काठमाडौं, ५ चैत – निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ ।
पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौँमा ४७ र सबैभन्दा कम मनाङमा सात दल दर्ता भएका छन् ।
आयोगले शनिबारदेखि मतपत्र छाप्ने भने पनि तयारी नपुगेपछि अब एकरदुई दिनमा सुरु गरिने भएको छ । आयोगले मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छाप्ने तयारी गरेको छ । निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहने अनुमान गरेको छ । नगरपालिका र गाउँपालिका तथा तिनका वडामा गरी कुल ३६ हजार छ सय ३९ पदका लागि निर्वाचन हुने छ ।
आयोगमा दर्ता भएका कुल एक सय १३ दलमध्ये तोकिएको समयमा ७९ दलले मात्र निर्वाचनमा भाग लिन आवेदन दिएका छन् । मुलुकभर चार सय ८१ गाउँपालिका, दुई सय ४६ नगरपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका गरी सात सय ४४ स्थानीय तह तथा सबै तहमा गरी कुल छ हजार छ सय ८० वडा छन् ।
त्यसमध्ये संसद्मा हाल प्रतिनिधित्व गरेका २६ दलले मात्र आफ्नो चुनाव चिह्नसहित भाग लिन पाउनेछन् । बाँकी दल र स्वतन्त्र उम्मेदवारले भने आयोगले निर्धारण गरेको चिह्नका साथ निर्वाचनमा भाग लिनुपर्ने आयोग, कानुन तथा राजनीतिक दल शाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले बताए ।
Previous Article५ चैत २०७३, ढोरपाटन दैनिक
Next Article लागुऔषविरुद्वको अभियान तंग्राममा