बागलुङ, ८ चैत – जिल्ला निर्वाचन कार्यालय बागलुङले स्थनीय तहकोे निर्वाचन तयारीलाई तिब्र बनाएको छ । आगामी बैसाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि आवश्यक मतदाता नामावली रुजु तथा प्रमाणित, मतदान केन्द्र निर्धारण लगायतका कामलाई तिब्र रुपमा अगाडी बढाएको छ ।
स्थानीय तहको निर्वाचनको लागि जिल्लामा १ सय ३ वटा मतदान केन्द्रको निर्धारण गरेको छभने त्यसमध्ये ३ स्थानमा अपाङ्गमैत्री मतदान स्थल निर्माण गरिने बागलुङका निर्वाचन अधिकारी विकाशचन्द्र शर्माले बताए । रामरेखा, नारायास्थान र बुर्तिवाङमा शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिले सहज रुपमा मतदान गर्न पाउने गरि मतदान स्थल निर्माण गरिने शर्माले बताए । निर्वाचन सम्पन्न गर्नको लागि जिल्लामा १ हजार जना कर्मचारी परिचालन हुने बताइएको छ ।
सुरक्षाकर्मी बाहेक एक बुथमा ५ जनाको दरले कर्मचारी परिचालन हुने निर्वाचन कार्यालयले जनाएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, नामावली रुजु गर्ने लगायतका गरि एक बुथमा ५ जना कर्मचारी परिचालन हुनेछन् ।
आवश्यक जनशक्तिको लागि जिल्लाभित्रैबाट व्यवस्थापन गर्ने गरि तयारी भईरहेको शर्माले बताए । स्वच्छ तथा विश्वसनीय निर्वाचनको लागि आचार संहिताको अक्षरस पालना गर्नु पर्ने बताउँदै शर्माले कुनै पक्षबाट आचार संहिता उल्लंघन भएमा तत्काल उजुरी गर्न कार्यालयले आग्रह गरेको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा १४ राजनितिक दल दर्ता छन् ।
Previous Articleस्थानीय तहको अधिकार
Next Article संघिय संरचना अनुसार नयाँ शक्तिको संगठन निर्माण