नेपालमा विनाशकारी भूकम्प गएको दुई वर्ष बितिसकेको छ । तर, राज्यले उनीहरुलाई गाँस, बास र कपासको व्यवस्था गर्न सकेको छैन । भूकम्प पीडितहरु अहिले पनि त्रिपालभित्र बसेर भीषण असिना र पानीको सामना गर्न विवश भएका छन् । भूकम्प पीडितलाई पुर्नस्थापित गर्नको लागि सरकारले चर्काे कुरा गरेपनि त्यो केवल बोलीमा मात्रै सिमित छ । भुकम्प पीडितलाई सरकारले केवल आश्वासन मात्रै दिदै आएको छ । पुर्ननिर्माण प्राधिकरणमा चर्काे राजनीति हुँदा पीडितहरुले बिचल्लीमा जीवन गुजार्न बाध्य भएका छन् । भूकम्पले मात्रै होइन हरेक वर्ष वर्षा याम खोलामा आउने बाढी र भीरपाखामा जाने पहिरोले धेरैको ज्यान लिएको छभने धेरै नागरिक घरबारबिहिन भएका छन् । तत्काल राहत स्वरुप सरकारी निकायले खाद्यन्न सहयोग गरेपछि उनीहरुलाई पुर्नस्थापित गर्न कुनै पहल गरेको देखिदैन ।
यस्तै प्राकृतिक विपत्तिबाट गुज्रेको म्याग्दीको बैसरी पहिरो पीडितलाई राज्यले सेवा सुविधा उपलब्ध गराउन सकेको छैन । सरकारी निकायको बेवास्ता कै कारण बैसरीका पहिरो पीडितले दयनीय जीवनयापन गर्न विवश बनेका छन् । दुईबर्ष अगाडी सुख्खा पहिरोबाट विस्थापित बनेका रघुगंगा गाउँपालिका–२ भगवतीको बैंसरीबासीको स्थायी बसोबासको अझै टुंगो लागेको छैन । उनीहरुलाई सुरक्षित ठाउँमा पुर्नस्थापित गर्नको लागि सरकारले वाचा गरेको दुई वर्ष बितिसक्दा पनि कामलाई अघि नबढाउँदा उनीहरुले सास्ती खेपीरहेका छन् । बस्ती बसाउनका लागि उपयुक्त ठाउँ नभेटिएपछि अस्थायी रुपमा बसोबास गरेका पीडितले उपयुक्त बसोबासको माग गरेको धेरै समय गुज्रिसकेको छ । तर, सरकारी निकायले कानमा तेल हालेर बसेको छ । बस्ती पुरेको पहिरोस्थल र गाउँपालिका–३ पिप्लेको राहुपारेमा विस्थापित हरुले टहरा बनाएर बसेका छन् । टहरामा दिनरात गुजार्नु पर्दा उनीहरु आक्रोशित समेत बनेका छन् । भूकम्पपीडितको परिचय पत्र प्राप्त गरेका उनीहरुलाई अहिलेसम्म स्थायी रुपमा बसोबास गर्ने जमीन भेटिएको छैन ।
बैसरीका पहिरो पीडितहरुले जोखिम मोलेर बसेका छन् । किनभने उनीहरु बसोबास गरेको ठाउँ जोखिमपूर्ण रहेको सरकारी निकायका जिम्मेवार व्यक्ति स्वीकार्छन् । पीडितलाई विभिन्न संघ संस्था र विदेशबाट पटक–पटक सहयोग भएपनि सरकारी निकायले जति सहयोग गर्नुपर्ने हो त्यसलाई निरन्तरता दिन सकेको छैन । बैसरीमा पहिरो खसेपछि १६ घण्टा कालिगण्डकी नदी समेत थुनिएको थियो । अन्नपूर्ण गाउँपालिकाको राम्चेको पहाड खसेपछि पारी रहेको बस्ती समेत पुरेको थियो । मध्यरातमा घरभन्दा माथिबाट आएको पहिरोका कारण २७ घरधुरी विस्थापित भएका थिए । जसमध्ये ४ घरधुरी पुनः बैंसरीमै फर्किएर छाप्रो बनाएर बसेका छन् । पहिरोले चिराचिरा पारेको बैसरीमा गएर बस्न सुरक्षित छैन । उनीहरुलाई बासको व्यवस्था गर्ने काम राज्यको हो । प्राकृतिक विपत्तिबाट गुज्रिएका नागरिकलाई राहत दिनु राज्यको कर्तव्य हो । यो कर्तव्यलाई व्यवहारमा परिणत गर्न बैसरी पीडितलाई सरकारले बासको व्यवस्था गर्नुपर्छ ।
Previous Articleमतदातालाई धन्यवाद दिन म्याग्दीका नेता गाउँ गाउँमा
Next Article २०७४ जेठ ११ गते बिहीबारको राशिफल