बागलुङ, १५ जेठ – जिल्लाको काठेखोला गाउँपालिकामा निर्वाचित अध्यक्ष र उपाध्यक्षले आइतवार पदभार ग्रहण गरेका छन् । काठेखोला गाउँपालिका–६ सुल्डाँडामा सञ्चालित गाउँपालिकाको कार्यालयमा अध्यक्ष अम्मरबहादुर थापा र उपाध्यक्ष अर्जुनबहादुर खत्रीले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गरेपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जनताले मतमार्फत दिएको विश्वास समृद्ध काठेखोला निर्माण गरेर पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सबै राजनीतिक दलहरुसंग समन्वय गरेर गाउँपालिकाको विकासमा अगाडि बढ्ने बताए । स्थानीय स्रोत र साधनको अधिकृतम उपयोग गर्ने लक्ष्यसहित गुरुयोजना निर्माण गरेर काम गर्ने भन्दै उनले विकास निर्माणमा दलीय सम्बन्ध र स्वार्थ नहर्ने प्रतिवद्धता व्यक्त गरे ।
उपाध्यक्ष अर्जुनबहादुर खत्रीले जनतालाई सहज रुपमा सेवा प्रदान गर्न सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसी, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा उपाध्यक्ष पदका प्रत्यासी ज्ञानकुमारी श्रीस शर्मा, नेकपा एमाले काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, नेकपा माओवादी केन्द्रका काठेखोला गाउँपालिका इन्चार्ज कृष्ण थापा, राप्रपाका प्रतिनिधि लिलाधर ढुंगाना, राष्ट्रिय जनमोर्चाका काठेखोला गाउँपालिका इन्चार्ज लक्ष्मण पुन लगायतले वधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम काठेखोला गाउँपालिका कार्यकारी अधिकृत सीतादेवी न्यौपानेको अध्यक्षता, सहायक अधिकृत चूर्णबहादुर कार्कीको सञ्चालन र वडा नं. ५, ६ र ७ का सचिव मनोज कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।
यसैबीच गाउँ कार्यपालिकाको पहिलो बैठकले काठेखोला गाउँपालिकाका ८ वटै वडाका १५/१५ घर विपन्न परिवारका सदस्यहरुको स्वास्थ्य विमा गरिदिने, ८ वटै वडामा विद्युत महसुल संकलनका लागि घुम्ति काउण्टर सञ्चालन गर्ने, गाउँपालिकाको केन्द्रदेखि सबै वडामा पुग्ने सडक बाह्रै महिना सञ्चालन हुने गरी व्यवस्थापन गर्ने तथा सामाजिक सुरक्षा भत्ता जिल्ला सदरमुकामबाट वितरण हुदै आएकोमा सम्बन्धित वडा बाटै वितरणका लागि समन्वय गर्ने निर्णय गरेको अध्यक्ष अम्मरबहादुर थापाले बताए ।
यसैबीच, बानपा–११ बाट स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आईतवार पदभार ग्रहण एवं स्वागत कार्यक्रम गरिएको छ । रायडाँडामा आयोजित कार्यक्रममा बोल्दै काँग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले जनताको चाहना अनुसार काम गरेर गाउँको विकासमा जुट्न आग्रह गरेका थिए ।
उनले जनप्रतिनिधिहरुलाई वडाको विकास निमार्णमा सहयोग र साथ दिन पनि आग्रह गरे । कार्यक्रममा नवनिर्वाचत वाडअध्यक्ष ज्ञानेन्द्र गौतमले गाउँको विकासमा आँफू निरन्तर जुट्ने बताए । विकासका लागि आवश्यक पर्ने सबै काममा आफुले अगुवाई गर्ने दावी पनि गरे ।
कार्यक्रममा काँग्रेसका अमृत सुवेदी, एमालेका दलबहादुर थापा, राष्ट्रिय जनमोर्चाका कोपिलामणी शर्मा, राप्रपाका गोविन्द बहादुर थापा, शिक्षक लक्ष्मण लाल, आदिवासी जनजाति संजालका पदम थापाले मन्तव्य राखेका थिए । वडा सचिव नारायण पौडेलको अध्यक्षता, प्राविधिक सहायक रुकम थापाको स्वागत र चिरन्जीवि केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।