लालबहादुर ऋतम्भरा
आदरणीय सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु
हार्दिक नमस्कार !
बधाई तथा सफल कार्यकालको शुभकामना ।
सम्पूर्ण बागलुङबासी मतदाताहरु, जसले आफ्नो मताधिकारको प्रयोगमार्फत सार्वभौमसत्ता तथा आफ्नो सर्वोच्चताको प्रदर्शन गर्नुभयो र लोकतन्त्रको सवलीकरणमा टेवा पुर्याउनुभयो, हजुरहरुप्रति विशेष आभार व्यक्त गर्दछु । म नेकपा (एमाले)को कार्यकर्ता हुनुका नाताले यहाँहरुले यस स्थानीय निर्वाचनमा एमालेप्रति अगाध आस्था र माया देखाउनुभएको छ । यहाँहरुको साथ र समर्थनकै जगमा बागलुङ जिल्लाको नेतृत्वदायी भूमिकामा एमाले स्थापित हुन सकेको छ, यस अर्थमा यहाँहरु सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । राष्ट्रिय राजनीतिमा एमालेको अहंम भूमिका, सरकारमा हुँदा गरेका लोकप्रिय काम, बागलुङ जिल्ला पार्टीको कुशल नेतृत्व र सम्पुर्ण पार्टी पंक्तिको एकिकृत र व्यापक परिचालनले हामी आमजनताको साथ र समर्थन लिन सफल भयौं, सम्पुर्ण पार्टी पंक्ति प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।
आदरणीय जनप्रतिनिधिहरु,
लोकतान्त्रिक प्रतिस्पर्धामा यहाँहरु विजयी भएपछि निश्चित छ कि यहाँहरुको भूमिका, जिम्मेवारी र कर्तव्य विस्तारित भएको छ । पार्टीको सीमित दायराबाट जनताको व्यापक तहमा यहाँहरुको व्यक्तित्वले फैलावट हुने मौका पाएको छ । यहाँहरुले जनताको सेवक बन्ने मौका पाउनुभएको छ । यहाँहरुले सार्वजनिक हैसियत प्राप्त गर्नुभएको छ । त्यसैले यहाँहरु बधाईका पात्र हुनुहुन्छ ।
जनप्रतिनिधिहरु पार्टीका ‘इमेज’ हुन् । पार्टीका विचार, सिद्धान्त र कार्यक्रमलाई जनताले बुझ्छन् र जान्दछन् तर जनप्रतिनिधिको काम र भूमिकामार्फत देख्छन् पनि । यसको अर्थ यो हो कि जनप्रतिनिधिको सम्बन्ध उसँग सम्बन्धित पार्टीसँग अन्योन्याश्रित रुपमा जोडिएको हुन्छ । पार्टीका सिद्धान्त ‘पढ्दा’ असल भएर पुग्दैन, ‘देख्दा’ असल हुनुपर्दछ । तिनै देखिने पात्र भनेका जनप्रतिनिधिहरु हुन् । जनप्रतिनिधिहरु आफ्नो काममा सफल हुँदा सिंगै पार्टी पनि सफल हुन्छ । जनप्रतिनिधि असफल हुँदा व्यक्ति मात्र असफल हुँदैन, सँगै पार्टीलाई पनि धक्का लाग्दछ । मलाई लाग्दछ यस विषयमा सबै जनप्रतिनिधिहरु जानकार त हुदैहुनुहुन्छ तर त्यसभन्दा बढ्ता गंभीर र संवेदनशील हुन सक्नुपर्दछ ।
लोकतन्त्रमा सामान्यतयाः जनताहरु बढी अपेक्षामुखी हुन्छन् । बढी आशावादी हुन्छन् । जनता नै हुन्, जसले मतदानमार्फत आफ्नो सर्वोच्चता र निर्णायकत्व जनप्रतिनिधिमा हस्तान्तरण गरेका हुन्छन् । यस अर्थमा जनप्रतिनिधिहरु प्रति अत्यन्तै बढी भरोसा र विश्वास जनताले गरेका हुन्छन् । जनताहरु आफ्ना जनप्रतिनिधिलाई ‘नायक’को रुपमा देख्न चाहन्छन् । जनता चाहन्छन्, एउटा आदर्श व्यक्ति र निष्ठावान सेवक । एउटा असल अभिभावक र दुरदर्शी नेता । आफ्ना प्रतिनिधिमा जनता देख्न चाहन्छन्, निस्कलंकता, निष्पक्षता र पारदर्शीता । जवाफदेहीता र जिम्मेवारीता । अग्रसरता र गतिशीलता । सक्रियता र जुझारुपना । शालीनता र लगनशीलता । यसरी शिरोपर गरेका हुन्छन् जनताले जनप्रतिनिधिलाई । यस्तै ‘स्केच’ बनाएर राखेका हुन्छन्, दिमागको क्यानभासमा ।
हामीले देखेका र भोगेकै छौ, जति छिटो जनताले हामीलाई विश्वास गरेका हुन्छन् त्यत्तिकै छिटो घृणा पनि । जति बढी आशा, त्यति छिटो निराशा पनि । जति बढी अपेक्षा, उति बढी निर्भरता पनि । जति जोडका साथ ताली बजाउन सक्छन्, त्यति आक्रोसका साथ गाली गर्न पनि । सम्बन्धहरु द्धन्द्धात्मक हुन्छन् । सम्बन्ध बनाउन भन्दा निभाउन गाह्रो हुन्छ । विशेषतः जनप्रतिनिधिहरुले जनतासँगको सम्बन्धलाई सदा जिवन्त राख्दै आफ्ना हित र चाहनालाई जनता र समाजको हित अधिनस्ध राख्न सक्नुपर्दछ । सम्बन्ध बनाउन सकेकै कारण जीतको हकदार भयौं, अव सम्बन्धलाई निभाएर मात्र सफल हुन सक्नेछौ । सम्बन्ध निभाउनुको अर्थ हो जनताको आवश्यकतालाई सम्बोधन गर्नू । विकास र समृद्धिका कामलाई दु्रततर अघि बढाउनु । परिवर्तन र नयाँपनको अनुभव जनतालाई दिलाउन सक्नु । जनजीविकाका सवालमा सहजीकरण गर्नु । दैनन्दिनका समस्यामा समाधान खोज्नु ।
जित्नु वा विजयी बन्नु नै सफलता होइन । यो मात्र सफल हुन एउटा खुट्किलो चढ्नु हो । सफल हुनको लागि एउटा सुनौलो मौका प्राप्त हुनु हो । तपाईलाई मतदान गर्ने जनताहरु जब तपाईका कार्यकालभरि गौरवान्वित महसुस गर्न सक्नेछन्, तब तपाई सफल भएको ठहरिनेछ । निर्वाचन जित्नु भनेको सामान्यतया परिक्षामा पास हुनु जस्तो सामान्य विषय होइन । परिक्षामा पास हुनेहरु कक्षा उक्लदै जान्छन् र डक्टरेट उपाधि पनि पाउलान् जुन पाएपछि खोसिन्न । पास भएपछि पुनः कक्षा दोहोर्याएर पढ्नु पर्दैन । तर निर्वाचनको परिक्षामा उत्तीर्ण हुनेहरुले दोहोर्याएर बारंबार पढ्नुपर्छ, त्यही जनतालाई, त्यही समाजलाई । राजनीतिको परिक्षामा उपाधिहरु थपिन्छन् पनि खोसिन्छन् पनि । त्यसैले एउटा निर्वाचन आफ्ना योग्यताको सम्पूर्ण परिक्षण होइन ।
