बागलुङ नगरपालिकामा तीन महिना भित्र तीन जना कार्यकारी अधिकृत फेरिएका छन् । राज्य पुनः संरचनाको भावना अनुसार नयाँ कार्यकारीको सरुवा भएपनि गत पुस मसान्तमा भएको नगर परिषद पछि एक दिन पनि कार्यालय नगइकनै तत्कालिन कार्यकारी सरुवा भएपछि धेरै मुद्दाहरु अनुत्तरित भएर बसेका छन् । ती मुद्दामा दुइ महिनाका लागि आएका अधिकृतले कुनै ठोस निर्णय गरेनन् । हाल आएका कार्यकारीले पनि तत्काल जल्दाबल्दा मुद्दामा हात नहाल्ने संभावना देखाइसकेका छन् । नगरको विकास भनेको बाटो बनाउने मात्र होइन । बजारलाई व्यवस्थित बनाउनु पहिलो काम हो । किनकी नगर भित्रको ढल निकास, सडकको स्तरउन्नती, सरसफाई र बजार व्यवस्थितले मात्र सभ्य नगरको परिभाषा दिन्छ । त्यसका लागि नगरले के कति काम गरेको छ त्यो जनताको नजरमा मूल्यांकन हुने बिषय हो । अहिले पनि बागलुङ नगरको मुख्य शहरी क्षेत्रमा ढल निकास अभावमा फोहोरमैला फैलिएको छ । दैनिक उठ्ने फोहोर पनि सहकारी संस्थालाई उठाउन दिएर नगरका दर्जनौ कर्मचारी भने फुर्सदमा बसेका छन् । नगरको बजेटलाई सहि सदुपयोग गर्ने काममा कर्मचारीले उस्तो चासो नदिएको देखिन्छ भने राजनीतिक दलले पनि खवरदारी गरेका छैनन् । बरु उनीहरु पनि आफ्नो स्वार्थका केही काम गरेर अरु बजेट जसरी सकेपनि हुन्छ भन्ने मान्यतामा लागेको देखिन्छ ।
भरखरै आएका नयाँ कार्यकारीले पनि आफ्नो काम तत्काल नगरलाई व्यबस्थित गर्ने होइन भन्ने संकेत गरेका छन् । बरु उनले निर्वाचन अघि सामान्य दैनिकी काम बाहेक अरु नगर्ने समेत बताएका छन् । त्यति बेला सम्म नगरमा सयौं घर बनिसक्ने देखिन्छ । यस अघि पनि कतिपय घर नक्सापास नभइ बनेका छन् भने कतिपयमा प्राविधिकको विवादले रोकिएका छन् । नगरबासीले पनि संहिता पालना नगरी राज्यको निर्णयको बिरुद्ध काम गरेका छन् भने नगरपालिकाले किन आचारसंहिता चाहिएको हो भन्ने प्रष्ट्याउन सकेको छैन । बर्षौ अघि मापदण्ड विपरितका घर भनेर भत्काउने तयारी गरेको र केही भत्काएका स्थान अहिले उस्तै भैसकेका छन् । ती संरचना बारेमा पनि नगरपालिकाले कुनै काम अगाडि बढाएको छैन । दिर्घकालिन योजना तर्फ पनि चक्रपथको काम बाहेकमा हात नहाल्दा नगरपालिकाको सुस्तता बारेमा धेरैले कुरा काट्ने बिषय बनेको छ ।
आगामी दिनमा स्थानीय सरकारको रुपमा जाने नगरपालिकाले अहिले आफ्नै कार्यकारी बस्ने क्षेत्रको ढल निकासलाई व्यवस्थित गर्न सक्दैन भने अरु के गर्ला भनेर धेरैले सोधेका छन् । अर्को तर्फ पुन संरचनाले नगरको क्षेत्रलाई बिस्तार गरेको छ । भोलीका दिनमा ती क्षेत्रको पूर्वाधार विकास, नगरको मुलधारमा कसरी ल्याउने भन्ने खासै होमवर्क नभएको देखिन्छ । भोली आउने नगरसभाले जे गर्ला भनेर चटक्कै छाडेको अवस्थाबाट कर्मचारीतन्त्रबाट जनताले आस गर्ने अवस्था देखिएन । लामो समयसम्म जनप्रतिनिधि नहुँदाको समस्यालाई नगरपालिकाले सम्बोधन गर्न नसकेको प्रष्ट भएको छ । जनप्रतिनिधिको अभावमा आसातित काम गर्न नसकेको कर्मचारी तन्त्रले अवका दिनमा जनप्रतिनिधि र आमजनताको भावना अनुसार काम गर्ने सोचाई विकास गर्नु पर्दछ।
Previous Article१६ चैत २०७३, ढोरपाटन दैनिक
Next Article खुल्ला बैंकिङ क्षेत्र र नियमनकारी निकाय