नेपालको ईतिहासमा पहिलो पटक सिंह दरवारको अधिकार जनताको घर दैलोमा आउन लागेको छ । त्यसका लागि पहिलो चरणको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरु बिजयी हुने क्रम शुरु भएको छ । दोश्रो चरणका लागि जेठ ३१ मा हुने निर्वाचनले यो अभियानलाई पूर्णता दिने छ ।
२० बर्षपछिको निर्वाचनबाट नेपाली जनताले जनप्रतिनिधि पाउने अवसर आएको एकातर्फ खुसीयाली छ भने स्थानीय निकायबाट स्थानीय तहको रुपमा सरकारको स्वरुप गाउँमा भित्रिएको छ । नेपालको संविधानले परिकल्पना गरे अनुसार अवका जनप्रतिनिधिबाट कार्यपालिका, न्याय पालिका र व्यवस्थापिकाको अभ्यास गाउँमै हुन्छ । अधिकांस काम गाउँबाटै हुन्छन् । केन्द्रीय सरकारको आसा गर्नु पर्दैन । स्थानीय तहले आफ्नो क्षेत्रको राजश्व संकलन देखि करका दायरा तोक्ने सम्मको काम गर्न सक्छ । त्यतिमात्र होइन आफ्नो क्षेत्रको आवस्यकता र चाहना अनुकुलको नीति नियम बनाउने देखि लागू गर्ने सम्मको अधिकार स्थानीय तहलाई हुनेछ ।
ग्रामीण भूगोल र निर्वाहमुखी अर्थतन्त्र भएकोले अवका दिनमा स्थानीय तह पुरानै ढर्रामा चल्न भने निकै समस्या पर्ने देखिन्छ । किनकी परंपरागत रुपमा चल्नेहो भने न त क्रान्तिकारी कानून बन्छन्, नत अर्थतन्त्र सुदृढ हुन्छ । बरु एउटै गाउँपालिकामा ७२ जना सम्म कर्मचारी राख्ने, सबै जनप्रतिनिधिहरुलाइ तलब दिने नीतिले देशको अर्थतन्त्र सखाप हुन्छ । तसर्थ अवका दिनमा नयाँ आएका जनप्रतिनिधिहरुले नयाँ उचाईको सोचका साथ रोजागरी बढाउने, उत्पादनलाई विशेष प्राथमिकता दिने, कृषि, पर्यटन र उद्योगको विकासमा चासो दिन जरुरी छ । अवका दिनमा ग्रामीण अर्थतन्त्रको सुधार गरेर गाउँगाउँमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्छ । जसले आम नेपाली जनतालाई राजनीतिक दलप्रति विश्वास पलाओस् । अहिले सम्म दलहरुप्रति जनताको खासै विश्वास छैन । त्यसो भएर पनि फेरी जनताले दललाई निर्वाचन मार्फत सत्तामा पु¥याएका छन्, त्यसबाट जनताले सधै सास्ती पाउने मात्र भयो भने राजनीतिक दलप्रतिनै वितृष्णा शुरु हुनेछ । समयमै जनताको आवस्यकता र देशको पूजि विकासका लागि यो जनप्रतिनिधि र दलको शिर्ष नेतृत्वले बुझ्ने कोसिस गरेन भने अवको ५ बर्षपछि यो देशमा दलको विकल्पमा नयाँ खालका शक्तिहरुको खोजी हुन सक्छ । त्यस्तो समयमा बहुदलीय पद्दती भन्दा निर्दलीय संस्कृति भित्रने खतरा पनि छ । किनकी संघियता, गणतनन्त्र लगायतका सबै एजेण्डा भित्राएर पनि विकासको प्रतिफल पाउन नसक्ने हो भने जनताले नेताहरुका अवका एजेण्डा पत्याउन सक्दैनन् । स्थानीय तह निर्वाचनमा सफल भएका सबै दलका नेतृत्वले पनि आफ्नो धरातलीय यथार्थता, नेपालको भू राजनीतिक अवस्था र देशको बेरोजगारीका कारण सिर्जना भएको समस्या समाधान गर्ने गरी सोचाइमा विकास गर्न जरुरी छ । अवका दिनमा साँच्चै सिंहदरवार घरदैलोमा आएको अनुभूति दिनुपर्ने चुनौती पनि छ । त्यसका लागि सबैको सफलताका लागि शुभकामना ।