बीसबर्ष अघिदेखि सडकको संजाल निर्माणमा अगाडि बढेको बागलुङका केही गाउँमा अझै सडक बन्न सकेको छैन । केही गाउँमा स्थानीयले श्रमदान गरेर मोटर चल्ने बनाएका छन् भने केहीमा अझै कहिले पुग्ने हो ठेगान छैन । मानवीय विकास सुचांकमा अगाडि बढ्ने धेरै आधार छन् तर सडक संजाल निर्माण र संचालन बिना ती सूचक पुरा गर्न सकिंदैन । अञ्चल सदरमुकाम भएर पनि बागलुङमा धेरै भूगोल अझै दुर्गम र कठिन छन् । गाउँ र नगरपालिका बनेका छन्, तर ती पालिकाको केन्द्र राखिएका स्थानमै सहज यात्रा गर्न सकिएको छैन भने वडा तहमा कसरी पुग्ने भन्ने उत्तिकै कठिन छ । मतदान अधिकृत खटाउँदा निर्वाचन कार्यालयलाई कसरी सूचना संप्रेषण गर्ने भन्ने चुनौती छ भने गाउँलेलाई निर्वाचन मात्र नभएर सामान्य औषधि गर्नका लागि स्वास्थ्यचौकी कसरी पुग्ने भन्ने चिन्ता छ । हुनपनि जिल्लाका धेरै भूगोलमा अहिले पनि हिडेरै यात्रा गर्ने बाध्यताबीच रहनुपर्दा विकासका अन्य धेरै सूचकमा पछाडि पारिएको सबैले अनुभव गरेका छन् ।
दक्षिणको जैदीमा गतहप्ता मोटरबाटो पुग्यो । मोटर पुग्यो भनेर बाजागाजा बजाएर फूलमाला लगाउने अवस्था रहेको समाचारहरु सार्वजनिक भैरहेको समयमा अन्य विकासको आसा गर्ने काम धेरै पछिमात्र गर्न सकिने बिषय हो । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरको संगममा परेकोले जैदीमा मोटर पुगेको कुरा जगजाहेर छ । नत्र कहिले पुग्थ्यो अझै भन्न सकिने अवस्था छैन । तत्कालिन जिविसले कम्तिमा हरेक गाविस पुग्ने सडक संजाल बनाउने लक्ष राखेर धेरै जिल्ला परिषदहरु गरेको थियो । मन्त्रीदेखि सांसदले पनि यो बिषयलाई आफ्नो कार्यक्रमको प्राथमिकतामा राखे । तर बागलुङमा अझै त्यो कार्यान्वयन नभएरै बित्यो र जिविस भंग भैसक्यो । जिल्ला समन्वय समितिले अव त्यो काम गर्न सक्ने हैसियत राख्छ वा राख्दैन त्यो भोलीका दिनमा थाहा पाउने कुरा मात्र हो । अब बनेका गाउँ र नगरपालिकाले पनि कसरी काम गर्छन् त्यो समेत भविष्यका दिनमा थाहा पाउने कुरा हो । तर अहिले हतारिएर नगरपालिकामा दर्ता भएका गाउँहरुमा अझै बाजागाजा बजाएर सडक र सवारीको स्वागत गर्ने दिन आईसकेको छैन ।
भएका सडक पनि निकै कठिन यात्रा गर्नुपर्ने खालका छन् । ग्रेड नमिलेका, साँघुरा र चिप्ला सडकमा नाली कतैपनि बनाइएका छैनन् । जसका कारण बर्षातको पानीले फेरी पहिरो खस्ने संभावना बढी छन् । त्यस्ता सडक निर्माण गर्दा सुरक्षा सतर्कता अपनाउन नसक्दा फूलमाला गरेर स्वागत गरेको सडकनै मृत्युको कारण पनि हुन सक्छ । तसर्थ अवका दिनमा विशेषगरी गाउँ र नगरपालिकाले सबै वडामा सडक संजाल पु¥याउने जिम्मेवारी पुरा गर्नुछ । तर सडक पुग्दै गर्दा सुरक्षित र नियमित सवारी चल्ने प्रकारका सडकमा मात्र ध्यान दिन सके बजेटको सदुपयोग हुने र दिगो विकासका आधार खोज्न पनि सजिलो हुनेछ । नत्र सडक पुग्यो भनेर रमाउने मात्र कामले पनि विकासको सूचक पुरा गर्न सकिंदैन । सडकको मद्दतले अन्य सामाजिक, सास्कृतिक र आर्थिक विकासको लहर पनि गाउँमा पु¥याउन सकिने उपायाको पनि खोजी गर्नुपर्ने जरुरी भएको छ ।