बागलुङ, २७ बैशाख – बागलुङ नगरापालिका–१२ अमलाचौरमा मंगलबार बाम राप्रपा चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभामा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य मनकुमारी केसीले जनताले चाहेको समृद्धि र विकासको सपना एमालेको नेतृत्वबाट मात्रै सम्भव भएकाले एमाले नेतृत्वको बाम राप्रपा प्यानललाई विजयी गराउने मतदातालाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मेयर पदका उमेदवार जनक पौडेलले बागलुङ नगरपालिकालाई देशकै नमुना नगरको रुपमा विकास गर्ने योजना आफ्नो प्यानलसँग भएकाले काम गर्ने मौका प्रदान गर्न मतदातालाई आग्रह गर्नुभयो । कार्यक्रममा उपमेयरका उमेदवार सुरेन्द्र खडका, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मेघराज शर्मा, राष्ट्रिय जनमोर्चाको पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारी, नेकपा एमाले प्रदेश कमिटी सदस्य डा. सूर्य पाठक लगायतले बोल्नुभएको थियो । कार्यक्रम घनश्याम विकको अध्यक्षता, परमानन्द शर्माको स्वागत र पूर्ण परियारको संचालनमा सम्पन्न भएको थियो । बानपा–१२ मा नेकपा एमाले , माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाबीच चुनावी तालमेल भएको छ ।
बानपा ३ मा राजमो, एमाले र राप्रपाको घरदैलो
बानपा वडा नं ३ का राजमोका वडा अध्यक्षका उम्मेदवार लक्ष्मी बास्कोटाले वडाको विकास र समृद्धिको लागि आफ्नो टिमलाई मतदान गर्न मतदातालाई आगह गरेको छन । लक्ष्मी बास्कोटाको नेतृत्वमा शिवधारा, राधाकृष्ण टोल, लाँलीगुरास चोक, गुठी, नागरोड, पुरानो सिनेमा रोड र कम्पुटोलमा घरदैलो अभियान सम्पन गरेको छ । उक्त अभियानमा उम्मेदवारहरू खुल्ला सदस्य रोशन खड्का, कमल खड्का,महिला सदस्य दुर्गा कुमारी शर्मा र दलित महिला सदस्य रेवती किसानको सहभागिता थियो ।
कांग्रेसको चुनावी अभियान तीव्र
स्थानिय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा कांग्रेसले बागलुङ नगरपालिकामा चुनावी अभियानलाई तीव्र पारेको छ । कांग्रेसका मेयर उम्मेदवार बसन्तकुमार श्रेष्ठ,उपमेयर शकुन्तला शर्मा लगायत उम्मेदवारहरुको टोलीले मंगलबार बानपाका ४,६ र ७ वडाका बिभिन्न स्थानमा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको हो ।
बानपा ५ मालिकामा आयोजित चुनावी सभामा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले देशको निकास दिने पार्टी नेपाली काग्रेस भएको दावी गरिन् । उनले संघियताको सही कार्यान्वयनका लागि कांग्रेसलाई जिताउन आवस्यक भएको तर्क राखेकी थिइन् । कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेलले ऐतिहासिक बोकेको कांग्रेस अवको स्थानीय तहको निर्वाचनमा अझ जनताको माझमा भिजेर जिवन्त रुपमा स्थापित हुने बताए । उनले यसपटकका उमेदवार युवा,जुजारु र सक्षम भएकोले विजयी गरि विकासको बाटोमा हातेमालो गर्न समेत आग्रह गरे । कार्यक्रममा मेयर उम्मेदवार बसन्तकुमार श्रेष्ठले समृद्धि बागलुङ निमार्णको लागि नेपाली कांग्रेसको विजय आवश्यक रहेको बताएका थिए । उनले विकास निमार्ण, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि एवं आर्थिक उन्नतीको लागि आफनो उम्मेदवारी भन्ने तर्क राख्दै रुख चिन्हमा मतदान गरि विजयी गराउन समेत आग्रह गरेका थिए । उपमेयर उम्मेदवार सकुन्तला शर्माले नगरको विकास गर्न आफ्नो सक्दो प्रयास रहने बताइन् । सबैको सुख दुखमा साथ दिने पार्टी भएकोले कांग्रेसलाई जिताउनुपर्नेमा उनले जोड दिइन् । नगर समन्य समिति सभापति महेन्द्र आर्चाय,महिला सघंका केन्द्रिय सदस्य पार्वती आचार्य लगाएतले पनि कार्यक्रममा बालेका थिए । बानपा ५ का सभापति मुक्तिराम सापकोटाको अध्यक्षता र हिरा सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
एमालेलाई समर्थन गर्दै माओवादी अध्यक्षद्धारा उमेद्वारी फिर्ता
