कुलमान घिसिङ
हामीले अहिले किन्न खोजेको बल्बको ‘रिप्लेसमेन्ट वारेन्टी’ तीन वर्ष छ। तीन वर्षसम्म कुनै पनि बल्ब बिग्रियो भने कम्पनीले ‘रिप्लेस’ गर्नुपर्ने हुन्छ। सरकारी कम्पनीले कुनै पनि प्राइभेट कम्पनीसँग डाइरेक्ट सम्पर्क गर्न सक्दैन। सरकारी कम्पनीले सरकारी कम्पनीसँगै कारोबार गर्ने हो। सरकारी कम्पनीसँग गर्दा जुन कस्ट छ, एक वर्षमा तीन रूपैयाँदेखि चार रूपैँयासम्म रिप्लेस्मेन्ट कस्ट पर्छ। तीन बर्षको १० देखि १२ रूपैंया रिप्लेसमेन्ट कस्ट पर्छ। बाहिर बजारमा वारेन्टीबिनाका बल्बहरूको सप्लाइ भइरहेको छ। पावर फ्याक्टर पोइन्ट नाइन छ। यसको अर्थ बल्ब गुणस्तर र मुल्यका हिसाबले एकदमै सस्तो छ।
क्याबिनेटले स्वीकृत गरेपछि मात्र यसको कार्यान्वयन हुने हो। इन्डियन सरकारले नै एलइडी बल्बको मुल्य फिक्स गरेको हुन्छ। उसले फिक्स गरेको रकम जहाँसुकै एउटै हुन्छ, त्यसभन्दा कममा दिँदैन। यो बिषयमा हामीले धेरै छलफल गरेका थियौं। उहाँहरूसंग भएका पटकपटकका छलफलमा पनि हामीलाई प्रष्ट भन्नुभएको थियो, हामीलाई घाटा भएपनि नाफा भएपनि यसको मुल्य एउटै हुन्छ भनेर। अर्थात् सरकारले तोकेको मुल्य। अलिकति मार्जिन राख्दापनि त्यसको मुल्यमा धेरै फरक पर्दैन भनेर उहाँहरूले भन्नुभएको थियो। सम्झौता अनुसार हामी १३५ देखि १४० रूपैंयासम्ममा यो बल्बलाई डिस्ट्रिब्युट गर्न सक्छौं जब कि यसको बजार मुल्य एकदमै महंगो छ।
उर्जा मन्त्रालयमा हामीले जे गरिरहेका छौं पछिल्लो समय यसमा तपाईँहरूको पनि ठूलो सहयोग छ। धेरै ठूलो अभियान सञ्चालन गरेर हामीले केही हदसम्म नेपाली जनतालाई लोडसेडिङबाट मुक्त गर्न सकेका छौँ। यो मेरो एक्लो प्रयास पनि होइन, हामी सबैको प्रयासले यसमा सफलता हात लागेको हो। यसमा हाम्रो कुनैपनि कुनियतले काम गरेको छैन। हामीले धेरै इमानदार भएर काम गरेका थियौँ र काम गरिनै रहनेछौँ। यदि हामी अलिकति मात्र दायाँबायाँ गरेका हुन्थ्यौँ भनेपनि नेपालमा लोडसेडिङ सहजै रूपमा अन्त्य हुनेवाला थिएन। हामीले एउटा बल्बमा नेपाली जनताबाट पैसा खानुपर्ने आवश्यकता छैन। पैसै खानुपर्ने थियो भने मैले नेपाली जनताबाट या बिजुलीको लिडबाट पैसा खानुपर्ने थिएन। मैले चिलिमेदेखि सिकेको के हो भने पैसा नै खानु थियो भने जनताको पैसा खानुपर्दैन थियो। म चुप लागेर बसेको वा दुई चार घण्टा लोडसेडिङ गरेर बसेको भएपनि भएपनि करोडौं रूपैयाँ कमाएर बस्थें होला। इमानदार भएर लाग्दाखेरी