तिब्बती पर्वतारोहण व्यवस्थापन केन्द्रका प्रमुख सोनानले जानकारी दिएअनुसार यस वर्षको पर्वतारोहणको सिजनमै सगरमाथाको आधार शिविरमा बिजुली जडान गरिनेछ जसबाट पर्वतारोहीको उत्साहजनक सहभागिता र सुरक्षाको प्रत्याभूति दिन सकिनेछ।
तिब्बती पर्वतारोहण व्यवसायीका अनुसार पर्वतारोहण मौसम अप्रिल महिनाको सुरुवातदेखि आगामी जुन महिनाको अन्तसम्म चल्ने गर्दछ। तिब्बतले यस अवधिमा २४ जना चिनियाँ पर्वतारोहीले सगरमाथा आरोहण गर्ने र अरु लगभग ३०० जना विदेशी पर्वतारोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत विश्वको छैठौँ शिखर चोयु, विश्वको चौधौँ शिखर शिश्यापाङ्गमाको आरोहण गर्ने कार्यक्रम रहेको जनाएको छ।सगरमाथामा चिनियाँ झण्डा फहराउँदै एक चिनियाँ पर्यटक
पर्वतारोहीको सुरक्षाको लागि तिब्बती पर्वतारोहण समिति र पवित्र पहाड अन्वेषण कम्पनीले सयभन्दा बढी कर्मचारी तैनाथ गरेर पर्वतारोहीहरुलाई सघाउने जनाएको छ। चीनले यसै वर्षदेखि तिब्बततर्फको उत्तरी आधार शिविर नजिकै ८४ हजार ३२० वर्गमिटर क्षेत्रफलमा अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउँदैछ। सन् २०१९ मा पूरा गर्ने लक्ष्य सहित दश करोड चिनियाँ युआन अर्थात् नेपाली एक अर्ब ६० करोड रुपैँया लगानी गरेको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीनको सीमा क्षेत्रमा पर्दछ। सगरमाथाको चुचुरो नेपालतर्फ पर्छ। तिब्बतले पर्वतीय पर्यटनमा फड्को मार्न सक्ने अपेक्षाका साथ भौतिक संरचना निर्माणमा पनि तीव्रता दिएको छ। चीनले सगरमाथाको आधार शिविरभन्दा माथि १४ हजार फिट उचाइसम्म रेल चढेर पुग्नसक्ने संरचना निर्माण गरिसकेको छ भने त्यहाँ सङ्ग्रहालय बनाउने तयारी गरेको छ।