काठमाडौं, १५ चैत – प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका शीर्ष नेताको उपस्थितिमा सोमबार बृहत् विद्वत्सभा आयोजना गरी एमालेले त्यससम्बन्धी गृहकार्य अघि बढेको जानकारी गराएको हो ।
विसं. २०९९ सम्म विकासशील हुँदै विकसित मुलुकको दर्जामा पुर्याउने गरी नीतिगत, संरचनागत र कानुनी आधार तयार पार्ने उद्देश्यले गृहकार्य सुरु गरिएको सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए ।
‘पच्चीस वर्षमा नेपाललाई समृद्धिको उचाइमा पुर्याउन गर्नुपर्ने तात्कालिक काम र दीर्घकालीन कामका सन्दर्भमा नीतिगत, संरचनागत र कानुनी आधारका लागि विद्वत्वर्गको सुझाब लिएका हौँ,’ सचिवालय सचिव ज्ञवालीले भने, ‘हामी समग्र बहसलाई विकास र समृद्धितर्फ केन्द्रित गर्दै अब राष्ट्रको प्रमुख एजेन्डा बनाउन चाहन्छौँ ।’
विद्वत् सुझाब कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वगर्भनर डा. युवराज खतिवडाले विकास र समृद्धिसम्बन्धी दीर्घकालीन योजनाबारे अवधारणापत्र प्रस्तुत गरेका थिए । एमालेले पार्टीको नवौँ महाधिवेशनबाट समृद्ध नेपाल : सुखी नेपालीको नारासहित पच्चीस वर्षपछिको समृद्ध नेपाल बनाउने ‘मोडेल’ अघि सार्ने नीति पारित गरेको थियो ।
ओलीले भने,
अचम्मित हुने गरी समृद्ध बनाउन चाहन्छौँ : आर्थिक विकासका लागि त हाम्रा लागि १० वर्ष नै काफी छ । तर, यो विद्वत्भेला निर्वाचन घोषणापत्रमा सुझाब लिनका लागि होइन, विसं. ०९९ सम्म देशलाई अचम्मित हुने गरी समृद्ध र विकसित बनाउने गरी योजना बनाउन आयोजना गरिएको हो । त्यसका लागि हामी तपाईंहरूका सुझाब सुन्न चाहन्छौँ । यो शताब्दीको अन्त्यसम्म हामी विकसित मुलुक बनाउन सक्छौँ । नयाँ पत्रिका
यस्तो छ एमालेको समृद्धि र विकासको २५ वर्षे योजना
Previous Articleस्थानीय तहमा ८० हजार कर्मचारी आवश्यक
Next Article गर्भनिरोधक चक्कीबारे जानौं