पोखरा, १८ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मात्रै देशको बारेमा सोच्ने एक्लो पार्टी भएको दाबी गरेका छन् । पोखरामा शुक्रवार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले पहिले कांग्रेस देशभक्त पार्टी भएपनि हाल झाडीमा सिङ अल्झेको बाह्रसिङे भएको बताए । ‘पहिले कांग्रेस देशको बारेमा सोच्ने पार्टी थियो तर अहिले बुढो बाह्रसिङे भएको छ,’ उनले भने, ‘झाडीमा सिङ अल्झेको बाह्रसिङे हलचल गर्न सक्दैन कांग्रेस पनि त्यही हो ।’
ओलीले कांग्रेसलाई के गर्ने भन्ने थाहा नहुँदा देशले दु:ख पाएको आरोप लगाए । आईजीपी, अख्तियार प्रमुख लगायत प्रमुख पद खाली हुँदा पनि कांग्रेसले सरकारमा बसेर केही नगरेको उनको आरोप थियो । ‘एउटा पार्टीको ठूलो नेताले आफ्नै जिल्लाको आइजीपी हुनुपर्ने अडान कसेका छन्,’ उनले भने, ‘अब देशको प्रधानमन्त्री हुने, प्रमुख पार्टीको प्रमुख मान्छेले आफ्नै जिल्ला मात्रै हेर्न थालेपछि कसरी हुन्छ ?’
कांग्रेसले केन्द्रीय समितिको बैठकबाट सर्वोच्च अदालत विरुद्ध प्रस्ताव पास गरेर न्यायालयमाथि आक्रमण गरेको समेत ओलीले बताए । उनले भने, ‘लोकमानविरुद्ध निर्णय भयो भनेर अदालतविरुद्ध नै खनिनुपर्ने आवश्यकता थिएन ।’ माओवादी केन्द्रको बारेमा भने आफूले कुनै टिप्पणी गर्न नचाहेको उनले बताए । ‘माओवादीको बारेमा केही भन्नुपर्छजस्तो मलाई लाग्दैन,’ उनले भने ।
ओलीले नेपाली जनतालाई अझै अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न सकिए पनि नेपालको हितलाई नोक्सान हुने गरि गर्न नसकिने जनाए । ‘संविधान संशोधनीय दस्तावेज हो,’ उनले भने, ‘तर कुनै आवश्यकता नभएको, सम्बन्धै नभएको र कसैको निर्देशनमा नेपाललाई कमजोर पार्ने उद्देश्यका साथ आएको नाटक स्वीकार्न सक्दैनौं ।’ उनले देशव्यापी एमालेमाथि आक्रमण भइरहँदा सहिष्णुताका साथ बसिरहन नसक्ने पनि उक्त सभामा बताए ।
ओलीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको उत्साह जनतामा जागिसकेकाले अब निर्वाचन कसैले चाहँदैमा रोक्न नसक्ने बताए । अध्यक्ष ओलीले झन्डै १९ वर्षपछि हुन लागेको निर्वाचनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भएकाले कसैको भ्रममा नपरी निर्वाचनमा भाग लिन असन्तुष्ट पक्षसँग आग्रह गरे। उनले अब देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सरकार र सवै राजनीतिक दलहरूले सोच्नुपर्ने बेला आएको धारणा राखे।
एक वर्षअघि आफुले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काममा ढिलाइ भइरहेकामा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले यसको निर्माणमा तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरे। उनले केरुङ–काठमाडौँ–पोखरा रेलमार्ग निर्माण, सबै राजमार्गलाई चार लेनको बनाउन र फेवा, रुपा, बेगनासलगायत सवै तालको संरक्षणमा आपूmले विशेष पहल गर्ने आश्वासन दिए। नेता ओलीले केही राजनीतिक दलले आपराधिक गतिविधि सञ्चालन गरी एमालेका कार्यकर्ताका घरमा तोडफोड तथा आगजनी गर्ने र कार्यकर्तामाथि आक्रमण गर्ने काम गरेकाले त्यस्ता काम नगर्न चेतावनीसमेत दिए।
सो अवसरमा अध्यक्ष ओलीले विभिन्न दल परित्याग गर्ने करिब एक हजार तीन सय जनालाई टीका लगाई पार्टी प्रवेश गराएका थिए। यसअघि पोखराका बगर, रानीपौवा र सिर्जनाचोकमा एकत्रित जुलुस चिप्लेढुङ्गामा पुगेर जनसभामा परिणत भएको थियो।