म्याग्दी, २८ फागुन – जिल्लाको मल्कवाङमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा नन्दीवाङखोला लघुजलविद्युत् परियोजना निर्माण भएको छ । बयालीस किलोवाट क्षमताको परियोजनाको बिहीबार नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले उद्घाटन गरेका छन् । परियोजनाबाट मल्कवाङको १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरीमा विद्युत् सुविधा पुगेको छ । उद्घाटन कार्यक्रममा परियोजनाका अध्यक्ष लालबहादुर छन्त्यालले दुई करोड १७ लाख ७९ हजार २ सय ६१ रुपैयाँ खर्च भएको आयव्यय विवरण सार्वजनिक गरे । एक करोड ५९ लाख २६ हजार २६१ नगद तथा ५८ हजार ५३ हजार बराबरको श्रमदानमा परियोजना निर्माण भएको अध्यक्ष छन्त्यालले बताए । परियोजनामा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमको ८१ लाख ९० हजार, मल्कवाङ गाविसको पाँच लाख ५६ हजार, जिविसको दुई लाख र ३, ४, ५ र ६ वडा र आमा समूह कोषको १३ लाख १० हजार रुपैयाँ लगानी भएको छ । परियोजना निर्माणका लागि स्थानीय र प्रवासमा रहेका मल्कवाङका बासिन्दाले ५६ लाख ७० हजार २ सय ६१ रुपैयाँ चन्दा सङ्कलन गरेर जुटाएका थिए । परियोजना निर्माण भएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न, विद्युतीय सामग्रीको सहायताले आयआर्जनमूलक क्रियाकलाप गर्न सहज भएको स्थानीयवासी याममाया छन्त्यालले बताइन् ।
Previous Articleदेशका लागि ज्यान दिन तयार छु – अध्यक्ष ओली
Next Article हेपटाईटिस ‘ए’ र ‘इ’ः गर्ववती सचेत हुनुपर्छ