हाम्रो टिमलाई जुन आरोप लागेको छ त्यसमा कुनै सत्यता छैन। तपाईँ पत्रकार साथीहरूले हाम्रो समुहलाई निरूत्साहित गरेर जनताको बिचमा जानुहुन्छ भने भोलीको दिन के हुन्छ? भोलिको दिन नेपालमा काम गर्न गाह्रो छ। आउँदा दिनहरू पनि गाह्रा छन्। हामीलाई निरूत्साहित गर्ने फ्याक्टरले काम गर्यो भने भोलीका दिन झनै गाह्रा हुनेछन्।
हिजो हामीले लोडसेडिङ अन्त्य गरेका कारण बेफाइदा भएका साथीहरू पनि हुनुहुन्थ्यो। त्यसबेला उहाँहरू धेरै बोल्नुभएको थिएन। सोलार, इन्भर्टर र जेनेटरका ब्यापारी साथीहरूलाई एकैचोटी लोडसेडिङ अन्त्य हुँदाखेरि ठूलो चोट लागेको थियो। आज लिडको ब्यापारमा पनि धेरै व्यापारी साथीहरू हुनुहुन्छ। हामीले बल्ब ल्याएर उहाँहरूको लिडको ब्यापार समाप्त हुने होइन। हामीले उहाँहरूको ब्यापार चौपट बनाउनका लागि बल्ब ल्याउन लागेको होइन। नेपाली जनतालाई सस्तोमा राम्रो सामान उपलब्ध गराउन र विद्युत किफायतका लागि हो। साथै एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्नका लागि समेत हो। दुई बर्षभित्रमा त धेरै कुरा आउनेछ। तामाकोसी लगायतका प्रोजेक्टहरू आउनेछन्। नेपाली जनतालाई लोडसेडिङबाट मुक्ति दिलाउन भनेर सफा नियतका साथ ल्याइएको योजनालाई देख्दादेख्दै बंग्याएर जुन कुराहरू बाहिर ल्याइएको छ, यसले धेरै चित्त दुखेको छ। उहाँहरूको ब्यापार चल्छ, सबैको ब्यापार चल्छ। विद्युत प्राधिकरणले ब्यापार गर्न लागेको होइन। विद्युत प्राधिकरणले उज्यालो अभियानलाई सफल बनाउन र लोडसेडिङ अन्त्य गर्ने घोषित योजनालाई सार्थक बनाउन मिहिनेत गरेको हो।
अर्को कुरा इन्डियन गभर्मेन्टले हामीलाई कमिसन दिने भन्ने कुरा पनि चलाइएको छ। यदि यो कुरा प्रमाणित भयो भने म देश छोड्न तयार छु। हामा्रे कुनियत छैन, यदि कसैले कुनियत देख्नुभएको छ भने प्रमाणित गर्नुभए हुन्छ। दुई करोड नेपाली जनतालाई लिड बाँड्दा हामीले दुई, सवा दुई अरब रूपैंया उठाउँछौं। त्यही दुई करोड संख्याका लिड बल्ब बजारबाट जाने हो भने करिब आठ दश अरब रूपैंया तिर्नुपर्छ। हामीले नेपाली जनतालाई ठग्नका लागि यो मुल्य ल्याएको होइन। हामीले यो मुल्य कायम गर्नासाथ धेरै कुराको मुल्यमा प्रतिष्पर्धापनि हुन्छ। हामीले यो मुल्य कायम गर्न सक्यौं भने भोली नेपाली जनतालाई धेरै सस्तोमा राम्रा–राम्रा बल्ब पाउने अवस्था हुन्छ। कसैले पनि जिब्रो चपाएर कुरा गर्नु आवश्यक छैन। हामीले ल्याउने भनेको यो लिड बल्ब कसैले पनि ३८ रूपैंयामा ल्याउनुहुन्छ भने म विद्युत प्राधिकरणको सम्पूर्ण शक्ति त्यहीँ लगाइदिन्छु, तपाईँहरू बाँड्नुस्। ३८ होइन १५० मा ल्याउनुहुन्छ भनेपनि बाँड्नुस् हामी लिन्छौं।
