काराकास, २० वैशाख – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले नयाँ संविधान बनाउनका लागि संविधानसभा गठन गर्न आह्वान गरेका छन् । लामो समयदेखि मुलुकमा उत्पन्न राजनीतिक संकट समाधानका लागि संविधानसभा गठन गर्नुपरेको राष्ट्रपति मादुरोले वुधवार स्वीकार गरेका छन् ।
भेनेजुएलाको भविष्यका बारेमा निर्णय गर्न उनले फरक फरक राजनीतिक दल र सामाजिक समूहहरूलाई आह्वान गरेका छन् । ‘मुलुकको आवश्यकता, उपलब्धिहरूको रक्षा र शान्ति स्थापनाका लागि वर्तमान संविधानअनुसार म आह्वान गर्दछु’ मादुरोले भने । मादुरोले देशमा शान्ति कायम गर्न र फाँसीवादी तागतलाई परास्त गर्न आफूले यस्तो कदम उठाएको उनको भनाइ थियो ।
सम्प्रभु जनतालाई शान्ति र सौहार्द पूर्ण वातावरण तयार गर्न आफूले आह्वान गरेको उनले बताए । भेनेजुयलाको सरकार जनताको पक्षमा रहेको उनले दाबी गर्दै जनताको चाहना बमोजिम संविधानसभा गठन गर्न खोजेको बताए । सत्तारुढ दल समाजवादी पार्टी र प्रतिपक्षीबीच केही सातादेखि द्वन्द्व भएपछि सुरु भएको थियो ।
समाजवादी पार्टीले प्रतिपक्षीहरू दक्षिणपन्थी दल भएको आरोप लगाउँदै आएको छ भने विपक्षीहरूले समाजवादको नाउँमा सत्तारुढ समाजवादी पार्टीले तानाशाही शासन चलाएको भन्दै विरोध गरेका थिए । आन्दोलनका कारण केही समयदेखि भेनेजुएलामा कामकाज ठप्प छ । प्रायजसो प्रमुख सहरमा प्रदर्शन र भिडन्त हुने गरेका छन् । सरकारविरोधी आन्दोलनका क्रममा अहिलेसम्म भेनेजुएलामा २९ जनाको मृत्यु भएको छ । अभावका कारण कैयौं कारागारमा सुरक्षाकर्मी र बन्दीबीच भिडन्त भएका छन् । गत सातामात्र पूर्वी प्रदेश अन्जोआटेगुईमा रहेको जेसो अन्टोनिओ अन्जोअटेगुई कारागारमा भएको झडपमा १२ जना मारिएका थिए ।
पेट्रोलियम पदार्थका कारण कुनै बेला दक्षिण अमेरिकामा निकै सम्पन्न मुलुकको आर्थिक अवस्था हाल अस्तव्यस्त रहेको छ । खाद्यान्न अभावका कारण भेनेजुएलाका जनता पीडित भएका छन् । यहाँका जनता ब्रेडका लागि एकाबिहानै कैयौं किलोमिटर लामो लाइन लाग्न बाध्य भएका छन् । ह्युगो चाभेजको शासनकालमा भेनेजुएला समाजवादी व्यवस्थाका लागि निकै आदर्श मानिन्थ्यो । एजेन्सी
Previous Articleचुनावको मुखमा गृहमन्त्रालय खाली, नयाँ को बन्ला ?
Next Article अब नेपालमै बजाजको बाइक उत्पादन