नेकपा एमाले राष्ट्र र राष्ट्रिय हितमा काम गर्दै आएको मुलुककै ठूलो र जिम्मेवार पार्टी हो । तर, मधेसवादी नेताले यसलाई मधेसविरोधी पार्टीको रूपमा चित्रण गर्दै आएका छन । उनीहरू मधेसमा एक प्रदेश निर्माण गर्न पहाडबाट मधेस अलग्याउने, पहाडी र मधेसी दुई राष्ट्रियता निर्माण गर्ने उद्देश्यले संविधानसभाको ९० प्रतिशतले हस्ताक्षर गरेको संविधान नमान्ने र कार्यान्वयन गर्न नदिने प्रयास गरिरहेका छन्। संविधान कार्यान्वयनबाट आउने कमीकमजोरी के हुन् भन्ने पहिचान नहुँदै संशोधनको अड्चन ल्याउने, सरकारबाट घोषित स्थानीय निर्वाचन हुन नदिने र मुलुकलाई अस्तव्यस्त बनाउने, अस्थिरता सिर्जना गर्दै लोकतन्त्रलाई खल्बल्याउने मधेसी मोर्चाको षड्यन्त्र देखिन्छ । त्यसको पर्दाफास गर्नु र रैथाने मधेसी जनसमुदायलाई यसबारे सूचित गर्नु आजको आवश्यकता हो । यसै सन्दर्भमा नेकपा एमालेले निरंकुशताविरुद्ध लड्दा मारिएका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको स्मृति दिवसका दिन फागुन २१ देखि तराईका २२ जिल्लाका ३५ स्थानमा कार्यक्रम गर्ने गरी १५ दिने मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको छ ।
मेची–महाकाली राष्ट्रिय अभियानको मुख्य उद्देश्य संविधान कार्यान्वयन, राष्ट्रिय एकता प्रवद्र्धन, पहाडी–तराईवासी बीचको सामाजिक सद्भाव सुदृढीकरण गर्नु हो । यसबाहेक नेपाली राष्ट्रियतालाई कमजोर बनाउँदै पहाडी–मधेसी दुई राष्ट्रियताको चाहना राख्ने मधेसकेन्द्रित दलहरूको दुस्प्रयासविरुद्ध तराईवासी मधेसी रैथाने जनसमुदायलाई जानकारी गराउनु पनि हो । झापाको काँकडभिट्टाबाट सुरु भएको मेची–महाकाली अभियानको जुलुस बिर्तामोड, दमक र सुनसरी हुँदै तेस्रो दिन सप्तरी जिल्ला प्रवेश गर्यो । गजेन्द्रनारायण औद्योगिक क्षेत्रभित्र आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रमलाई बिथोलियो । कार्यक्रम सकिएपछि अन्तिम घडीमा ढुंगा प्रहार, आगजनी र बम प्रहार गरी लोकतन्त्रकै उपहास गर्ने काम मधेसी मोर्चाका कार्यकर्ताबाट भयो । राजनीतिक दलका नेता जनताबाट निर्वािर्चत हुने भएकाले वेलावेला जनताबीच सुख–दुःख बाँड्न र जनताको कुरा सुन्न जान्छन् । जनताको पीरमर्का बुझ्न जनताबीच पुग्नु दलहरूको दायित्व पनि हो । त्यसमाथि आफ्नो मुलुकभित्र घुमफिर गर्न पाउनु संवैधानिक अधिकार पनि हो । तर, यी सबैलाई कुण्ठित गर्ने दुस्प्रयासले लोकतन्त्र संस्थागत गर्ने कार्यमा ठूलो अवरोध पुराएको छ ।
प्रमुख प्रतिपक्षी दलको शान्तिपूर्ण कार्यक्रममा सुरक्षा दिन नसक्नु वर्तमान सरकारको अकर्मण्यता र असफलता हो । ब्यापक जनसहभागिता भएको कार्यक्रमबाट अत्तालिएको सरकारबाट नै जनसमुदायलाई भड्काउने र मेची–महाकाली अभियानलाई प्रभावित गराउने षड्यन्त्र भएको आरोप एमालेले लगाएको छ । प्रधानमन्त्रीले रोक्दारोक्दै गृहमन्त्रीको आदेशमा प्रदर्शनकारीमाथि गोली प्रहार गरेको समाचार पनि बाहिर आएको छ । मानवआधिकार आयोगले हिंसा नमच्चाउन दिएको सुझाबको समेत बेवास्ता भएको छ । यो गम्भीर विषय हो । लोकतन्त्रमा आफूलाई चित्त नबुझेका कुराको शान्तिपूर्ण विरोध जनाउन सकिन्छ । तर, हिंसाको सहारा लिन पाइदैन । एमालेको स्थगित अभियान पुनः सुचारु भएको छ । यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउँदै मधेसवादी दलहरूले नेकपा एमाले मधेसविरोधी दल भनेर फैलाउँदै आएको भ्रमलाई चिर्दै जानु आवश्यक छ । पहाड र मधेसबीचको सदियौँ पुरानो सामाजिक सद्भावलाई अझ बलियो बनाउँदै राष्ट्रिय एकता र अखण्डता कायम गर्न यो राष्ट्रिय अभियानले ठूलो भूमिका खेल्न सक्नु पर्दछ ।
Previous Articleम्याग्दीमा बेमौसमी सुन्तला भण्डारण
Next Article महिला आन्दोलन र नारी दिवस