गोपीकृष्ण ढुंगाना
गुल्मी, २१ चैत – गैंडाकोटबाट कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने भएको छ । धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटरको अत्यन्तै अप्ठ्यारो काम सकेपछि चालू आर्थिक वर्षभित्रै ट्र्याक जोडिने भएको हो ।
नेपाली सेनाले टाकुरेदेखि पालुङखोलासम्मको २३ किलोमिटर सडकको काम पनि द्रुत गतिमा गरिरहेको छ । ठाउँठाउँमा गरी करिब १६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ । कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्रमुखसमेत रहेका महासेनानी रेश्मीराज भट्टराईले पाँचवटा कठिन भीर फोरेपछि कालीगण्डकी करिडोरको पूरै ट्र्याक खोलिने बताए ।
संसद्को विकास समितिले नेपाली सेनाको सहकार्यमा गुल्मीको बरालवादेखि पालुङखोला हुँदै बागलुङको धुसा भीरसम्मको आइतबार स्थलगत अवलोकन गरेको थियो । भट्टराईले भने, ‘सेना द्रुतगतिमा खटिएको छ । ७ किलोमिटर मात्र बाँकी रहेकाले यसै आवमा ट्र्याक खोलिसक्ने लक्ष्यमा छौं ।’ उनका अनुसार पालुङखोलामा बेलीब्रिज हालिएको छ भने गौदी खोला, चौरा खोला र ठेउले खोलामा पनि यसै आवमै बेलिब्रिज हाल्न निर्माण सुरु गरिएको छ । कालीगण्डकी करिडोरको बागलुङ-बेनी-जोमसोम खण्डको ट्र्याक खोल्ने काम नेपाली सेनाले २०६४ सालमै सम्पन्न गरेको थियो । यसमा गुल्मी खण्ड ४२ किलोमिटरमध्ये ३७ र बागलुङ खण्डको १४ किलोमिटर सकिएको छ भने पालुङखोला-टाकुरे २३ किलोमिटर खण्डमा निर्माणकार्य भइरहेको हो ।
विकास समितिका सभापति रवीन्द्र अधिकारीले नेपालका उत्तर-दक्षिण जोड्ने ९ वटा करिडोर (लोकमार्ग) मा काम भइरहेकोमा कालीगण्डकी करिडोर र रसुवा-स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने दुई मार्गमा द्रुतगतिमा काम भइरहेको जानकारी दिए । उनले भने, ‘नवलपरासीको गंैडाकोटदेखि चीनको कोरला ४ सय ३५ किलोमिटरको कालीगण्डकी करिडोर सांस्कृतिक, सामाजिक एवं आर्थिक परिवर्तन गर्ने रणनीतिक सडक हो । यो करिडोरले यी क्षेत्रको मात्र नभई नेपालका साथै भारत र चीनसमेतका लागि विकासको बीज रोप्नेछ ।’
उनले सडकको काम ढिलो हुने भएकाले यो करिडोरमा निश्चित खण्ड पूरा गर्नासाथ सेनाले सरकारलाई हस्तान्तरण गर्ने र सडक विभागले कालोपत्रेका लागि प्रक्रिया अघि बढाइहाल्ने गरी काम अघि बढाउन निर्देशन दिए । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक एवं सहायकरथि उद्धव बिष्टले ७ किलोमिटरको ट्र्याक जोड्ने काम असारभित्र सम्पन्न भएपछि रिडीदेखि जोमसोमसम्म १ सय ७४ किलोमिटर सडकमा १२ महिना यातायात सञ्चालन हुने बताए ।
उनले भने, ‘रिडी-पालुङखोला-मालढुंगा खण्डको ७.५ किलोमिटर ट्र्याकको चौडाइ १० मिटर गर्ने साथै गुल्मीको हर्मीचौरको लुप हटाउने काम र रुद्रवेणी-रिडीको बाँकी काम जटिल पहरा परेकाले सेनाबाटै गर्नुपर्ने माग आएको छ । यसको पनि प्रक्रिया अघि बढाएका छौं ।’ बागलुङ क्षेत्र नम्बर २ का सांसद प्रकाश शर्मा पौडेलले यसअघि निर्माण व्यवसायीलाई दिँदा काम थाल्दै-छोड्दै गर्नाले ढिलो भएको तर सेनाले निरन्तर काम गरिरहेको बताए । उनले भने, ‘करिडोर खुलेपछि मात्र यसको अनेक महत्वव थाहा हुनेछ तर कान्ति राजपथ, मुग्लिन र काठमाडौंमा जस्तो साँघुरो बनाएर होइन, समयमै यही बेला कम्तीमा १० मिटरको फराकिलो सडक बनाउनेमा जानैपर्छ ।’
स्थानीय समाजसेवी टीकाराम ढकालले ३ हजार वर्षअघि भोट र भारत व्यापार गर्न रेसम (सिल्क) मार्गमा चालू रहेको यो सडकले बल्ल करिडोरको रूप लिएको बताए । कालीगण्डकी गाउँपालिका ६ का ७३ वर्षीय कालीदास ढकालले करिडोरमा १० मुरी खेत परे पनि बाँकी जग्गाले भाउ पाएको बताए । उनले भने, ‘ज्यूँदै स्वर्ग जाने भनेको यही होला । यो अनकन्टारमा भव्य सडक पनि देख्न पाइयो ।’
अविरल बर्सात्का कारण गत आवहरूमा सम्पन्न रिडीदेखि पालुङखोला तथा मालढुंगादेखि टाकुरे सडक खण्डका विभिन्न ठाउँमा ठूलो पहिरो गई करिडोर अवरुद्ध भएकोमा उक्त ५७ किलोमिटर सडक खण्ड पुनर्निर्माण गरी यातायात सञ्चालनमा आएको छ । अन्नपूर्णपोष्ट
कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने
Previous Articleकिसानलाई सात करोडसम्म सहुलियत ऋण
Next Article निर्वाचन कार्यालयमा धर्ना