प्रकाश बराल
बागलुङ, १२ चैत – सदरमुकामकै एक विद्यालयमा ९ जना मात्र विद्यार्थी पढ्छन् भन्दा अनौठो लाग्न सक्छ तर यो कुरा सत्य हो । बागलुङ नगरपालिका ८ को भगवती प्राविमा ३ जना शिक्षक, एक सहयोगी र ९ जना विद्यार्थी छन् । उनीहरुलाई पढाउने ती शिक्षक पनि पालो गरेर विद्यालय आउने गरेका छन् ।
कक्षा १ देखि ४ सम्म पढाइ हुने यो विद्यालयमा सबैलाई एउटै कक्षामा राखेर पढाउने गरिएकोले शिक्षकले पालो गरेर आए पुग्छ । १० वटा कोठा सहितको यो विद्यालयमा एउटामा कार्यालय र अर्कोमा विद्यार्थी राखिएको छ । लाखौं खर्चेर बनाइएका भवनहरु अहिले बिना काममा जीर्ण भैरहेका छन् भने चारजनालाई नियमित तलब खुवाएर राज्यको लाखौं लगानी खेर गइरहेको छ ।
९ जना विद्यार्थीमध्ये एकदुइ जना नआएको दिन विद्यालय पनि सुनसान हुन्छ । अहिले कक्षा १ मा चारजना बालबालिका अध्ययनरत छन् । कक्षा २ मा भने प्रतिभा निउरे एक्ली विद्यार्थी हुन् । उनी नआए कक्षा रित्तो हुन्छ । आएको दिन पनि छुट्टै पढ्ने अवसर उनलाइ छैन । बरु कक्षा ३ र ४ का विद्यार्थी संगै राखेर पढाउने व्यवस्था छ ।
कक्षा ३ मा पूर्णिमा केसी र समिक्षा कार्की तथा कक्षा ४ का स्वेच्छा कार्की र सुप्रभा कार्की छन् । यो विद्यालयमा ३ जना शिक्षकमध्ये स्थायी दरवन्दीकी शान्तिदेवी शर्मा प्रअ हुन् भने गीतादेवी शर्मा र बिष्णु देवी शर्मा राहत शिक्षक हुन् । सबै बालबालिका एउटै कक्षामा राखेर पढाइ हुने भएपछि प्राय दिनको एक जना मात्र शिक्षक विद्यालयमा आउने गर्छन् । कहिले काूही फुर्सद मनाउनका लागि मात्र तीनैजना शिक्षक उपस्थित हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । शिक्षकहरुको यस्तो चलनले एक घण्टाको पैदल हिडेर बालबालिका बजारका नीजि विद्यालयमा पठाउने क्रम बढेको छ । प्रअ शर्माले भने अभिभावकले नीजि भनेर सामुदायिकलाई वेवास्ता गर्दा यस्तो हविगत भएको बताइन् । अभिभावकको भने यो बिषयमा फरक मत छ । उनीहरु भन्छन्, ‘शिक्षकले जागिर मात्र खान्छन्, पढाउँदैनन् ।’ शिक्षकनै जिम्मेवार नभएपछि अभिभावकले बाध्य भएर बालबालिकालाई नीजिमा पठाउन थालेको स्थानीय राजु शर्माले बताए । ‘विद्यार्थी सबै बजार जाने बाध्यता बनाएपछि अभिभावकले पनि गाउँको विद्यालय र शिक्षक भनेर कसरी सहयोग गर्ने ?’शर्माले भने, ‘शिक्षकले चाहेमा गर्न सकिने काम पनि नगरेपछि विद्यालय भताभुंग भएको छ ।’ बालबालिका नभएपछि शिक्षकको आफ्नै क्षमता पनि कमजोर भएको छ । विद्यालयले केही बर्षदेखि भर्ना अभियान संचालन समेत गरेको छैन । नीजि विद्यालयमा पठाउन खोज्नेलाई सामुदायिकले पनि गुणस्तरीय शिक्षा दिन सक्छ भनेर कुनै पहल पनि नगरेको अभिभावकको गुनासो छ । ‘हामीलाई पैसा तिरेर पढाउने रहर छैन, तर सरकारी विद्यालयमै पढाएर छोराछोरी बिगारियो भने भोली हामीलाई सराप्लान भन्ने भएको छ’ अभिभावक बिरबहादुर किसान भन्छन्, ‘मजदुरी गरेर कमाएको पैसाले एक छाक खाएर पनि बालबालिकालाई बोर्डिङ पठाएका छौं ।’