काठेखोला गाउपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवारलाई समर्थन गर्दै नेकपा माओवादी केन्द्रका उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । चुनावी तालमेलका क्रममा तीन बामपन्थी दलहरु संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने सहमति अनुसार माओवादी केन्द्रका अध्यक्षका उमेदवार लिलाराम सुनारले एमालेका उमेदवार अम्मरबहादुर थापालाई समर्थन गरेका हुन् । काठखोला गाउँपालिका वडा नं. ७ रेशमा मंगलवार आयोजित चुनावी सभामा बोल्दै सुनारले थापालाई समर्थन गरेको बताउदै सबैले अम्मर थापाको सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आव्हान गरे । चुनावी सभामा बोल्दै पूर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले स्थानीय निकाय निर्माणको लागि संयुक्त बाम प्यानललाई मतदान गर्न आग्रह गरेका थिए । पूर्व उर्जा राज्यमन्त्री शर्माले देश निर्माणको लागि नेकपा एमालेसँग स्पष्ट खाका रहेको बताउँदै अब देशको विकास र स्वाधिनताको रक्षा नेकपा एमालेले मात्र गर्न सक्ने बताउँदै नेकपा एमालेलाई भारी मतले विजयी गराउन अनुरोध गरेका थिए । चुनावी सभामा नेकपा माओवादीका केन्द्रिय सदस्य कृष्ण बहादुर केसी, नेकपा एमालेका उर्जा तथा जल स्रोत विभागका सदस्य हिरा बहादुर केसी, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष डिल बहादुर कार्की, नेकपा एमाले काँठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, पूर्व जिविस सदस्य हरि बहादुर कार्की, काँठेखोला गाउँपालिकामा संयुक्त बाम प्यानलका अध्यक्षका उम्मेदवार अमर थापा, उपाध्यक्षका उमेदवार अर्जुन बहादुर खत्री, काँठेखोला गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षका उमेदवार प्रेम लामिछाने लगायतले बोलेका थिए । उक्त अबसरमा काँठेखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएका लिलाराम सुनारले आफ्नो उम्मेदवारी फिर्ता गर्दै संयुक्त बाम प्यानलका अध्यक्षका उम्मेदवार अमर बहादुर थापालाई सहयोग गर्ने घोषणा गरेका थिए । नेकपा एमाले काँठेखोला गाउँपालिका वडा नम्बर ७ का वडा कमितिका अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभा कार्यक्रमको स्वागत क्षेत्रीय सदस्य सदस्य हरि बहादुर कुँवर र संचालन वडा कमिटिका सचिव भुमिराज गौतमले गरेका थिए ।
माओवादी केन्द्रको चुनावी आमसभामा गलकोट पाण्डवखानीमा
माओवादी केन्द्रको उपहार, गाउ नगरमा सिंहदरबार’ भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाले पाण्डवखानीमा चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभालाई बोल्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाका मेयर पदका उम्मेदवार फमलाल न्यूरे र उपमेयर पदका उम्मेदवार ललिता थापाले यहि वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गोलाकार भित्रको हसिया हथौडामा मतदान गरि सम्वृद्व गलकोट निर्माणको अभियानमा सहयोग गर्न अपिल गरेका छन । चुनावी सभामा नेकपा एमालेका वडा अध्यक्ष खडग सिंह श्रीस, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष छम बहादुर काउचा, राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष पृथ सिहं श्रीस, नेकपा माओवादी केन्द्रका विदेश विभाग जापानका संयोजक हर्क थापा, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेती, गलकोट नगरपालिकाका उपमेयरका उम्मेदवार ललिता थापा, मेयरका उम्मेदवार फमलाल निउरेले मन्तव्य राखेका थिए । सभा लाल बहादुर विश्वकर्माको अध्यक्षता, पृथसिंह श्रीसको स्वागत मन्तव्य र जीवन श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।
मल्ममा नेपाली काग्रेसको
चुनावी सभा
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भन्ने मुल नाराका साथ नेपाली काग्रेस गलकोट नगरपालिकाको आयोजनामा वडा नं ७ मल्ममा चुनावी सभा सम्पन्न भएको छ । सभामा बोल्दै नेपाली काग्रेस गलकोट नगरपालिकाका चुनाव प्रचार अभियान संयोजक फम बहादुर खत्रीले आसन्न स्थानीय तहको निर्वाचनमा रुख चिन्हमा मतदान गरी नेपाली काग्रेसलाई विजयी गराउन गरेका छन । कार्यक्रममा नेपाली काग्रेस वडा नं ९ का सभापति यज्ञ सापकोटा, वडा नं ७ का अध्यक्षका उमेदवार हरिदत्त गौतम, गलकोट नगरपालिकाका उपमेयरका उमेदवार रेणुका काउचा, मेयरका उमेदवार भरत शर्मा गैरे, पूर्व जिल्ला सदस्य मुकुन्द भण्डारी, पूर्व क्षेत्रिय सभापति घनश्याम गौतम, महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसेले चुनावी मन्तव्य राखेका थिए । सो अवसरमा सहिद कृष्ण बहादुर थापाको धर्मपत्नी खगीसरा थापालाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिका वडा नं ७ का सभापति चिरञ्जीवी मरासिनीको अध्यक्षता, उपसंयोजक वसन्त केसीको स्वागत र सदस्य रत्न बहादुर मल्लको सञ्चालनमा सम्पन्न भएको छ ।
Previous Article२७ बैशाख २०७४, ढोरपाटन दैनिक
Next Article एमाले–माओवादी गठबन्धनको रायखोरमा आमसभा