काठमाडौं, २६ फागुन – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री र राप्रपाका नेता दिलनाथ गिरीलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपप्रधान एवम् स्थानीय विकासमन्त्रीको सथप लिएका छन्। थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराइन्।
थापाका लागि शीतलनिवासमा आयोजित सपथ ग्रहण समारोह आयोजना गरिएको थियो। यस्तै, थापासँगै दिलनाथ गिरी पर्यटन र पर्शुराम तामाङ पर्यटन राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भएका छन्।
यसअघि राप्रपाका दुई मन्त्री सरकारमा थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रहमा थप मन्त्रीहरु पठाइएको राप्रपाले जनाएको छ।
यसअघि स्थानीय विकासमन्त्री हितराज पाण्डे र पर्यटनमन्त्री जीवनबहादुर शाही थिए। उनीहरु दुवैलाई फिर्ता बोलाइएको छ।
थापा र गच्छादार सरकारमा सहभागी भएपछि झण्डै दुई तिहाई बहुमतको समर्थन सरकारलाई प्राप्त हुनेछ। एमालेसहित दुई सय एक सांसद संविधान संशोधनको विपक्षमा देखिएका छन्। संसदमा पाँच सय ९४ सांसद छन्। मधेशी मोर्चाले सरकारलाई समर्थन फिर्ता लिए पनि सरकारसँग प्रष्ट बहुमत रहनेछ। थापा थपिएपछि मन्त्रिपरिषदमा ३१ मन्त्री र १४ राज्यमन्त्री गरी ४५ जना भएका छन्।
अब मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री भएका छन्। यसअघि बिमलेन्द्र निधिले उपप्रधान तथा गृह र कृष्णबहादुर महराले उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। आफू निकट संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई अन्य मन्त्रालयको जिम्मेवारी दिएर सरकारमै राख्ने प्रधानमन्त्री दाहालको प्रयास असफल भएपनि संविधान संशोधनको विपक्षमा रहदै आएका राप्रपाका अध्यक्ष थापालाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री दाहालले कमजोर हुन लागेको सरकारलाई बलियो बनाएका हुन्।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले मन्त्री पाण्डेलाई अर्को मन्त्रालयमा स्थानान्तरण हुन गरेको आग्रहलाई अस्वीकार गर्दै मन्त्री पाण्डेले आफू पार्टीमा रहेर सरकारलाई सहयोग गर्न तयार रहेको जनाऊ दिएका छन्।
‘म सरकार भन्दा बाहिर बसेर सरकारलाई सहयोग गर्छु अन्य मन्त्रालयमा जान्न’, मन्त्री पाण्डेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। मन्त्री पाण्डेले आफ्नो कार्यकालको अन्तिम कामका रुपमा सात सय ४४ स्थानीय तहलाई राजपत्रमा सूचना प्रकाशित गर्ने तहमा पुर्याएका छन्। प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सांस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहलाई प्रधानमन्त्री दाहालले सम्हालेको विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइदैछ।
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन गराउने सुनिश्चिता र संविधान कार्यान्वयनका लागि अध्यक्ष थापाको नेतृत्वमा मन्त्रिपरिषदमा सहभागिताका लागि पटक पटक गरेको आग्रहलाई सकारात्मक रुपमा लिँदै आफ्नो पार्टीले अध्यक्ष थापासहित थप तीन जनालाई सरकारमा पठाउने निर्णय गरिएको राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले बताए।
प्रधानमन्त्री दाहालले संविधान संशोधनमा समर्थन जुटाउन केही महिना अघिदेखि नै थापालाई थप दुई मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी हुन आग्रह गर्दै आएका थिए भने थापाले संविधान संशोधनमा आफ्नो पार्टीको समर्थन नरहने बताउँदै आएका थिए।
संस्कृति पर्यटन तथा नागरिक उडयन राज्यमन्त्रीमा राप्रपाका सांसद परशुराम तामाङले भने बिहीबार सपथ लिएका छैनन्। अध्यक्ष थापाले गत सोमबार आफ्नै पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा आफू सरकारमा नजाने र आफूलाई सरकारमा जान लागेको भनेर प्रचार गर्ने सञ्चारमाध्यम र प्रधानमन्त्री दाहाल प्रति खेद व्यक्त गरेका थिए।
सप्तरीमा चार जनाको ज्यान जाने गरी घटनाभएपछि मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएको थियो भने अध्यक्ष थापालाई बिहीबार उनकै निवासमा पुगेर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटी सरकारमा सहभागी नहुन आग्रह गरेका थिए। अध्यक्ष थापाले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा गएर भेटवार्ता गरी सरकारमा सहभागी हुने समझदारी बनाएका थिए।मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले पनि प्रधानमन्त्री दाहाललाई भेटेर सरकारमा सहभागी हुने जानकारी गराएको स्रोतले जनाएको छ। गच्छादार थापा निवासमा पुगेर पनि छलफल गरेका थिए।
प्रधानमन्त्री दाहालले सरकार विस्तारका बारेमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए। प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालका अनुसार कांग्रेस र माओवादी केन्द्रका एक–एक जना मन्त्रीलाई हटाएर राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने योजना अन्तर्गत मन्त्रिपरिषद विस्तार र हेरफेर गरिएको हो।
प्रधानमन्त्री दाहालले सम्हाल्दै आएको पशुपंक्षी विकास मन्त्रालय र कांग्रेसका एक मन्त्रीलाई हटाएर रिक्त हुने मन्त्रालय फोरम लोकतान्त्रिकबाट सिफारिस हुने नेतालाई दिइनेछ।
कमल थापा उपप्रधानमन्त्री, मोर्चाको अल्टिमेटमपछि मन्त्रिपरिषद विस्तार
Previous Articleचुनाव गराउन नसक्ने भए सत्ता छोड्नुहोस्-अध्यक्ष ओली
Next Article नेपालीको ढुंगाको जवाफ भारतीयले बन्दुकबाट पठायो