बजारमा बिश्वासै गर्न नसकिने उत्पादनहरू पनि आएका छन्। ९ वाट भनेर १८ वाट खपत गरिरहने, पावर फ्याक्टर पोइन्ट फाइभ भइरहने हो भने हाम्रो सिस्टममा के हुन्छ? न ग्राहकलाई फाइदा, न सिस्टमलाई फाइदा न लोडसेडिङबाट मुक्ति।
हामीले २०० मेगावाट बचत गर्ने भनिरहेका छौं। सुख्खा समयमा २०० मेगावाट पावर प्लान्ट ल्याउनलाई हामीले करिब ६०० मेगावाटको पावर प्लान्ट बनाउनुपर्छ। ६०० मेगावाटको पावर प्लान्ट बनाउन खरबौं रूपैंया लाग्छ। अहिले हामीले २०० मेगावाट बिना लगानी बचत गरेर नेपाली जनतालाई उज्यालोमा राख्नका लागि प्रयत्न गर्दा चरित्र हत्या गर्ने प्रयास भयो र म यसमा ज्यादै दुःखी छु। म नेपाली जनतासंग के अनुरोध गर्छु भने यदि यसमा हाम्रो कुनै कुनियत भेटियो भने झुण्ड्याइदिए हुन्छ हामी झुण्डिन तयार छौं। तर जानिजानि बुझिबुझि यस्तो प्रचार नगरिदिनु हुन पत्रकार साथी र आम पब्लिकलाई पनि हाम्रो आग्रह छ।
हामी विद्युत उत्पादनमा लाग्ने हो लिड बल्ब ब्यापारमा लाग्ने होइन। यहाँ पैंतिस लाख ग्राहक छ, अहिले जति पनि लिड बल्बको बिक्रि भइरहेको छ यो नयाँ घर बनाउने ग्राहकलाई मात्र गइरहेको छ। जसको ल्याम्प फुटेको छ त्यसको रिप्लेसमेन्टमा मात्र गएको छ। हामीले त्यो सबै रिप्लेस गर्नुपर्छ भनिरहेका छौं। इन्टरभेन्सन नभइ रिप्लेसमेन्ट हुँदैन। पब्लिकले ४०० मा किनेर पब्लिकले रिप्लेस गर्न सक्दैन। त्यो इनटरभेन्सन भनेको हामीले सस्तोमा दिएर गर्नुपर्छ भनेर लागिरहेका छौं।
सिएफएल पनि हामीले किनेरै इन्टरभेन्सन गरेको हो त्यसपछि हामीले मार्केटमा छोड्यौं। यसलाई हामीले प्रतिष्पर्धाका लागि ल्याउन खोजेको हो जसमा हाम्रो कुनैपनि स्वार्थ छैन। सबैले यसरी नै बुझिदिनुहुन अनुरोध गर्छु। हामीले यसलाई दुईचरणमा ल्याउने भनेका छौं। पहिलो चरणमा एक करोड ल्याउने र त्यसको प्रभावकारिता हेरेर थप एक करोड ल्याउने। हामीले नेपाली बल्ब कम्पनीलाई किन प्रोत्साहित गरेनौं भन्ने जायज प्रश्न उठेको छ। हामीले नेपाली बल्ब कम्पनीलाई समाप्त गर्न खोजेको पनि होइन। नेपाली बल्ब कम्पनीको गुणस्तर पनि हेर्नुपर्ने हुन्छ। हामीले लिड बल्बद्वारा एक पटक हस्तक्षेप गर्न खोजेका हौं। एकपटक लिड बल्ब प्रयोग गरिसकेपछि नेपाली उपभोक्ताले अरू बल्ब नै प्रयोग गर्नुहुन्न। अहिले युरोपमा सिएफएल त प्रतिबन्धित नै छ।
