बागलुङ, १५ वैशाख-मनसुन सक्रिय भएपछि हुन सक्ने बाढी पहिरो लगायत दैविप्रकोप नियन्त्रण र उद्दारका लागि बागलुङ जिल्लामा तयारी तिव्र पारिएको छ । तयारीका लागि दैवीप्रकोप उद्धारका लागि सवै क्षेत्र तयार रहन समेत जिल्ला जिल्ला दैविप्रकोप उद्दार समितिले सबैलाई आग्रह गरेको छ । बिहिवार बसेको समितिको बैठकले आगामी दिनमा पर्न सक्ने सबैप्रकारका समस्या समाधानका लागि एकद्वार प्रणाली मार्फत सहयोग गर्ने पद्दतीको विकास गर्ने पनि निष्कर्ष निकालेको छ । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय तहबाट आएका निर्देशनको आधारमा रहेर प्रकोप नियन्त्रणका लागि सबै सक्रिय रहन निर्देशन समेत दिइएको हो । बैठकमा सहभागि भएका जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम, जनशक्ति, उद्दार सामाग्री तथा जुटाएको जिन्सी समेत जिल्ला प्रशासनकै रोहवरमा संकलन गरेर वितरण गर्ने प्रणाली विकास गर्न पाण्डेयले निर्देशन दिए । गत बर्ष बुर्तिवाङ, अधिकारीचौर, बुंगादोभान लगायतका स्थानमा भएका घटनामा प्रसस्त राहत सामाग्री वितरण गरेपनि कसले कति सहयोग गरेको भन्ने तथ्यांक राख्न नसकेपछि अन्यौलता भएको थियो । समयमै संकलित सामाग्रीको रेकर्ड राख्ने र वितरणको पनि रेकर्ड राख्न सकेमा पिडितलाई पनि एकमुण्ट सहयोग गर्न सकिने उनले जानकारी दिए । सुख्खा मौसममा हुन सक्ने आगलागी, डडेलो जस्ता प्रकोपबाट करोडौंको नोक्सानी हुने भएकोले आगो निभाउने अभियानमा जिल्ला वन कार्यालयले सहयोग गर्ने सहायक वन अधिकृत रामबहादुर विकले बताए । आवस्यक सामाग्री, दक्ष जनशक्ति र सहयोगीलाई यातायात खर्च समेत कार्यालयले सहयोग गर्ने बताएका थिए । गैरसरकारी संस्थाहरुले दिने सहयोगलाई एकीकृत गरेर वितरणको व्यवस्था गराउने सिवाईसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिएका थिए । उक्त अभियानमा क्रियाशिल गैसस र प्लान इन्टरनेशनलले पनि कम्तिमा १ सय परिवारका लागि सहयोग गर्न सक्ने सामाग्री रहेको जानकारी क्षेत्रीय प्रवन्धक नितु आचार्यले जानकारी गराईन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सभापति जब्बरबहादुर लामिछानेले पनि रेडक्रसबाट हुने सहयोग बारे जानकारी गराएका थिए । जिल्ला भूसंरक्षणले बाढी पहिरोको जोखिमका क्षेत्रको पहिचान र खोजी गरिरहेको प्रमुख शेरबहादुर श्रेष्ठले जानकारी गराए । अन्य कार्यालय र उद्योग बाणिज्य संघले पनि राहत र उद्दारका लागि आवस्यक पर्ने सहयोग गर्ने प्रतिवद्दता जनाएका थिए । सबै संस्थाले गरेको सहयोग देखिने र रेकर्डमा रहने भएकोले जिल्ला दैविप्रकोप उद्दार समितिमा दर्ता गराउन प्रजिअ पाण्डेयले आग्रह गरे ।