डा. युवराज संग्रौला
नेपाल र चीनबीच प्राचीनकालदेखि नै सुमधुर सम्बन्ध रहिआएको छ । सांस्कृतिक रूपमा यी दुई मुलुकले विगत पन्ध्रसय वर्षदेखि सम्बन्ध कायम गरेका छन् । चीनबाट आएका मञ्जुश्रीले काठमाडौं उपत्यकाबाट पानी बाहिर पठाएर बस्न योग्य बनाएको कथालाई समेत विचार गर्ने हो भने त यो सम्बन्ध पाँच हजार वर्षअघि पुग्छ ।
नेपालका विकसित बौद्ध ध्यान चीनमा समेत चानका रूपमा लोकप्रिय भएको थियो । चीनको मिङ वंशका पालामा नेपाल र चीनबीच बाक्लै संवाद हुने गरेको थियो ।
त्यस्तै नेपाली कलाकार अरनिकोले बेइजिङमा बाइ ता वा सेतो पगोडा मन्दिर बनाएका थिए । अनि चीनको अधीनस्थ रहेको तिब्बतका राजा स्रोङचोङ गाम्पोले नेपाली राजकुमारी भृकुटिसँग विवाह गरेका थिए । यी सबै ऐतिहासिक घटनाले दुई देशबीचको सम्बन्धलाई घनीभूत बनाएका छन् ।
यसका अलावा नेपाल चीनका लागि दक्षिण एसियाको प्रवेशद्वारका रूपमा रहेको थियो र अहिले पनि छ । भारत र चीनका व्यापारीहरूलाई नेपाल ढुवानीका लागि सुरक्षित मार्ग थियो ।
विशेषगरी नेपाल र तिब्बतका बीच राम्रो व्यापारिक सम्बन्ध कायम भएको थियो । बीचका केही नेपाली शासकहरूले तिब्बती सुनचाँदीको लोभले त्यहाँ आक्रमण गरेर तत्कालीन चिनियाँ सम्राटको क्रोधको सामना गर्नुपरेको थियो र यसैकारणले गर्दा पछि बेलायतसँगको युद्धमा नेपालले चीनको सहायता पाएन अनि आफ्ना भूभाग गुमाउन बाध्य भयो । त्यसैले चीनसँग राम्रो सम्बन्ध राख्नुमा नेपालको हित छ ।
विगत ४० वर्षमा चीनले अद्भुत प्रगति गरेको छ । चीनको विकासले विद्यमान आर्थिक व्यवस्थालाई पुनर्परिभाषित गरिदिएको छ । चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र हो र विकासको तीव्र गति कायम राख्दै गर्दा निकट भविष्यमै यो सबभन्दा ठूलो अर्थतन्त्र हुँदैछ । चीनले कृषि, विशाल निर्माण परियोजनाहरू, उच्चस्तरीय प्रविधि तथा निजी र सरकारी साझेदारीमा लगानी लगायतमा विशेष जोड दिएर विकास गरेको हो । भौतिक विकास सँगसँगै सांस्कृतिक र मनोवैज्ञानिक विकासमा पनि चीनको रुचि छ ।
त्यसका अलावा चीनले अन्तर्राष्ट्रिय साझेदारीमा पनि विशेष ध्यान दिन थालेको छ । सी चिनफिङ चीनका राष्ट्रपति भएपछि विदेशनीतिमा परिवर्तन ल्याएका छन् र विश्व अर्थतन्त्रलाई परिवर्तन गर्ने लक्ष्य लिएका छन् ।
यही लक्ष्यपूर्तिका लागि चीनले प्राचीन रेशममार्गलाई ब्युँताउने योजना अघि सारेको छ । एक पेटी एक सडक परियोजना (ओबीओआर) अन्तर्गत चीनबाट दक्षिण एसिया, मध्य एसिया, मध्यपूर्व हुँदै युरोपसम्म पुगेर अनि जलमार्गमा हिन्द महासागर हुँदै अफ्रिका पुगेर व्यापार गर्ने चीनको योजना हो ।
यो परियोजनाले अन्तर्राष्ट्रिय शान्ति र आर्थिक साझेदारीमार्फत विश्व एकताको लक्ष्य लिएको छ । यो परियोजनाले यस क्षेत्रका देशहरूबीचको सम्पर्क बढाएर सर्वांगीण विकास र पारस्परिक सम्बन्ध वृद्धिमा जोड दिएको छ ।
एक पेटी एक सडक परियोजनाले चीन, भारत र नेपालको आर्थिक विकास र सांस्कृतिक सम्बन्धको मजबुती सुनिश्चित गर्ने चीनको विश्वास छ । चीनले यस परियोजनामार्फत दक्षिण एसियामा प्रवेश गरेर विशेषगरी लगानी र व्यापारका विशाल अवसरहरू सिर्जना गर्न खोज्दैछ । आर्थिक विकासका अलावा सांस्कृतिक सम्पर्क पनि परियोजनाले बढाउँछ ।