कुनै मोडलले ऐनामा हेरेर आफ्ना सौन्दर्यताको परख गरेजस्तै राजनीतिकर्मी या जनप्रतिनिधिले जनताको आँखामा आफूलाई हेर्न सक्नुपर्दछ, समाजको ऐनामा आफ्ना सौन्दर्यताको परख गर्न सक्नुपर्दछ । ऐना अघि सिंगारिए आफूले आफैलाई राम्रो छु भन्ने आत्मानुभूति गर्दैमा हाम्रो असलियत ठहर्दैन, हाम्रो गुणवेत्ता प्रदर्शित हुँदैन । हाम्रा सौन्दर्यता ‘रुप’मा होइन, काममा, जनतासँगको घुलनशीलतामा, जनताको सम्बन्धमा, जनताको दृष्टिमा देखिनुपर्दछ । चुनाव जित्न आमजनतामा पुग्ने उम्मेदवारहरु जब जनप्रतिनिधि बन्छन् तव कुनै खास वर्गका मात्र प्रतिनिधिमा सीमित हुन्छन् भन्ने गुनासो सुन्न पाइन्छ । यसका केही अर्थराजनीतिक कारणहरु छन् । पद, शक्तिप्रतिका आशक्तिका केही सांस्कृतिक पक्षहरु पनि होलान् । तर हामीले कामना गर्न सक्छौ, हाम्रा जनप्रतिनिधिहरु यसखालका निम्नपुँजीवादी संस्कार संस्कृति, नोकरशाही चिन्तनप्रणालीबाट माथि उठ्नेछन् ।
विजयी हुनु र विजेता हुनुमा अवश्य फरक छ । तपाई जनप्रतिनिधिहरु जो विजयी बन्नु भएको छ, विजेता बन्न सक्नोस् शुभकामना छ । विजेता बन्नुको अर्थ हो, आफ्ना जीतलाई सार्थक रुपमा पुष्टाई गर्नु । व्यालेटबाट विजयी बनेकाहरु जब सदा जनताको हेराईमा पनि विजयी बन्नेछन् तब हाम्रा जनप्रतिनिधिहरु विजेता बन्न सक्नेछन् । संसारमा जित्ने मानिसहरु जति धेरै भएपनि विजेता विरलै मात्र हुन्छन् जसले आफ्ना काम र भूमिकाले नायक सावित हुन्छन् । राजनीतिक रङ्गमञ्चमा पात्रहरु धेरै हुन सक्छन् तर जसले आफ्नो ‘नायकत्व’ प्रदर्शन गर्न सक्छ, त्यही नायक ठहरिन्छ ।
जीतमा उल्लास स्वभाविक हो । जीतमा खुसी स्वभाविकै हो । तर सोचनीय विषय यो छ कि कतै हाम्रा जीतमा ठेलमठेल गरेर अविर जात्रा गर्ने जनताका हातहरु ‘धारेहात’ मा परिणत नहोस् । त्यतिवेला जनप्रतिनिधिहरुको सफलता हुनेछ जतिवेला उनीहरुका काममा जनता ‘सलाम’ ठाक्नेछन् । अवसर र पद त धेरै मानिसले पाएका छन् तर राजनीतिमा जनताबाट ‘वान्समोर’ भनिन लायक निकै कम मात्र छन् । तिनै कममा पर्न काफी प्रयत्न गर्नुपर्दछ । जनताको असल सेवक बन्ने यो सुवर्ण औसर जोकोहीलाई मिल्दैन । यस अर्थमा यो जीतको भरपुर उपयोग गर्दै आफूलाई असल र सक्षम सावित गर्न सक्नोस्, तपाई सबैलाई सफलता मिलोस्, जनताले ठूलो स्वरमा ‘वान्समोर’ भनेको सुन्न पाइयोस् । यसमा हाम्रो यो स्वार्थ छ कि, कम्तीमा तपाईहरु सफल हुँदा राजनीतिप्रतिको वितृष्णामा नयाँ चाख जोडिनेछ । वदनाम हुदै गरेको राजनीतिले कोल्टो फेर्नेछ । राजनीतिलाई सम्मानित पेशाको रुपमा विकास हुनेछ । तिकडम र छलछाममा सीमित हुदै गरेको राजनीतिलाई एउटा स्वस्थ प्रणालीमा विकास गर्न सकिनेछ । हामी जस्ता राजनीतिक कार्यकर्ताको काम र स्वाभिमानप्रति समाज संवेदनशील बन्नेछ । ‘जुन जोगी आएपनि कानै चिरेका’ आहानबाट अभिसप्त हाम्रा कानहरुले ‘सुन माथिका झनै हिरा’ का पवित्रतम् ध्वनि सुन्न पाउनेछन् ।
हजुर सबैको शुभेन्छुक ‘लाल’
Previous Articleपाका महिला गर्भवती हुनु कत्तिको जोखिमपूर्ण ?
Next Article बागलुङ चुनावको सन्देश