बागलुङ, १३ बैशाख – निर्वाचन आयोगमा नाम जुधेपछि राष्ट्रिय जनता पार्टीले दलको नाम पछाडि नेपाल थप्ने निर्णय गरेको छ । बुधबार राजधानीमा बैठक गर्दै राजपा अध्यक्षले अब दलको नाम राजपा नेपाल राख्ने निर्णय गरेका हुन् । नेता वृषेशचन्द्र लालले बुधबारै नया नामबारे निर्वाचन आयोगलाई जानकारी दिएको बताए । वैशाख ७ गते एकीकृत राजपाको नाम जुधेपछि विवादमा परेको थियो ।
‘हामीले दलको नाम परिमार्जन गर्दै राजपा नेपाल राखेर निर्वाचन आयोगमा जाने निर्णय गर्यौं, अब संविधान संशोधन प्रक्रिया टुंग्याएर निर्वाचनको वातावरण बनाउन आग्रह छ,’ लालले भने । बैठकपछि लक्ष्मणलाल कर्ण लगायत नेता आयोग कार्यालय पुगेर नया नामबारे जानकारी गराएका थिए । उनीहरुले संशोधन प्रक्रिया नटुंगिइसकेका कारण स्थानीय चुनावका कार्यक्रम केही समय सार्न आग्रह पनि गरे । राजपा र संघीय समाजवादी फोरमले पहिले विधेयक टुंग्याउने शर्तसहित शनिबार बालुवाटारमा राजनीतिक सहमति गरेका थिए ।
नेता लक्ष्मणलाल कर्णले दलको औपचारिक दर्ता नभइसके पनि निर्वाचन आयोगलाई नया नामबारे जानकारी दिएको बताए । ‘पार्टीको नाम अहिले नै दर्ता भइसकेको छैन, तर यससम्बन्धी प्रक्रिया प्रारम्भ भयो,’ उनले भने, ‘हामीले पार्टी एकता गरेको जानकारी निर्वाचन आयोगलाई औपचारिक रुपमा दियौं । अब संविधान संशोधन भएपछि आयोगमा औपचारिक रुपमा नाम र चुनाव चिह्न दर्ता प्रक्रिया अघि बढ्ने छ ।’ आयोगले भने मतपत्र छाप्ने प्रक्रिया अघि बढिसकेकाले दल र चुनाव चिह्न समेट्न नसकिने प्रतिक्रिया दिएको स्रोतले बतायो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको वक्तव्य अनुसार राजपा नेपालका नेताहरुले दल एकीकरण भएको बारे आयोगलाई औपचारिक जानकारी गराएको उल्लेख छ ।
नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको राजपा नामकै दललाई गत चैत २ गते निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरी दिएको पत्रमा उक्त पार्टी दर्ता भएको देखिएपछि मधेसी दल विकल्प खोज्ने बाध्यतामा पुगेको हो । नाम दोहोरिने अवस्था आएमा पछिल्लो दलले नाम परिवर्तन गर्नुपर्ने प्रावधान बमोजिम राजपा नेपालका रुपमा परिमार्जित भएको् हो ।
राजपाले आफूले माग गरेको चुनाव चिह्न छाता नै पाउनुपर्ने दाबी गरिरहेको छ । चुनाव चिह्नका लागि संघर्ष गरिरहेको नया शक्ति पार्टी भने तत्काललाई संघीय समाजवादी फोरमकै चिह्न मशाल लिएर लड्ने निर्णय गरेको छ ।
‘तर हामी नया शक्तिजस्तो नया पार्टी होइन, पुरानै पार्टीहरु एकता भएर गएको हुनाले निर्वाचन आयोगले सहुलियत दिनुपर्यो भन्ने कुरा राख्यौं,’ राजपान नेता राजकिशोर यादवले भने, ‘हामी चुनावमा भाग लिनु भनेको संविधानको सर्वस्वीकार्यता बढाउने राजनीतिक लडाइकै भाग हो । चिह्नको विषय बाबुरामजीको हकमा लागू भए पनि हामी त पुरानै पार्टी मिलेर एकता गरेका हौं ।’ यादवले राजपा चुनावमा जान चाहेकाले आयोगबाट केही समय पाउनुपर्ने बताए ।