नेपाल, भारत र चीनका बीच बौद्धधर्मले पहिलेदेखि नै सेतुको काम गरिरहेकै हो । यो परियोजनाले धार्मिक पर्यटनको अवसर पनि खोल्नेछ । चीनबाट वर्षैपिच्छे बौद्धधर्मावलम्बीहरू नेपालको लुम्बिनी र भारतमा रहेका बौद्धतीर्थको दर्शन गर्न आउँछन् । त्यसैगरी तीन देशका प्राज्ञ, वैज्ञानिक र अनुसन्धानकर्ताहरूले मानवताको विकासका लागि धेरैथरी सहकार्य गर्न सक्छन् ।
भारतका लागि पनि एक पेटी एक सडक परियोजनाले धेरै फाइदा पुग्ने देखिन्छ । यसअन्तर्गत पश्चिमी चीनमा भारतले बृहत्तर बजारको अवसर पाउँछ । भारतको तीव्र विकासका बाबजूद गरीबीको रेखामुनि बस्न बाध्य मानिसको संख्या ठूलो छ तथा धनी र गरीबबीचको दूरी बढ्दो छ । यो परियोजनाले भारतको विकासमा टेवा पु–याउनका लागि नयाँ बजारहरू खोल्नेछ । पश्चिमी चीनसँग सडक तथा रेलमार्गमार्फत भारतले जोडिने अवसर पाएमा मध्यएसियामा पनि उसले व्यापार गर्न सक्नेछ ।
यो परियोजनाले नेपाललाई पनि विशाल लाभ दिलाउनेछ । लामो समयदेखिको राजनीतिक अस्थिरता र न्यून आर्थिक वृद्धिदरका कारण नेपाली युवाहरू विदेशतर्फ पलायन हुन बाध्य भएका छन् ।
डा. युवराज संग्रौला
यही अस्थिरताको फाइदा उठाउँदै पश्चिमी मुलकको स्वार्थलाई प्रतिनिधित्व गर्ने विदेशी संस्थाहरूले नेपाल राज्यलाई जर्जर बनाउन खेलहरू खेल्ने गरेका छन् । यस्तोमा चीन र भारतबीच पुलको रूपमा काम गरेर नेपालले दुवैको समृद्धिबाट फाइदा लिने अवसर पनि यो परियोजनाले जुटाइदिएको छ ।
चीन र भारतको संयुक्त लगानीका उद्योग नेपालमा सञ्चालन हुन सक्छन् । नेपालले अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली, व्यापारिक वस्तु भण्डारण सुविधा, औद्योगिक बीमा सेवा, सूचना प्रविधि, शैक्षिक संस्थान लगायतको विकास गरेर रोजगारीको अवसर सिर्जना गर्न सक्छ ।
रोजगारीमा वृद्धि र आर्थिक उन्नतिले राजनीतिक स्थिरता पनि दिन्छ र युवाशक्तिलाई विदेशी कामदार बनाउने स्थितिबाट पनि मुक्ति दिन्छ । यसबाट नेपालले क्षेत्रीय स्तरमा दह्रो उपस्थिति समेत जनाउने अवसर पाउँछ । सबभन्दा ठूलो कुरा त यो परियोजनाका कारण नेपाल र चीनका बीच भरपर्दो सम्बन्ध विकसित हुन्छ ।
तर दक्षिण एसियाली मुलुकहरूका बीच शिखर सम्मेलनमा भाग लिनेबाहेक कुनै ठोस साझेदारीहरू नभएकाले यो परियोजना कार्यान्वयनमा ठूलै चुनौती छ । त्यसैले तत्कालका लागि नेपाल, चीन र भारत समझदारी निर्माण गर्नु जरूरी छ । विशेषगरी चीन र भारतले परियोजनामा काम शुरु गर्न तत्कालै प्रयासहरू थाल्नुपर्छ ।
नेपालले पनि भारतसँग संवाद गरेर यो परियोजनाप्रति उसको अविश्वासलाई हटाउन प्रयत्न गर्नुपर्छ । पश्चिमले चीन र भारत जस्ता ठूला देशको साझेदारीलाई खतराका रूपमा लिएर उनीहरूका बीच भेद ल्याउने प्रयास गर्नसक्छ । त्यसैले दुवै मुलुक सतर्क हुनु जरूरी छ ।
एक पेटी एक सडक परियोजना नेपालको विकासका लागि अभूतपूर्व अवसर हो । यसलाई खेर जान नदिनका लागि नेपाल सरकार र नीतिनिर्माता तथा विज्ञहरूले तत्कालै कदम चाल्नु अहिलेको आवश्यकता हो । (काठमाडौं स्कूल अफ लमा चैत ४ गते डा. संग्रौलाले ‘एक पेटी एक सडक परियोजनाले नेपाललाई पु-याउने फाइदाको परिप्रेक्ष्यमा दक्षिण एसिया र चीनको सम्पर्क’ विषयक एक दिने सम्मेलन’ का क्रममा दिएको प्रस्तुतिको अनुदित सारसंक्षेप)