भरतपुर घटनाको विषयलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा पु¥याएको छ । भरतपुर महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुगिरहेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेर मत गणनालाई अनिश्चित बनाएका थिए । यहि विषयलाई लिएर कांग्रेस, माओवादी र एमालेबीच एकअर्कालाई आरोप लगाउने काम भएको थियो । माओवादी र कांग्रेसले भरतपुर वडा नं. १९ मा पुन मतदान गर्नुपर्ने माग गरेका छन्भने एमालेले मतगणनालाई जारी राख्नु पर्ने अडान लिएको छ । यसै विषयलाई लिएर छानवीन समिति समेत गठन गरिएको छ । माओवादीले मत गणनामा गरेको यस्तो उच्चश्रृंखल कार्यको सर्वत्र विरोध भईरहेको छ । चुनावलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनु पर्नै दायित्व बोकेको माओवादी केन्द्र र कांग्रेसको गठबन्धनले यस्तो हर्कत देखाएपछि दोस्रो चरणको चुनाव निष्पक्ष होला भनेर थुप्रै आशंकाहरु जन्माएको छ ।
मतपत्र च्याएपछि एउटा विज्ञप्ती जारी गरेर आफ्नो पार्टीको बचाउ गर्नेबाहेक माओवादी र केन्द्रले थप प्रतिक्रिया दिएका छैनन् । यस्तो गंभीर विषयमा साँधिएको मौनताले सत्ता गठबन्धनमा केही उदेश्य लुकेका छ भन्ने रहस्योद्घाटन समेत गरेको छ । सत्ता गठबन्धनको यस्तो रबैया देखेर एमालेले संसद नै अवरुद्व गर्नै अस्त्र प्रयोग गरेको छ । जनता र देशको विकासमा बहस हुने थलो कहिले प्रधानन्यायधिश सुशिला कार्की त संविधान संशोधन र मतपत्र च्यातेको विषयलाई लिएर बन्धक बनेको छ । एमालेले बुधबार भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध गरेको छ । एमालेले पुनः मतदानमा जाने निर्णय गरे आफ्नो उम्मेदवारलाई विजयी घोषणा गर्न सक्ने चेतावनी दिएको छ । एमालेले भरतपुर काण्ड जनताको सार्वभौम अधिकारमाथिको बलात्कार भएको जिकिर गरेको छ । एमाले उम्मेदवार देवी ज्ञवाली जिततर्फ उन्मुख भएपछि प्रतिनिधि बनेर गएका माओवादी केन्द्रका कार्यकर्ताले सुनियोजित ढंगले मतपत्र च्यातेको दाबी गरेको छ ।
मतपत्र च्यात्नुको पछाडी माओवादीमा हारको भय हुनसक्छ । भरपुर काण्ड छानवीन गर्ने गठन गरिएको समितिले अब प्रभावकारी भूमिका खेल्न जरुरी छ । भरतपुर घटना संसदको राज्य व्यवस्था समितिमा प्रवेश पाएको छ । यदि आयोग पनि सरकारबाट प्रभावित भयो भने यसको निष्पक्ष छानवीन हुन सक्दैन जसले निर्वाचन आयोगको विश्वसनियतामाथि गंभीर प्रश्न उठ्न सक्छ । पहिलो चरणको चुनाव ३ प्रदेशमा सकिएको छ । चार प्रदेशमा दोस्रो चरणको चुनाव हुन बाँकी छ । सुझबुझपूर्ण तरिकाले भरपुर काण्डको यथार्थ बाहिर ल्याउनु आयोगको दायित्व हो । आयोगको एक गल्तीले दोस्रो चरणको चुनावमा भाँडभैलोको चाङ नै लाग्नेछ । हार्न लागेपछि ५ वटा मतपत्र च्यातेपछि पुनः मतदानमा जाने हो भने निर्वाचन आयोगले सधैं भरी चुनाव मात्र गरेर बस्नुपर्नेछ । लोकतन्त्र र आवधिक निर्वाचनको मर्मको ढाड भाँच्ने गरी भएको मतपत्र च्यात्ने काम अक्षम्य अपराध हो । दोषीलाई कार्वाही गर्नुपर्छ ।
Previous Articleजनप्रतिनिधिलाई काम कर्तव्यबारे सचेतना
Next Article २०७४ जेठ १८ गते बिहीबारको राशिफल