अवको दुई हप्तामा स्थानीय तहको निर्वाचनबाट गाउँ नगरमा नयाँ नेतृत्व आउँदैछ । वास्तवमा यो निर्वाचनले ल्याएको सबैभन्दा सकारात्मक कुरा शक्तिको केन्द्र माथिबाट तल सर्नु हो । अव स्थानीय तहको प्रतिनिधीले व्यवहारिक रूपमा काम गरेर देखाउने ठाउँ पाउँछ र नेतृत्वको विकास हुन्छ । यो अवसर अहिलेसम्म माथि मात्रै थियो । अब निर्वाचित भएर आउनेलाई जनताको सम्पर्कमा आउन कर लाग्छ । जनताका चाहना र सम्भावनाहरू बुझ्ने र तिनलाई कसरी आर्थिक कार्यक्रममा अनुदित गर्ने भन्ने अवसर हुन्छ । यसले नयाँ प्रकारको नेतृत्व विकास हुन्छ । कम्तीमा चार पाँच वर्षमा गाउँपालिका र नगरपालिकाले दिएको विशाल अधिकार कसरी प्रयोग गर्ने, के गर्ने भन्नेमा अलिकति अभ्यासको खाँचो छ । अभ्यासपछि नै तिनीहरूले आफ्नो अधिकार माथि जान दिँदैनन् । किनकी हरेक ठाँऊमा नयाँ नेतृत्व विकास हुँदैछ, सबैभन्दा ठूलो आशा यसैमा छ । अझै पनि पार्टीका माथिल्ला नेताहरूमा पुरानै सोच र केन्द्रीकृत योजना निर्माणको सोच ज्यूँदैछ । जुनजुन गाउँ वा नगरपालिकामा नयाँ नेताहरू निर्वाचित हुन्छन, तिनले नयाँ प्रकारले काम गर्न थाल्नेछन, त्यही कुराले भोलिको नेतृत्व विकास गर्नेछ भन्ने विश्वास लिनु पर्दछ ।
नेपालमा झण्डै दुई दशकअघि भएको स्थानीय निकायको निर्वाचनपछि हालसम्म कुनै पनि जनप्रतिनिधि स्थानीय तहमा चुनिएन । सबै नेताहरू ‘पुस’ र ‘पुल’ (नेताहरूबाटै तान्ने–घचेट्ने) बाट स्थापित भए । त्यसकारण सबै मान्छेको राजनीतिक आकांक्षा माथिमाथि भयो । अहिलेको स्थानीय तहको व्यवस्थाले अबको नेतृत्व तलबाट आउनेछ । यो कुरा दलहरूले आत्मसात गरेकै छैनन् । त्यो आत्मसात गरेका हुन्थे भने उनीहरूले आफ्नो योजना र घोषणापत्रहरू तल्लो कमिटीबाटै ल्याउँथे, अहिले केन्द्रबाटै सार्वजनिक गरेका छन् । योजना भनेको तलबाट मात्रै विकास भएर माथि जाने पनि होइन, माथिबाट मात्रै तल जाने पनि होइन । माथिको कुनै बृहद् सोच छ भने त्यसलाई तलको यथार्थसँग जोड्नुपर्छ र तलको सोचलाई माथिको यथार्थसँग जोडेर बीचमा समायोजन गरेर योजना बनाउनु पर्छ । त्यस्तो प्रयत्न भएको भए पार्टीहरूले केन्द्रमा घोषणापत्र निकाल्दैनथे । संघीयतामा तलको यथार्थ र सोचलाई माथिको यथार्थ र सोचसँग जोड्नुपर्छ भन्ने विचार राख्ने व्यक्तिका लागि अहिलेको दलहरूको अभ्यास विकर्षण लाग्छ । गाउँपालिका नगरपालिकाका आफ्ना विशिष्टता छन, आवश्यकता छन, तिनको फरक–फरक योजना हुनुपथ्र्यो । प्रमुख पार्टीहरूले त्यसरी सोचेको देखिएन ।
अब गाउँ र नगरमा आउने नेतृत्वमा नयाँ प्रकारको केही गर्छु भन्ने जोश चाहिन्छ । उम्मेदवार आशावादी हुनु आवश्यक छ । नेपालमा अहिले सबैतिर निराशावादी कुरा हुन्छन् । हरेक कुरालाई नकारात्मक सोचले हेर्ने चलन धेरै छ । गाउँ र नगरपालिकाले गर्न सकिन्छ भन्ने जोश भएका, सकारात्मक सोच भएका र बढी आशावादी नेता खोजिरहेको छ । आँट र अनुभव भएको उम्मेदवार भयो भने उसले केही गर्न सक्छ । किनभने ऊ नै भोलिको देशको नेता हो । प्रत्येक गाउँपालिका र नगरपालिकाको यथार्थ जे छ, त्यो यथार्थलाई आत्मसात गरेर, त्यहाँभित्रका समस्या बुझेर, त्यो समस्याको समाधान गर्ने उपाय के हुन् भन्ने कुरालाई समेत संश्लेषण गरेर जान सक्ने एउटा प्राथमिकताको बाटो रोज्नुपर्छ । हुन त यो एउटा अभ्यास हो । अहिले नै पार्टीहरू र उम्मेदवारहरूले यसको महत्वलाई धेरै बुझेका छैनन् । यसको महत्व भनेकै अभ्यासमा छ, अभ्यासमा जाँदा नै सवैले यसलाई बुझ्नेछन् । कुनै पनि गाउँपालिका नगरपालिकाले आफूलाई नमूना बनाउन सक्छन् । तर त्यसका लागि स्रोत चाहिन्छ । स्रोतको विकास गर्न सके भने त्यस्ता नमूना गाउँ वा नगर हुन सक्छन् । अहिलेका उम्मेदवारले यही कुरामा जोड दिन जरुरी छ ।
Previous Article२०७४ बैशाख २१ बिहीबारको राशिफल
Next Article संघीयतामा कस्तो भू–संरक्षण र जलाधार व्यवस्थापन ?