काठमाडौ, ७ बैशाख – एमाले छाडेर पाँच वर्षअघि संघीय समाजवादी पार्टी खोलेका नेता अशोक राईले लिएको चुनाव चिह्न ‘छाता’ आज राति एकता भएको ‘राष्ट्रिय जनता पार्टी’ ले लिने भएको छ । रातो, सेतो र हरियो रंगको खोलेको उक्त छाता राईले २०७२ जेठ ३२ गते छाडेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग मिल्दै संघीय समाजवादी फोरम गठन गरेका थिए । त्यसयता कसैले नओढेको छाता निर्वाचन आयोगसँग अनौपचारिक परामर्श लिएर पाँच मधेसी घटकले लिने निर्णय गरे ।
एक नेताका अनुसार छातामा रहने रातो रंगले क्रान्ति, सेतोले शान्ति र हरियोले समृद्धि जनाउने छ । ती नेताको भनाइ पुष्टि गर्दै सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले छाता चिह्न लिँदा राम्रो देखिने दाबी गरे । महतोले नयाँ दल मधेसकेन्द्रित नै हुने देखिए पनि राष्ट्रिय पार्टीका रुपमा देशैभरि फैलिने बताए । पार्टी घोषणा बिहीबार दिउँसो १ बजे कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा हुनेछ ।
पार्टीको नाम राजपा
धेरैले नयाँ पार्टीको नाममा मधेस झिकेकोमा सकारात्मक टिप्पणी गरेका छन् भने कतिपयले भारतीय जनता पार्टी (भाजपा) जस्तै सुनिएको भन्दै आशंका पनि गरेका छन् । किन यस्तो नाम राख्ने निर्णयमा पुग्नु भएको त भन्ने जिज्ञासामा नेताहरुले एउटै जवाफ दिए, ‘खासमा हामीले नेपाली जनता पार्टी, नेपाली जनता दल राख्न खोजेको, तर त्यो त निर्वाचन आयोगमा पहिल्यै दर्ता गरेर अर्कैले चलाइसकेको रहेछ । अनि हामी यो नाममा पुगेका हौं ।’
सदभावना पार्टी अध्यक्ष महतोले राष्ट्रिय शब्दले देश, जनता शब्दले सबै क्षेत्रका जनता बुझाउने भएकाले यो नाम उपयुक्त भएको जिकिर गरे । उनले दलको नामबारे अनावश्यक आशंका नगर्न भन्दै मधेसमा अघिल्लो चुनावमा ८८ प्रतिशत मत पाएर पनि विभाजनका कारण सदुपयोग गर्न नसकेको जनताको भावना अब समेट्ने दाबी गरे ।
स्रोतका अनुसार पाँच मधेसी दलहरु अर्को घटक नेपाल सद्भावना पार्टीसँग पनि एकताको लागि सहमति नजिक पुगेका छन् । त्यसबारे विस्तारमा केहीबेरमा अर्को समाचार आउने छ । आजै अपराह्न पार्टी एकताको औपचारिक घोषणा हुने छ । साँझ देशभरि एकताको दिपावली गर्ने, अर्को साता मेची–महाकाली एकता यात्रा गर्ने नेताहरुले बताए ।
मधेसी मोर्चामा आबद्ध सात मधेसवादी घटकमध्ये पाँच दलबीच आजै राति एकता भएको थियो । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बीच आज अपराह्न राजधानीमा एकता घोषणा कार्यक्रम हुने छ । नयाँ दललाई सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने बैठकको निर्णय छ । संसदमा यी दलहरुको २४ सिट छ ।
पार्टी एकता गर्न मधेसी मोर्चाका पाँच दल सहमत
Previous Articleदेशभर १० हजार ६ सय ४० मतदान स्थल
Next Article विपन्न विद्यार्थीलाई जुत्ता प्रदान गरियो