बागलुङ, २२ जेठ – दैनिक, साप्ताहिक र मासिक रुपमा सिकाईबारे मूल्यांकन गर्न थालेपछि बालबालिकाको पढाई र लेखाईमा सुधार आउन थालेको छ । उनीहरुले गर्ने हरेक अभ्यासको पुनराबलोकन गरेपछि बुझ्न नसकेकालाई दोश्रो र तेस्रोपटक समेत सिकाउने व्यवस्था गरेपछि यो अवस्थाको सुधार आएको शिक्षकहरुले बताए । प्लान इन्टरनेशनलको सहयोग र जिल्ला शिक्षाको समन्वयमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले थालेको ‘प्रारम्भिक सिकाई र पढाई विकास कार्यक्रम’ र जिल्ला शिक्षाको निरन्तरको अनुगमनबाट यो सुधार आएको शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बताए । ‘हरेक बालबालिकाको व्यक्तिगत फाईल बनाएर उनीहरुले सिकेको उपलब्धी र पटक पटक दोहो¥याएर पढाएको रेकर्ड देखिने व्यवस्था पनि भएको छ’ मिश्रले भने, ‘अवको शिक्षा परंपरागत भैरहेमा हाम्रा बालबालिकाले अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्दैनन् ।’ पाठ्यक्रम, नोटबुक र तोकिएका सूचक समेत दिएर शिक्षक, अभिभावक समेत सक्रिय बनाएपछि मात्र गुणस्तरीय शिक्षा पाउन सकिने उनले बताए । पछिल्लो समय नेपाली, सामाजिक र अन्य भाषगत बिषयमा शब्द चयन, उच्चारण र पढाईको शैलीमा कमजोर बन्दै गएपछि उत्तिर्ण दर पनि घटेको मिश्रले बताए । बालबालिकाको क्षमता बढाउन कक्षा कोठामा औपचारिक शिक्षा दिएर मात्र नपुग्ने भएपछि अभिभावक शिक्षा पनि आवस्यक परेको हो । यो आवस्यकतालाई हेरेर परियोजना संचालन गरेको प्लान इन्टरनेशनलकी क्षेत्रीय प्रवन्धक नितु आचार्यले बताईन् । यो अभियान पहिलो चरणमा बागलुङका ३५ र म्याग्दीका २५ विद्यालयमा संचालनमा छ । एक विद्यालयको कार्यक्षेत्रमा ३ वटा टोल बनाएर अभिभावक शिक्षा समेत चलाईएको छ । पहिलो ६ महिनामा कक्षा कोठा व्यवस्थापन, पुस्तकको कर्नर बनाउने, सरसफाई, शब्दको शुद्ध उच्चारण र पढाई विकास लगायतको काममा अगाडि बढेको समेत शिक्षकहरुले बताए । पहिलो चरणमै धेरै सफलता देखिएकोले केही समय कार्यक्रम निरन्तर संचालन गर्नुपर्ने कुश्मीसेरा स्थित पल्लोपाखा सामुदायिक माविका प्रअ टेकनारायण आचार्यले बताए । यस अघिको अध्ययनले बालबालिकामा पढाई र सिकाईको स्तर खस्केको पाएपछि यो कार्यक्रम संचालन गरिएको हो । पहिलो ६ महिनाको कार्यक्रम अनुगमनका लागि जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्र, प्लान नेपालकी क्षेत्रीय प्रवन्धक नितु आचार्य लगायतको टोलीले कुश्मीसेराको जनचेतना प्रावि, पल्लोपाखा सामुदायिक मावि, नारायणस्थानको आधारभूत निमावि पुगेको थियो । टोलीले ती विद्यालयको प्रगती अध्ययन गरी आवस्यक सुझाव समेत दिएको फाउन्डेसनका कार्यक्रम संयोजक नविन पन्तले बताए ।