काठमाडौं, १० चैत – व्यवस्थापिका-संसद्को बुधबारको बैठकले समानुपातिकमा ३ प्रतिशत न्यूनतम मत सीमा (थ्रेसहोल्ड) सहितको ‘राजनीतिक दलसम्बन्धी विधेयक २०७३’ बहुमतले पारित गरेको छ । पारित विधेयकमा प्रतिनिधि सभामा समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्षमा एक स्थान नल्याउने दल राष्ट्रिय दल नमानिने उल्लेख छ ।
विधेयक पारित गराउन प्रमुख ठूला दलबीच समान मत देखियो भने साना दलबाट चर्को विरोध भयो । संविधान जारीपछि विवादित यस राष्ट्रिय मुद्दामा ठूला दल विधेयक पारित गर्ने सवालमा एक ठाउँमा उभिए । समानुपातिकमा ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलको संसदमा उपस्थिति हुन्छ तर राष्ट्रिय दलको मान्यता र सुविधा पाउने छैन ।
सो विधेयक आफूहरुको सहमति विपरीत ल्याइएको भन्दै विभिन्न साना दलले विरोध गर्दै बैठक बहिष्कार गरेका थिए । उनीहरुले प्रमुख दलसहित सो विषयमा पुनरवलोकनका लागि पहल गर्न सभामुख ओनसरी घर्तीसँग माग गरेपनि सुनुवाइ भएन । संविधान निर्माणका क्रममा जनताले धेरै दल हुने संसद् बन्दा राजनीतिक विकृति र अस्थिरता बढेकाले मतसीमा राख्ने कानुन ल्याउन सुझाव दिएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्रीका तर्फबाट भौतिक योजना तथा पूर्वाधारमन्त्री रमेश लेखकले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
संसद्को बुधबारको पहिलो बैठकमा साना दलको विरोधका बीच राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले ‘राजनीतिक दलसम्बन्धी विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका थिए । सभापति घर्तीले विधेयकले लोकतन्त्रलाई संस्थागत गर्न र दलहरुलाई मर्यादित बनाउने बताउँदै सो प्रस्ताव पेस गरेका थिए । समितिले सांसद आनन्द पोखरेलको संयोजकत्वमा उपसमिति गठन गरी सो प्रस्ताव तयार गरेको थियो । नेकपा (माले) लगायत १९ सानाले दलले सो विधेयकले आफूहरुको लोकतान्त्रिक प्रतिस्पर्धाको हक हनन गर्न खोजिएको जनाएका छन् । सो विधेयकसम्बन्धी सुझावसहितको प्रतिवेदन बुधबारै समितिबाट पारित भएपछि प्रतिवेदन तयारीमा समय लागेका कारण बुधबार दिउँसो ३ बजेका लागि तोकिएको संसद्को बैठक ४ः३० बजेलाई सारिएको थियो । पहिलो बैठकमा समितिको प्रतिवेदन पेस भई दोस्रो बैठकले विधेयक पारित गरेको हो ।
छलफलमा उठेका विषयबारे स्पष्ट पार्दै मन्त्री लेखकले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्न, दललाई जिम्मेवार बनाउन तथा आर्थिक व्यवस्थापन पारदर्शी बनाउन यो व्यवस्था गरिएको बताए । बैठकमा राज्य व्यवस्था समितिको प्रतिवेदन माथिको छलफलमा भाग लिँदै नेकपा (एमाले) का रेवतीरमण भण्डारीले एउटै निर्वाचन चिह्नमा पनि निर्वाचन लड्न पाउने व्यवस्था भएकाले साना दलले आपत्ति जनाउन नपर्ने बताउनुभयो ।
तर राष्ट्रिय जनमोर्चाका मीना पुनले थ्रेसहोल्डले राजनीतिक अस्थिरता रोक्न भन्दै विधेयक ल्याइए पनि विदेशी हस्तक्षेपको अन्त्य नभएसम्म एक वा दुई दल मात्र संसदमा आए पनि मुलुकको समस्या समाधान नहुने ठोकुवा गरे । नेपाली कांग्रेसका भरतकुमार साहले थ्रेसहोल्ड जरुरी रहेको भन्दै कतिपय प्राविधिक विषय मिलाउन सुझाव दिए ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का गीता राणा क्षेत्रीले यो व्यवस्थाले नयाँ दर्शन र सोचका दललाई निषेध गर्न खोजेको अर्थ लाग्ने जनाउँदै तीनभन्दा कम प्रतिशत थ्रेसहोल्ड राख्न माग गरिन् । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले छिमेकी भारतले नेपालको राजनीतिमा गरेको हस्तक्षेपप्रतिको विरोधको स्वर कमजोर बनाउन यस्तो विधेयक ल्याइएको दाबी गरे ।
यसैबीच, संसदमा प्रतिनिधित्व गर्ने साना १९ दलले ३ प्रतिशत थ्रेस होल्ड राख्ने राजनीतिक दल सम्बन्धि विधेयक विरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । साना दलका सांसदहरुले ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्था संविधान, कानुन र समावेशी लोकतान्त्रिक शासन व्यवस्थाविरुद्ध रहेको उल्लेख गर्दै त्यसमा पुनर्विचार नगरे संसद बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् । समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनैपर्ने र प्रत्यक्षतर्फ एक जना सांसद नभएको पार्टीलाई राष्ट्रिय दलको मान्यता नदिने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धि विधेयकविरुद्ध साना दल खनिएका हुन् ।
Previous Articleनिसीखोला गाउपालिकाको केन्द्र जुग्जाखोलामा
Next Article स्वाधिन अर्थतन्त्रका कुरा