शिक्षा नियमाबलीले ४५ जना विद्यार्थी बराबर एक शिक्षकको परिकल्पना गरेको जिल्ला शिक्षाका शाखा अधिकृत खेमप्रसाद आचार्यले बताए । केही स्थानमा भौगोलिक कारणले विद्यालय मर्ज गर्न नसकिएको उनले स्विकारे । दुइ बर्षदेखि जिल्ला शिक्षा समिति समेत बनेको छैन । जसका कारण शिक्षक दरवन्दी मिलान, विद्यालय मर्ज र गुणस्तर विकासको कामले गति लिन नसकेको हो । ‘समिति नभएकै कारणले पनि हामीले धेरै विकृति हटाउन सकेका छैनौं’ आचार्यले भने, ‘नयाँ नियमावलीपनि नआएकोले काम अगाडि बढ्न नसकेको हो ।’ अभिभावकमा पनि आफ्नो विद्यालय बचाउने, गुणस्तर बढाउने र बालबालिकालाइ सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने चेतना ल्याउन नसक्नु शिक्षकको कमजोरी भएको उनले बताए ।
थोरै विद्यार्थी भएको स्थानबाट विद्यार्थी संख्या बढी भएका स्थानमा शिक्षक दरवन्दी मिलान गर्ने कार्यालयको नीति रहेको आचार्य बताउँछन् । समितिको अभावमा त्यो काम पनि रोकिएको हो । शिक्षा समिति बनाउने बिषयमा राजनीतिक दलहरुबीच कुरा मिलेको छैन । पटक पटकका बैठकमा गठन गर्ने छलफल हुन्छ, तर दलहरुले प्रतिनिधि नपठाएकोले गठन हुँदैन । नीजि विद्यालय पढाउने निहुँमा अभिभावकले बालबालिकालाइ एक घण्टा हिडाएर बजारमा रहेका बोर्डिङमा पढाएका छन् । ती विद्यालयमा तीन जना शिक्षक भएको र विद्यार्थी कम भएको बारेमा भने विद्यालय निरिक्षक, श्रोत व्यक्ति समेतले अहिलेसम्म कार्यालयमा रिर्पोट पेश गरेका छैनन् । यस्तो समस्या भएका अधिकांस स्थानमा शिक्षकहरु राजनीतिमा लाग्ने क्रमले झन् बढाएको छ । राजनीतिक दलको नेतृत्वमा रहने शिक्षक बढी छन् । प्रअहरु विद्यालयमै नबस्ने, अन्य शिक्षकले पनि पढाउन छाडेर राजनीति र व्यक्तिगत फाईदाको काम गर्नाले गुणस्तर खस्केको छ । ‘सदरमुकामका अधिकांस कार्यक्रममा राजनीतिक दलको प्रतिनिधित्व गरेर शिक्षकहरु मंचमा पुग्छन्, भाषण सुन्ने जिल्ला शिक्षा अधिकारी लगायतका कर्मचारी हुन्छन्’ पत्रकार राम थापा भन्छन्, ‘शिक्षकहरु सबैले गुरुको म¥र्यादामा बसिदिए शिक्षाको गुणस्तर बढ्ने थियो ।’ जिल्लाका अन्य सामाजिक संस्थामा पनि शिक्षकको प्रतिष्पर्धा बढी देखिन्छ । कार्यालयको तथ्यांक अनुसार अहिले पनि विद्यार्थीको सिकाई उपलब्धी चाहेजस्तो छैन । गत शैक्षिक बर्षको सिकाई उपलब्धी नेपाली बिषयमा ४४ प्रतिशत छ । अंग्रेजीमा ४७ दशमलब ३१, गणितमा ३५ दशमलब ४२, बिज्ञानमा ४६ दशमलब ९०, सामाजिकमा ४१ दशमलब ५५ प्रतिशत छ । अघिल्ला बर्षको अंक हेर्दा गणितमा ३० प्रतिशतको हाराहारी मात्र सिकाई उपलब्धी थियो । कार्यालयले जिल्लाका २० वटा श्रोत केन्द्रको पनि सिकाई उपलब्धीको तालिका प्रकाशित गरेको छ तर सबै लज्जास्पद छन् । शिक्षा ऐन र नियमाबलीले कम्तिमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने प्रावधान राखेको छ । तर यहाँका शिक्षकको औषत उपस्थिति दर १ सय ९६ दिन मात्र छ । त्यसमा पनि बिहुँ श्रोत केन्द्रमा १ सय ६७ दिन मात्र शिक्षक हाजिर भएको तथ्यांक छ । सदरमुकामकै विद्यालयमा पनि पुरै दिन हाजिर हुने शिक्षक कम छन् । ‘शिक्षकलाई जवाफदेहि बनाउन नसकेकै कारण परिक्षाफल सुधार गर्न नसकिएको हो’ जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्र भन्छन्, ‘शिक्षकले अगुवाई गरेका केही नमूना विद्यालयले राम्रो सिकाई बढाएका छन् ।’ शिक्षकले पढाउने काम हो भनेर सोचिदिए गुणस्तर विकास गर्न सकिने उनले बताए । केही शिक्षकले नीजि विद्यायमा लगानी गर्ने क्रम बढेको पनि उनले बताए । जसका कारण सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी घट्दो छन् । पाँचबर्ष अघिका ९१ हजार विद्यार्थी घटेर अहिले ७० हजारमा झरेको छ । बसाई सराई र नीजि विद्यालयमा जाने क्रम तीव्र रहेको मिश्रले बताए ।
हाल बागलुङमा प्रावि तहमा १ हजार ७ सय ७ शिक्षक दरवन्दी छ । उनीहरुमध्येबाट ८४ जना बढी भएकोले फिर्ता गर्नुपर्ने देखिन्छ । तर निमावि तहमा ४ सय ३३ शिक्षक रहेकोमा २ सय ८६ जना अपुग छन् । मावि तहमा पनि ४ सय २५ जना शिक्षक रहेकोमा २ सय ४९ जना अपुग छ । यसका साथैं केही विद्यालय अहिले पनि शुन्य दरवन्दीका छन् । मावि तहका शिक्षक दरवन्दी नपाएका १२ विद्यालय छन् । निमाविमा ४१ र प्राविमा पनि केही विद्यालय छन् । ती मध्ये प्राविलाई शुन्य नराख्ने गरी पुल शिक्षकको व्यवस्था गरिएको आचार्यले बताए ।
२०६८ सालमा एसएलसीको उत्र्तीणदर ६५ प्रतिशत रहेकोमा क्रमश घटेर ३२ प्रतिशतमा आएको छ । परिक्षाफलको अंक घट्नुमा पनि विद्यालय भित्र राजनीतिक भागबण्डा हावी, शिक्षकको मेहेनत कम र व्यवस्थापन समितिमा आउने विवाद प्रमुख कारण भएको मिश्रले बताए । ‘समिति गठनमा राजनीतिक दलको हस्तक्षेप भएपछि गुणस्तर विकासमा कसैले पनि ध्यान नदिएको देखिन्छ’ मिश्र भन्छन्, ‘पास भएका विद्यार्थीले पनि उपल्लो तहमा पुगेर खासै उपलब्धी हासिल गरेको छैन ।’ शिक्षक र अभिभावकको अपनत्व नभएसम्म विद्यालय सुधार्न नसकिने उनले बताए । ‘हरेक शिक्षकले आफ्ना बालबालिका आँफै पढाउँन सक्छु भन्ने आूट नभएसम्म सामुदायिक विद्यालयको गुणस्तर माथि उठ्दैन’ मिश्रले भने, ‘एउटा सरकारी कार्यालयको लागि भन्दा धेरै गुणा रकम विद्यालयमा जान्छ तर शिक्षाको गुणस्तर माथि उकास्न शिक्षकले पहल गर्दैनन् ।’ तालिम पाएका शिक्षकले पनि सिकाई सामाग्री नबनाउने, अध्ययन नगर्ने र आफ्नो शिप नबाूड्ने प्रवृत्तिले गुणस्तर खस्केको उनले बताए । ‘शिक्षकहरु जिम्मेवार भैदिए चाहेजस्तो परिक्षाफल पाउन सकिन्छ’ मिश्र भन्छन्, ‘राजनीतिलाई छाडेर कर्तव्यवोध गर्नेहो भने हामीले परिणाम दिन सक्छौं ।’ शिक्षकले दायित्व बोध गरेको केही समयमै राम्रो उपलब्धी प्राप्त हुने उनले बताए । हरेक महिनाको प्रअ बैठकमा गुणस्तर विकास बारे छलफल हुन छाडेको छ । हरेक पटकका बैठकमा विद्यालयको पूर्वाधारमा रकम माग्ने र राजनीतिक घटनाक्रमको बिषयले बढी समय बित्ने कार्यालयका कर्मचारी बताउँछन् । कुन तरिकाले पढाउने र कसरी शिक्षाको गुणस्तर विकास गर्ने भन्ने बिषयले प्रवेशै नपाउने एक अधिकृतले बताए ।
–कान्तिपुर दैनिकबाट
Previous Article९/१६ अरुको लागि त्याग गर्नुपर्ने कुरा
Next Article १२ चैत २०७३, ढोरपाटन दैनिक