बागलुङ, २६ बैशाख – काठेखोला गाउपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवारलाई समर्थन गर्दै नेकपा माओवादी केन्द्रका उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।
चुनावी तालमेलका क्रममा तीन बामपन्थी दलहरु संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने सहमति अनुसार माओवादी केन्द्रका अध्यक्षका उमेदवार लिलाराम सुनारले एमालेका उमेदवार अम्मरबहादुर थापालाई समर्थन गरेका हुन् ।
काठखोला गाउँपालिका वडा नं. ७ रेशमा मंगलवार आयोजित चुनावी सभामा बोल्दै सुनारले थापालाई समर्थन गरेको बताउदै सबैले अम्मर थापाको सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आव्हान गरे ।
चुनावी सभामा पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण बहादुर केसी, नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिरा बहादुर केसी, नेकपा एमाले काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष डिल बहादुर कार्की, पूर्व जिविस सदस्य हरि बहादुर कार्की लगायतले समृद्ध काँठेखोला गाउँपालिका निर्माणका लागि साझा उमेदवारलाई विजयी गराउन आव्हान गरेका थिए ।
कार्यक्रममा काँठेखोला गाउँपालिकामा संयुक्त बाम प्यानलका अध्यक्षका उम्मेदवार अमर बहादुर थापा, उपाध्यक्षका उमेदवार अर्जुन बहादुर खत्री, काँठेखोला गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षका उमेदवार प्रेम लामिछाने काँठखोलाको समग्र विकासका लागि आफ्नो प्रतिवद्धता व्यक्त गरेका थिए ।