पर्वत, ९ जेठ-हालै निर्वाचित पर्वतको कुश्मा र बागलुङ नगरपालिकाका प्रमुखले विगत दुई दशकभन्दा अघिदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित नगरप्रमुखको सम्मानमा कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले आइतबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै ती जनप्रतिनिधिले धौलागिरिको भविष्य निर्माण गर्नका लागि बलेवा विमानस्थलको महत्वपूर्ण भूमिका रहेको बताउँदै दुई वर्षभित्रमा बलेवा विमानस्थल नियमित रुपमा संचालन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बागलुङको बलेवा क्षेत्रका बासिन्दाको कुश्मा बजारसँग सदियौँदेखिको घनिष्ठ सम्बन्ध रहेको बताउँदै बलेवा क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले बलेवा विमानस्थल पर्वत सदरमुकामसँगै जोडिएको र त्यसबाट पर्वतवासीले पनि उत्तिकै लाभ लिन सक्ने बताउँदै आफ्नो तर्फबाट जिल्लादेखि केन्द्रित तहसम्म पहल गर्ने बताए । सो अवसरमा बागलुङ नगरपालिकाका नवनिर्वाचत प्रमुख जनक पौडेलले नगरपालिकाभित्रैको बलेवा विमानस्थल सञ्चालन गर्न आफू सक्दो प्रयासमा लाग्ने प्रतिबद्धता जनाए। कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सीता शर्मा लामिछानेले जुनसुकै पार्टीमा आबद्ध भए पनि अबका दिनमा आफूहरु जनमुखी र निष्पक्ष रुपमा नगरपालिकाको सेवामा लाग्ने बताइन् ।
Previous Articleयसरी बद्लियो गाउँको अनुहार
Next Article पाका महिला गर्भवती हुनु कत्तिको जोखिमपूर्ण ?