म्याग्दी, १० चैत – जिल्लाको सदरमुकाम बेनीमा गंगटा युथ क्लवले आयोजना गरेको सर्वाधिक धनराशीको चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको यूवा तथा खेलकुद मन्त्री दलजित सिर्पाइलीले उद्घाटन गरे ।
उद्घाटन सत्रमा छोटो समय बसेका खेलकुद मन्त्री सिपाईलीले खेलकुद क्षेत्रमा विकासका लागि तीनै तहको निर्वाचन आवश्यकता रहेको बताएका छन् । निर्वाचनसंगै विकास अगाडी बढ्ने भएकाले सरकार निर्वाचनको तयारीमा जुटेको मन्त्री सिपाईलीको बताए । मन्त्री सिपाईलीले निर्वाचन असम्भव देख्नेहरू प्रतिगमनकारी भएको भन्दै निर्वाचनको वातावरण बनाउन अनुरोध गरे । ‘सबै निर्वाचनको तयारीमा जुट्नुहोस् ।
खेलाडीहरूले पनि निर्वाचनको वातावरण बनाउनुपर्छ’ मन्त्रीले भने । हतार–हतारमा आएका मन्त्री सिपाईलीले खेलकुदको विकासमा वर्तमान सरकारले आवश्यक तयारी सहित बजेट विनियोजन गर्ने बताए । उनले विगतमा प्रचारमुखी बजेटका कारण खेलकुद क्षेत्रको विकास नभएको भन्दै आगामी बजेटमा केन्द्र देखी वडास्तरसम्मको खेलकुद विकास गर्ने गरी बजेट विनियोजन हुने बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगाएतले खेलकुदका समस्याका बारेमा बोलेका थिए । जिल्लामा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगितामा जिल्ला बाहिरबाट २ सयभन्दा धेरै खेलाडीको सहभागिता रहेको क्लवका अध्यक्ष रेशम पुनले बताए ।
प्रतियोगितामा विभागीय टिम सहित देशभरबाट खेलाडीहरुको उपस्थिती रहेको छ । चैत्र १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न पाँचवटा विधाका खेलमा महिला र पुरुषको सहभागिता हुने छ । प्रतियोगितामा पुरुष, महिला एकल, पुरुष डवल, १७ बर्ष मुनिको पुरुष लगाएत जिल्लास्तरका खेलाडी विच समेत खेल हुने छ ।
सर्वाधिक धनराशीको प्रतियोगितामा विभिन्न विधामा प्रथम पुरस्कार १ लाख देखी ५० हजार, द्धितिय ५० देखी २५ हजार, तृतिय २५ देखी ५ हजारसम्म रहेको छ । पुरुष डवलमा सर्वा्धिक १ लाख पुरस्कार रहेको छ ।