पोखरा, १३ जेठ – पोखरा लेखनाथ महानगरसहित कास्कीको स्थानीय तह जितेको नेकपा एमालेले शनिबार विजयोत्सव मनाएको छ । विजयोत्सव समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली आफैं सहभागी भएका छन् र उनले पोखराका मेयर उपमेयरसहित सबै जनप्रतिनिधिलाई माला र अवीर लगाएर बधाई दिए ।
आमसभालाई सम्बोधन गर्दै पोखराका नवनिर्वाचित मेयर मानबहादुर जिसीले जनतालाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।नवनिर्वाचित मेयर जिसीले सिंहदरबारको अधिकार स्थानिय तहमा आएको आएकाले अब त्यसको कार्यान्वयन एमालेले गर्ने बताए । स्थानीय जनताले सिंहदरबार गाउँमा आएको प्रत्याभूति हुनेगरी काम गर्ने दृढता व्यक्त गरे ।
चुनाव लड्दा एमालेको तर्फबाट लडेपनि अब आफू सबै पोखरेलीको भइसकेको बताउँदै कसैलाई पनि काखा र पाखा नगर्ने बचन दिए । बिपक्षीलाई पनि समेटेर अघि बढ्ने भन्दै नवनिर्वाचित मेयर जिसीले भने,’समृद्ध पोखरा निर्माणका लागि बिपक्षीको पनि उत्तिकै साथ चाहिन्छ, म सबैलाई मिलाएर लैजान्छु, त्यसका लागि यहीँबाट प्रतिष्पर्धी साथीहरुलाई आहृवान गर्छु ।’
जिसीले आफ्नो ५ वर्षे कार्यकालमा ५ काम गर्ने भन्दै भने,’हामीले घोषणा पत्रमा उल्लेख गरेका ‘प्रविधीमैत्री सेवाग्राही’, ‘युवा उद्यमीहरुको सहर’, ‘शुद्ध पिउने पानी, स्वस्थ समाज’, ‘हराभरा पोखरा -क्लिन सिटी, ग्रीन सिटी)’ र ‘दिगो विकासको पूर्वाधार’ जुनसुकै हालतमा पनि काम गर्छु ।’
नवनिर्वाचित उपमेयर मञ्जु गुरुङले पनि पोखराको विकास र समृद्धिका लागि प्रतिष्पर्धीसँग हातेमालो गरेर अघि बढ्ने बताइन् । साथै प्राकृतिक, सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षणमा जोड दिइन् ।
बिजयोत्सव आमसभाअघी पोखराको मानवअधिकार चोक चिप्लेढुङ्गाबाट आमसभास्थल अमरसिंहचोकसम्म बिजयोत्सव र्याली निकालिएको थियो । र्याली महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, बुद्धचोक, अम्मरसिंहचोक हुँदै अम्मरसिंहचोकको खेल मैदानमा पुगेर सभामा परिणत भएको थियो ।