शुरूमा उहाँहरू कम्पनीको तर्फबाट हामीलाई पैसामात्र दिनुस् हामी नै डिस्ट्रिब्युट गरिदिन्छौं भनेर आउनुभएको थियो। तर हामीले त्यसलाई स्वीकार गरेनौं। डिस्ट्रिब्युट गर्नका लागि हाम्रो आफ्नै च्यानल छ। हाम्रो आफ्नै बुथ छ। मिटर रिडरबाट पनि अगाडी बढ्न सकिन्छ। त्यसलाई मिटर रिडरले पनि सेल गर्न सक्छ।
लिड बल्ब विक्रीकर्ताले विभिन्न समयमा बिभिन्न मुल्य निर्धारण गरेका छन्। यो प्राइस लिस्टमा २०१४ जनवरीमा मा सात वाटको ३१० रूपैंया छ। २०१४ को अगस्टमा २०४ छ, नोभेम्बरमा पनि २०४ नै छ। ३१० चाहिँ ८ बर्षको रिप्लेसमेन्ट वारेन्टीका कारण भएको रहेछ। २०१६ को अप्रिलमा ५५ रूपैंयामा आएको छ। एकपटक ३८ रूपैंया पनि तोकिएको छ लगत्तै ४५ बनाइएको छ। उहाँहरूले दिने भनेको ६५ रूपैंया फिक्स्ड मुल्य हो। फेरि तीन बर्ष रिप्लेस्मेन्ट वारेन्टीको कुरा छ। हेटौंडासम्म उनीहरूले नै सप्लाइ गरिदिने हो। उनीहरूले पनि एक्स्क्लुडिङ ट्याक्स तिनुपर्छ, भ्याट तिर्नुपर्छ। उनीहरूले कुनै हालतमा त्यो भन्दा घटीमा दिने अवस्था छैन। नाफा भएपनि घाटा भएपनि उनीहरूले ६५ रूपैंयामा दिनुपर्छ।
हामीले टेन्डर गरेको भए तीनवटा कुरा हुन्थ्यो। पहिलो हामीले फिक्स्ड रेटमा लिन सक्दैनथ्यौं। त्यस्तै खरिद ऐनले कुनै ब्रान्ड तोक्न दिँदै दिँदैन। त्यसले गुणस्तर नभएका बल्ब कम्पनीहरू पनि आउने भए। अनि गुणस्तर नभएका बल्बहरू बिक्री गर्नुभन्दा त्यो काम नगर्नु जाति हुन्छ। अहिलेको मुल्य पनि सस्तो छ। त्यस्तै समयको हिसाबले त्यो हामीलाई तत्काल चाहिने हो त्यो सम्भव भएन। तत्काल सम्भव नभइसकेपछि अर्को बर्ष चाहिन्छ। सबै कुरालाई ख्याल गरेर नै यो प्रकृया अगाडि बढाइएको हो।
नेपाल सरकारले किन्ने समझदारी गरेपछि पनि बाध्यकारी रूपमा किन्नै पर्छ भन्ने छैन। यदि हाम्रा ब्यापारी साथीहरूले फिलिप्स र ओसाम ब्रान्ड १५० रूपैंयामा दिन्छौं भनेर आउनुहुन्छ वा अरू प्रस्ताव लिएर आउनुहुन्छ भनेपनि हामी त्यसका लागि तयार छौं। हाम्रा लागि मुख्य कुरा लोडसेडिङ अन्त्य गर्नु हो। हामीलाई त्यहाँबाट एक रूपैंया पनि कमाउनु छैन। (मंगलबार पत्रकार सम्मेलनमा व्यक्त विचार)
कमिसन खाएको प्रमाणित भए देश छाड्छु – कुलमान
Previous Articleसात पदमा मत दिने यस्तो छ सजिलो तरिका
Next Article चुनाव गराउन पोखराका कर्मचारी हिँडे कार्यक्षेत्रतिर