कैलाली, २७ चैत – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी ओलीप्रति लक्षित गर्दै देश बनाउन कलाकार नभएर जिम्मेवार हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेसले सुरु गरेको देशव्यापी चुनावी आमसभालार्इ कैलालीको अत्तरियामा सम्बोधन गर्ने क्रममा देउवाले ओलीको नाम नै लिएर देशको राष्ट्रियतालार्इ फुटाउन खोजेको आरोपसमेत लगाएका हुन्।
‘उखान टुक्का हालेर देश बन्ने भए कलाकारलाई ल्याएर पार्टीको अध्यक्ष बनाए हुन्छ, देशमा ओलीभन्दा धेरै राम्रा कलाकार छन्,’ उनले भने, ‘देश बनाउन जिम्मेवार हुनुपर्छ कलाकार होइन।’ उनले हिमाल पहाड र मधेशलाई फुटाउने षड्यन्त्रमा ओली र उनको पार्टी एमाले जोडबल गरेर लागि रहेको गम्भीर आरोप लगाएका छन् ।देउवाले देश निर्माणमा देशका सबै जातजाती र भाषभाषीको उत्तिकै योगदान रहेको बताउँदै राजनीतिका नाममा एमाले गैरजिम्मेवार रुपमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भएको बताए। हिमाल र पहाडले मात्रै देश पुर्ण नहुने भन्दै मधेसलाई पनि सँगै लिएर जानुपर्ने यतिबेलाको आवश्यक्ता भएको उनको भनार्इ थियो।
विदेशबाट सहयोग आफुले ल्याउने अनि बाँड्ने बेलामा एमाले अगाडि जाने गरेको भन्दै उनले नेपाली कांग्रेसलाई निर्वाचनमा जिताए वृद्ध भत्ता, असहाय भत्ता, विधवा भत्ता र सबैखाले सामाजिक भत्ता दोब्बर बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।सुदूरपश्चिममा पनि थारु र पहाडीबीच द्वन्द्व निम्त्याउने काम भइरहेको बताउँदै देउवाले भने, ‘जंगबहादुरले पैसाको सट्टा अंग्रेजसंग नयाँ मुलुकको भूमि मागे। त्यसैले यो सबैको भुमि हो सबैले मिलेर बस्नुको अर्को उपाय छैन।’
सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एमाले प्रतिपक्षीको भुमिकाभन्दा देशमा द्वन्द्व निम्त्याउने खेलमा लागि रहेको बताए।पौडेलले पार्टीभित्रको गुटबन्दी छोडेर सबैले निर्वाचनमा एक हुने हो भने कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन्। नेपाली कांग्रेसले पार्टी भित्रको गुटबन्दीका कारण जहिले पनि चुनावमा हार्ने गरेको पनि पौडेलले स्मरण गरे।सभामा महामन्त्री सशांक कोइरालाले पार्टीले उठाएको उम्मेद्वारका विरुद्ध कोही उठेमा जोसुकैलाई पनि ठाउँको ठाउँ कारवाही हुने बताएका छन्। अब कांग्रेसमा गुटबन्दीको जमाना गइसकेको भन्दै उनले भने ‘जसलाई पार्टीले टिकट दिन्छ त्यसका पछि सबैले लाग्नुपर्छ, अरु विकल्प छैन।’
कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले देशमा संकट परेको बेलामा जहिले पनि पार्टीले नेतृत्व लिने गरेको स्मरण गर्दै अहिले पनि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए।
नेपाली कांग्रेसको चुनावीसभा केलालीबाट सुरु
Previous Articleनयाँ संशोधन विधेयक मस्यौदा तयारः प्रम
Next Article यसरी बन्छ परिवार बलियो