालीलाई पहिचान गरेको छ ।
पछिल्लो दिनहरुमा आइपुग्दासम्म संस्कार, संस्कृति र धर्ममा निकै ठूलो प्रहार भएको छ । खासगरी २०६२/०६३ को जनआन्दोलन पश्चात जब देशमा गणतन्त्र आयो तत्पश्चात यहाँका धर्म, संस्कार र संस्कृतिमा चौतर्फी प्रहार भएको पाईन्छ । खासगरी नेपालमा गणतन्त्र घोषणा पश्चात प्रयोजित रुपमा यहाँका जातजाती, भाषा, सँस्कृति र परम्परामाथि धावा बोल्ने काम भएको पाइन्छ । हिन्दु धर्ममाथि अनुचित र नियोजित रुपमा प्रहार गरियो र देशलाई धर्म निश्पेक्ष घोषणा गरियो । यो कुनै यहाँका देशवासीको रहर वा माग नभै बाध्यता थियो । यो केवल हिन्दु धर्मको खिलापमा विदेशीहरुले बुनेको तानाबुनामा हाम्रा देशका प्रमुख दलका नेताहरुको दुरदर्शिताको अभावका कारण विदेशी मित्रलाई खुसी पार्न चालिएको कदम मात्र थियो । समग्रमा यो नेपाल देश र सम्पूर्ण देशवासीहरुको धर्म संस्कृति र परम्परा माथिको आक्रमण थियो । त्यती मात्र हैन यहाँ कुनै उद्देश्य शक्तिले यहाँका जातजातीबीच विभेद श्रृर्जना गरेर जातिय द्वन्द्व सिर्जना गर्ने कुटिल चाल पनि खेलीरहेका छन् । क्रमिक रुपमा धर्म–संस्कृतिमाथि आक्रमण, त्यस पश्चात जातिजातीबीच बैमनश्यता भाषाभाषीहरुमा बैमनश्यता गर्दै अहिले आएर हिमाल, पहाड र तराई गरी भाषा र भुगोलको नाममा त्यो वा यो बहानामा नागरिकबीच द्वन्द्व सिर्जना गर्ने काम भैरहेको छ । यस तर्फ आमनागरिकहरु नै सतर्क भै एकआपसमा भाईचाराको भावनाले ओतप्रोत भै सम्पूर्ण जातजाती भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने समय आईसकेको छ ।
देश संघिय संरचनामा प्रवेश गरिसकेको छ । संघिय संरचनाअनुसार, संविधान कार्यान्वयनको लागि स्थानिय निकायको निर्वाचको शिलशिलामा पहिलो चरणको निर्वाचन समेत सम्पन्न भैसकेको छ । दोस्रो चरणको निर्वाचनको प्रक्रिया अघि बढिरहँदा निर्वाचनको पहिलोपटक घोषणा गरिएको मिति २०७४ जेठ ३१ को मिति २ पटकसम्म सरीसकेको छ । जेठ ३१ बाट आषाढ ९ र आषाढ ९ बाट पुनः १४ भै सकेको अवस्थामा निर्वाचन अनिश्चिततातर्फ धकेलिएको महशुस गरिएको छ । प्रचण्ड नेतृत्वको गठबन्धन सरकार जननिर्वाचनको मिति घोषणा भयो तत्पश्चात अनेक समस्याको भुमरीमा फसेको छ । भनिन्छ कनुै पनि कार्य गर्दा अघि हेर्नु ९ हात पछाडी हेर्नु २० हात तर प्रचण्ड नेतृत्वको सरकार कुनै पनि कार्य सोच विचार पूर्ण तरीकाले गरेको देखिदैन । कुनै पनि कार्य गर्दा त्यसको प्रभाव वा रिजल्ट के हुन सक्दछ ? यसको सोच विचार गर्ने क्षमता त्यस सरकारसंग रहेन । त्यस सरकारका काम क्रिया हेर्दा लाग्दछ यो सरकार नै दिवालिया पनको छ । न त त्यस सरकारलाई कुनै बारको हेक्का थियो न त तिथि मितिको नै ? न कुनै धर्म संस्कारको हेक्का न कुनै संस्कारको नै ? नेपाली एउटा परम्परा छ त्यो के भने कुनै पनि दुरगामी असर पर्ने खालका काम गर्दा बार तिथिमिति र नक्षेत्र जुरानु पर्दछ । यही नेपाली हिन्दु धर्म र संस्कृति अनुसार यि कुरा मिलाइएन भने यसको असर दिर्घकालसम्म पर्न जान्छ । अन्ततः हामी पछुताउनु बाहेक अर्को विकल्प रहँदैन ।
हुन त उक्त सरकारको नेतृत्व गरिरहेको नेकपा माअेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वयं नेपाली धर्म, संस्कृति, रिती रिवाज र जातजातीविरुद्ध जोडबलले लागेका व्यक्ति हुन् । तसर्थ उनीबाट धर्म र संस्कार र संस्कृतिमा रमाउने मान्छे त के आशा गर्नु । आखिर भएको छ नी त्यस्तै । प्रसंग दोस्रो चरणको निर्वाचनको तिथिमिति कै हो । जब २०७४ जेठ ३१ को चुनाव सार्नुनै छभने सत्ता घटक दल प्रमुख प्रतिपक्ष आन्दोलनरत दल अनि निर्वाचन आयोगसँग छलफल नै नगरी आफु खुसी सार्ने ? तत्पश्चात फेरी कुनै चाड पर्व प¥यो रे वा समय ठिक भएन रे आदी ईत्यादी । नेपाली संस्कारमा बिना क्यालेण्डर बिना साइत गरिएका हरेक क्रियाकलाप देश र जनताको हितमा छैनन् र कालान्तरमा तिनको परिणाम राम्रो आउँदैन । त्यसैले कुनै कार्य गर्नु पूर्व गहन छलफल सोच विचार अनि तिथि, मिति, र साइत जुराएर मात्र गर्नु उपयुक्त देखिन्छ । हुन त अब प्रचण्ड नेतृत्वको सरकारको आयु समाप्त भैसकेको छ । अब आउने सरकारको नेतृत्वकर्ताले पनि प्रचण्डकै सुरतालमा लहडमा निर्णय नगरोस् । यहि शुभकामना ।