सन्तोष थापा
पर्वत, ७ चैत – जिल्लाको विहादी गाउँपालिका २ बर्राचौरमा चलेको सरसफाई अभियान जिल्लाकै नमुना अभियानका रुपमा सञ्चालन हँुदै गएको छ ।
गाउँको सरसफाईका लागि गाउँले आफैले नीति नियम बनाएर सरसफाईमा अग्रसर हुन थालेपछि नमुना सरसफाई गाउँको परिचय पाउने भएको हो । विगत केही बर्ष अघिसम्म स्वच्छ र सुरक्षित खानेपानीबाट बञ्चित बनेका बर्राचौरबासीहरु अहिले सुरक्षित खानेपानीको उचित व्यवस्था सँगै सरससफाईमा समेत सक्रिय रुपमा लागि परेका छन् । बर्राचौरका बासिन्दाहरुले गाउँमा गठित गाउँ खानेपानी तथा स्वच्छता समन्वय समिति र वडा नागरिक मञ्चको पहलमा गाउँमा सरसफाइको अभियान सञ्चालन भएको छ ।
अहिले गाउँमा प्रत्येक महिनाको १५ र ३० गते सरसफाईका लागि प्रत्येक घरबाट एक जना सदस्य झारा जाने गर्दछन् । यसरी सञ्चालन भएको अभियानमा सहभागी नहुनेलाई जरिवाना तोकिएको गाउँ खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति बर्राचौरकी सदस्य गौरादेवी पौडेलले बताइन् । ‘गाउँको प्रत्येक टोल टोलबाट स्थानीय अभियन्ताको अगुवाईमा सरसफाईमा निस्किएर सार्वजनिक स्थल तथा बाटोघाटोको सरसफाई गर्ने गरेका छौँ’ उनले भनिन् ‘अभियानका क्रममा सहभागी नभएका घरधुरीबाट दुई सय रुपैँयाको दरले जरिवाना उठाउछौँ’ यसरी सकलन भएको जरिवानाबाट अभियानमा सहभागी हुने सरसफाई अभियन्ताहरुलाई खाजा नास्ता उपलब्ध गराउने गरेको उनले बताइन् ।
सरसफाई अभियानका क्रममा एउटा बस्तीबाट अर्को बस्तीमा सरसफाई गतिविधि बुझ्न छड्के अनुगमन जाने गरेको पौडेलले बताइन् । गाउँको सरसफाईमा कुन गाउँ कति सक्रिय रुपले लागेका छन् भन्ने अनुगमनका लागि छड्के जाने गरेको उनले बताईन् । बर्राचौर पर्वतको दोश्रो खुल्ला दिसामुक्त गाविस हो । खुल्ला दिसामुक्त सँगै गाउँलाई पूर्ण आनीवानी परिवर्तन सहितको गाउँ घोषणाका लागि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले पहल गरेको छ ।
जिल्ला विकास समिति पर्वत सँगको सहकार्यमा परियोजनाले खानेपानी, सरसफाई लगायतका क्षेत्रमा आवश्यक सहयोग प्रदान गर्दै आएको छ । सहयोग उपलब्ध गराएपछि बर्राचौरबासीहरुले अनपेक्षित उपलब्धि हासिल गरेको परियोजना सल्लाहकार प्रशन्न पाण्डेले जानकारी दिए । विगतका समयमा सुरक्षित खानेपानी उपयोग गर्न नपाउँदा समस्यामा परेका बर्राचौरबासीहरु अहिले टोल टोल र घर घरमा खानेपानीको सुविधा पाएपछि सन्तुष्ट भएको र सरसफाईमा समेत चासो दिएको बर्राचौर स्वास्थ्य चौकीका इञ्चार्ज भुपेन्द्र पौडेलले जानकारी दिए ।
Previous Articleउम्मेदवार छनौट गर्न कमिटी गठन
Next Article खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो